१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

‘प्रधानमन्त्री ओली हास्यास्पद पात्र बन्नुभयो’

काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेताहरूले प्रधानमन्त्री केपी शर्मा ओली हास्यास्पद पात्रको रूपमा चिनिएको आरोप लगाएका छन्। रिपोर्टर्स क्लब नेपालद्वारा शनिबार राजधानीमा आयोजित कार्यक्रममा केन्द्रीय सदस्य धनराज गुरुङले प्रधानमन्त्री ओलीले देशलाई सही बाटोमा अघि बढाउन नसकेको आरोप लगाएका हुन्।

‘प्रधानमन्त्री ओलीजी हास्यास्पद पात्र बन्नुभयो। बिहान उठ्दा देशभक्तिको कुरा गर्नुहुन्छ, अनि बेलुका भयो कि दिल्लीभक्त बन्नुहुन्छ,’ उनले भने, ‘अहिलेकै ताजा विषयको कुरा गर्नुहुन्छ भने प्रधानमन्त्रीले बिहान भारतबाट आयात गरिने तरकारी तथा फलफूलजन्य वस्तुमा विषादी भेटिएकाले रोक्ने निर्णय गरियो भन्नुभयो, बेलुका हुनेबित्तिकै आयात गर्न दिने भनेर निर्णय गराउनुभएछ। उहाँलाई कतिबेला के मुड चल्छ ? थाहै हुँदैन।’

गुरुङले आइफा अवार्ड नेपालमा आयोजना गर्ने सवालको कुरा उठाउँदै सरकारले क्षणमै राष्ट्रवादी र क्षणमै दिल्लीवादी चरित्र देखाएको पनि आरोप लगाए। उनले भने, ‘चर्को विवाद भएपछि आइफा अवार्ड नेपालमा आयोजना नहुने भनिएको थियो, फेरि अहिले प्रधानमन्त्री ओलीले जसरी पनि नेपालमा गराएरै छाड्ने भन्नुभएछ, उहाँ एक्कासि फेरि दिल्लीभक्त हुनुभयो।’

वर्तमान प्रधानमन्त्री ओलीले दुई तिहाइको भारी बोक्न नसक्ने उनले ठोकुवा गरे। सरकारका गलत काम र क्रियाकलापका कारण सरकारविरुद्ध आन्दोलनका आधार पनि प्रशस्तै तयार भएको गुरुङले जनाए। उनले वर्तमान सरकार भ्रष्टाचारको दलदलमा फसेकाले सरकारविरुद्ध आन्दोलन आजको आवश्यकत्ता भइसकेको पनि सुनाए।

गुरुङले आफ्नो पार्टीभित्र पनि अहिले किचलो रहेको स्वीकार गरे। उनले भने, ‘म ढाँट्दिनँ, हाम्रो पार्टीभित्र पनि आन्तरिक किचलो छ। नेतृत्वबीच हानाथाप छ।’ उनले पार्टीलाई सशक्त रूपमा अघि बढाउन पनि अब छिटोभन्दा छिटो महाधिवेशन गराउनुपर्ने आवश्यकता औंल्याए।
२०७९ मा स्थानीय तहको निर्वाचन हुने भएकाले आगामी २०७७ को फागुनभित्रै महाधिवेशन सम्पन्न गरिसक्नुपर्ने पनि उनले सुनाए। उनले भने, ‘२०७७ को फागुनभित्रै महाधिवेशन सम्पन्न गर्न सकियो भने उपलब्धिमूलक हुन्छ।’

केन्द्रीय सदस्य श्याम घिमिरेले वर्तमान सरकारलाई पाँच वर्ष नै चलाउन दिनुपर्ने धारणा राखे। उनले अहिले प्रधानमन्त्री ओलीको विकल्प खोज्न नहुने स्पष्ट पारे। उनले भने, ‘यो सरकार पाँच वर्षका लागि हो। त्यसैले यसले पूरा अवधि सरकार चलाउन पाउनुपर्छ। हामी स्थिरताको पक्षमा छौं। हामी प्रधानमन्त्रीमा केपी ओलीलाई नै निरन्तरता चाहन्छौं।’ केन्द्रीय सदस्य शंकर भण्डारीले पार्टी केन्द्रीय समिति बैठकमा हिन्दू राष्ट्रको विषय उठ्ने बताए। उनले भने, ‘आगामी बैठकमा समग्र मुलुकको परिस्थितिबारे छलफल हुन्छ। नेकपाको गतिविधि र सरकारको कामबारे पनि विश्लेषण हुन्छ।’

केन्द्रीय सदस्य रामकृष्ण यादवले सरकारले ल्याएको बजेट संघीयताअनुरूप नआएकाले यसले संविधानलाई बलियो नबनाउने दाबी गरे। वर्तमान सरकारले लोकतान्त्रिक व्यवस्थालाई नै कमजोर तुल्याउने काम गरिरहेकाले अब कांग्रेसले सरकारको गलत कदमविरुद्ध सशक्त भूमिका निर्वाह गर्ने पनि उनले जनाए।

प्रकाशित: २२ असार २०७६ ०२:५४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App