बौद्धदर्शन

जलशुद्धिक अभ्यास

शनिबार, २१ असार २०७६, ०९ : २२ नागरिक

बसन्त महर्जन
गौतम बुद्ध (इपू ५६३–४८३) को समय अलि फरक खालको थियो। त्यतिबेला धर्म दर्शनका क्षेत्रमा व्यापक रूपमा वैचारिक क्रान्ति भइरहेको भन्दा अतिशयोक्ति नहोला। गौतम बुद्धभन्दा अलि जेठो उमेरका थिए, वर्धमान महावीर, जसले प्रवत्र्तन गरेको धर्मदर्शन आजभोलि जैन नामबाट प्रचलित छ। यी दुवैले एकै समय र एकै ठाउँमा बसेर आ–आफ्नो धर्म प्रचार गरिरहेका थिए। शिष्यहरूको आउजाउ दुवै ठाउँमा हुन्थ्यो र अन्तक्र्रिया व्यापक रूपमा हुन्थ्यो। तर, वर्धमान महावीर र गौतम बुद्धबीच भेटवार्ता भएको घटना पाइँदैन। एकपल्ट भेट भएको तर संवाद नभएको भन्ने भनाइ पनि पाइन्छ। महावीरको मृत्युको खबर गौतम बुद्धलाई उनका उपस्थापक (सचिव) भिक्षु आनन्दले दिएका थिए। यी दुई व्यक्तिबीच सम्वाद नहुनु दर्शनशास्त्रको अध्ययनमा कौतुहलकै विषय भइरहेको छ। तर, एकले अर्काको धर्मदर्शनमा भने व्यापक रूपमा खण्डनमण्डन गर्ने गरेको पाइन्छ। यसको दृष्टान्त बौद्ध र जैन दुवै ग्रन्थको अध्ययनबाट थाहा हुन्छ।

गौतम बुद्धका प्रतिस्पर्धीहरूमा वर्धमान महावीरबाहेक अरू पनि धेरै थिए। उनीहरू विभिन्न वैचारिक अडानमा रही आ–आफ्नो दर्शन स्थापना गर्नमा उद्यत थिए। सर्वाङ्ग नग्न भई हिँड्नुलाई नै कोही आदर्श मान्थे भने कोही बेग्लै पहिचान लिएर हिँड्थे। सर्वाङ्ग नग्न हुनुलाई तत्कालीन समाज नकारात्मक रूपमा लिँदैनथ्यो। तपस्याका क्रममा शरीरको वस्त्र मक्किएर झरेको र अर्को लुगा लगाउनुको औचित्य नदेखेर वर्धमान महावीर नाङ्गै रहेका थिए भने उनका शिष्यका लागि यो नै आदर्श हुन पुग्यो। यसरी नग्न हुनेलाई ‘दिगम्बर’ र वस्त्र लगाउने शिष्यहरू ‘श्वेताम्बर’ भनी दुई बेग्लै सम्प्रदायका रूपमा पछि छुट्टियो। कुनै कारण नग्न हुन पुग्दा लज्जाले झाडीमा लुक्न गएका एक व्यक्तिलाई त्यति बेलाको समाजले सिद्धका रूपमा अपनाउँदा उसबाट पनि एउटा समुदाय नै बन्न पुगेको पाइन्छ। अनेकौं व्यक्ति आ–आफ्ना स्वभाव र विचार अनुसार अभ्यास गर्ने र अनुयायी बन्ने क्रमले व्यापकता लिइरहेको त्यस बेला अर्को अभ्यास पनि थियो, जीवनमा अरू केही गर्नु पर्दैन, नुहाए पुग्छ, पाप पखालिन्छ भन्ने दृष्टिकोण।

तपस्याका क्रममा शरीरको वस्त्र मक्किएर झरेको र अर्को लुगा लगाउनुको औचित्य नदेखेर वर्धमान महावीर नाङ्गै रहेका थिए भने उनका शिष्यका लागि यो नै आदर्श हुन पुग्यो। यसरी नग्न हुनेलाई ‘दिगम्बर’ र वस्त्र लगाउने शिष्यहरू ‘श्वेताम्बर’ भनी दुई बेग्लै सम्प्रदायका रूपमा पछि छुटियो।

भिक्षु आनन्दको सङ्गारव नाम गरेका एक ब्राह्मण साथी थिए, गृहस्थ जीवनमै चिनजान भएका। भिक्षु आनन्द स्वयं गौतम बुद्धको काकाको छोरा थिए अर्थात् नाताले भाइ। दाजुले बुद्धत्व प्राप्त गरी बुद्ध बनी धर्मका कुरा सुनाउँदै हिँडेको र उनको नाममा हरेक वर्ग र पृष्ठभूमिका मान्छेहरू घरबार छाडी भिक्षु भई धर्मको अभ्यास गरिरहेको थाहा पाएर आनन्दसहित अन्य दाजुभाइहरू पनि भिक्षु बन्न पुगेका थिए। भिक्षु आनन्दलाई सबै कुरा ठिकठाक नै चलिरहेको भए पनि एउटा कुराले बिझाइरहेको थियो। साथी सङ्गारवको सम्झना आइरहन्थ्यो। कहिलेकाहीँ भेटघाट पनि हुन्थ्यो। भेटका क्रममा को के गरिरहेका छन् भन्ने मात्र नभएर के विचारधारा राख्छन् भन्ने कुरा थाहा पनि हुन्थ्यो। धर्मसम्बन्धी साथीको अभ्यास वा दृष्टिकोण भिक्षु आनन्दलाई चित्त बुझिरहेको थिएन।

