१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

सरकारी जमिन फिर्ता गराइने

सरकारी जमिन व्यक्तिको नाममा लालपुर्जा बनेको थाहा पाएपछि केही दिनअघि बरहथवा नगरपालिका कार्यालय घेराउ एवम् नाराबाजी गर्दै स्थानीय। तस्बिरः टंक/नागरिक

सर्लाही – बरहथवा नगरपालिकास्थित सरकारी जमिनको स्वामित्व व्यक्तिको नामबाट हटाउने प्रक्रिया सुरु गरिएको छ। मालपोत कार्यालय बरहथवाको कम्प्युटर लगतमा सरकारी प्लट उल्लेख बरहथवा नगरपालिका–४, साविक हजरिया गाविस–७ स्थित कित्ता नम्बर ३२८ को सात बिघा १४ कठ्ठा १५ धुर प्लटलाई टुक्र्याएर २०६२ कात्तिक १९ गते कित्ता नम्बर ३२८ को पाँच बिघा १० कठ्ठा र कित्ता नम्बर ३१४ को एक बिघा चार कठ्ठा उल्लेख गरी स्थानीय जागदेव महतोको नाममा लालपुर्जा बनेको फेला परेपछि स्थानीयले चरणबद्ध आन्दोलन सुरु गरेका थिए।

सरकारी जमिन भए पनि भित्रभित्रै व्यक्तिको नाममा लालपुर्जा बनेको फेला परेपछि उक्त कीर्ते लालपुर्जा खारेजीको प्रक्रिया अगाडि बढाइएको बरहथवा नगरपालिकाका मेयर देवानन्द महतोले जानकारी दिए। मेयर महतोको अध्यक्षतामा शुक्रबार साँझ इलाका प्रहरी कार्यालय बरहथवामा सम्पन्न बैठकले व्यक्तिको नाममा पुगेको सरकारी जमिनको लालपुर्जा खारेज गरी पहिलेकै अवस्थामा फर्काउने निर्णय गरेको हो।

प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर राउत, पूर्वसभासद् हरि उपे्रती, मालपोत कार्यालय मलंगवा प्रमुख गोपालप्रसाद बराल, बरहथवाका जनप्रतिनिधि, जिल्लाका सुरक्षा प्रमुख, राजनीतिज्ञ लगायतको उपस्थितिमा भएको छलफलपछि कीर्ते लालपुर्जा खारेज गरी सरकारी जमिन फर्काउने निर्णय गरेको छ।

त्यस्तै लालपुर्जा हत्याउने महतोलाई अविलम्ब पक्राउ गरी कानुनी कारबाही गर्ने, लालपुर्जा दिलाउने कर्मचारी पहिचान गरी कारबाहीका लागि सिफारिस गर्ने, मालपोत कार्यालय बरहथवामा भएका अन्य कमी कमजोरी र लापरबाहीको छानबिन गर्ने र गत आइतबारदेखि बन्द रहेको मालपोत कार्यालयको सेवा सुचारु गर्ने निर्णय भएको मेयर महतोले जानकारी दिए।

बरहथवा नगरपालिका–४ को वडा कार्यालयको सिफारिससहित जागदेव महतोले कित्ता नम्बर ३२८ को पाँच बिघा १० कठ्ठामध्ये स्थानीय बच्चेलाल महतोकी पत्नी कान्ती देवीलाई तीन बिघा ११ कठ्ठा तथा ३१४ कित्ता नम्बरको एक बिघा चार कठ्ठामध्ये एक बिघा तीन कठ्ठा आफ्नै छोरी आनन्दी देवीलाई बिक्री गर्ने लिखतसहित लालपुर्जा बोकेर केही दिनअघि मालपोत कार्यालय बरहथवा पुगेपछि सरकारी जग्गाको लालपुर्जा व्यक्तिको नाममा बनिसकेको खुलासा भएको थियो।

जागदेव महतोको नाममा रहेको लालपुर्जाको कैफियत महलमा २०६२ साल कात्तिक १९ को निर्णयले वडा नम्बर ७ कि.नं. ३१४ र ३२८ श्रेष्ता कायम गरिएको उल्लेख छ। अव्यस्थित अवस्थामा रहेको सरकारी जमिन व्यक्तिको नाममा पुगेको थाहा पाएपछि चरणबद्ध आन्दोलनमा उत्रिएका हजरियावासीले मालपोत कार्यालय बरहथवाको सेवा ठप्प पार्दै आएका थिए। त्यस्तै ज्ञापनपत्र बुझाउने क्रममा स्थानीयले मालपोत बरहथवाका प्रमुख विन्देश्वर महतो एवं नायव सुब्बा सुशील दासलाई हातपात गरेको भन्दै कर्मचारीले समेत काम बन्द गरेका थिए।

सार्वजनिक जग्गालाई व्यक्तिको नाममा दर्ता गर्ने र त्यसका लागि सहयोग गर्नेमाथि कारबाही गर्नुपर्ने हजरियावासीको माग छ।

प्रकाशित: २१ असार २०७६ ०९:४३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App