साथी सङ्गारव जल शुद्धिक थिए। मान्छेले जानअन्जानमा गरिने पाप पखाल्न पानीमा नुहाए पुग्छ भनी तलाउ, पोखरी अथवा जहाँ हुन्छ त्यहाँ डुबुल्की मार्नेेहरूलाई जल शुद्धिक भनिने हो। त्यो सोच वा जीवनदर्शन उहिले मात्रै नभएर अहिले पनि त्यसको अवशेष पाइन्छन्। उनी प्रत्येक बिहान र बेलुका पानीमा डुबुल्की मार्न जान्थे, जाडो महिनाको कठ्यांग्रिदो चिसोमा नै किन नहोस्, पाप पखाल्ने नाममा मरिमेट्थे। 

भिक्षु आनन्दलाई खड्किरहेको कुरा हो– साथीको दृष्टिकोण गलत हो। आफू भगवान् बुद्धको सान्निध्यमा बसेर धर्मको मार्ग अपनाइसकें। तर, साथीलाई बुझाउन सकिएको छैन, यस्तै हो भने साथीको कल्याण हुने छैन।

सङ्गारवलाई सही र गलत के हो भनेर सम्झाउन कोसिस नगरेका पनि होइनन्। तर, उल्टो विवाद गर्न आउने वा कुरै नसुन्ने भएर भिक्षु आनन्द अलि चिन्तित पनि थिए। कसैले कसैलाई ‘कन्भिन्स’ गर्नु व्यक्तिगत क्षमताको कुरा हो। बौद्ध धर्ममा राम्रो कुराको सम्पादन गर्न कसैलाई कुनै हानी नहुने गरी अनेक ‘उपायकौशल’ अपनाउनु पर्नेमा जोड दिइन्छ। तर, भिक्षु आनन्द यही कुरामा चुकिरहेका थिए। कतिपय अवस्थामा नजिक र हितैषीले भनेको कुराले सम्बन्धका कारण असर नगर्ने पनि हुन सक्छ। यस कारण पनि उनी साथीको विषयमा चिन्तित भइरहेका थिए। एक दिन उचित समयमा बुद्धसँग सङ्गारवको चर्चा गरे। साथीको घरमा जानका निम्ति अनुरोध पनि गरे। उक्त अनुरोधलाई बुद्धले स्वीकारे।

सङ्गारव ब्राह्मण श्रावस्ती नगरमा बस्थे। त्यो बेला बुद्ध सोही नगरको जेतवन विहारमा बसिरहेका थिए। एक दिन बुद्ध ती ब्राह्मणको घरमा गए। सुशिक्षित र संस्कारले युक्त ती ब्राह्मणबाट बुद्धको उचित आदरसत्कार गर्दै बस्नका लागि आसन दिनु स्वाभाविक हो। त्यसमाथि आफ्नै साथीको गुरु पनि भएका कारण बुद्धको उपेक्षा गर्ने कुरै आएन। केही कुशल वार्तापछि बुद्धले तिमी जल शुद्धिक हो ? भनेर सोधे। उनले पनि बुद्धसमक्ष आफू जलशुद्धिक भएको कुरा स्वीकारे।

उनले जवाफ दिए, ‘जुन पाप दिउँसो गरेको हुन्छु त्यो साँझको स्नानले पखाल्छु। जुन पाप रातमा गरेको हुन्छु त्यो पाप बिहानको स्नानले पखाल्छु। म जल शुद्धिक हुँ र पानीले पखाल्न मिल्छ भनेर विश्वास गर्छु।’

यस प्रसंगमा पूर्णिका नामकी एक दासीले बिहान–बेलुका जस्तोसुकै चिसोमा पनि स्नान गर्ने सोत्थिकि नामका एक ब्राह्मणलाई दिएको जवाफ सम्झनायोग्य छ। अनाथपिण्डिक नामका महासेठको घरमा गौतम बुद्ध भोजनका लागि आउने र भोजनपछि गरिने धर्मउपदेश यी दासीले पनि सुन्ने सुनेकी थिइन्। त्यही उपदेशको प्रभावमा दासीको सोचमा परिवर्तन आइसकेको थियो। आलोचनात्मक दृष्टिकोणको पनि विकास भइरहेको थियो। यी दासीको दैनिक काम अचिरवती नदीबाट पानी ओसार्नु हुन्थ्यो। नेपालमा अहिले राप्ती नामले प्रख्यात नदी उति बेला श्रावस्तीतिर अचिरवती नामले चिनिन्थ्यो। जाडोको बेला बिहानपख पानी लिन जाँदा एक ब्राह्मण थुरथुर काम्दै नदीमा डुबुल्की मारिरहेका थिए। ब्राह्मणलाई दासीले भनेका थिए, ‘मेरो काम नै पानी बोक्ने हो, सर्दीगर्मी भन्न पाइँदैन। काम गरेन भने खान पनि पाइन्न र दण्डभागी हुनु पर्छ। हे ब्राह्मण, हेर्दा त साहै्र चिसो लागेजस्तो लाग्यो। तर, किन यसरी पानीमा पसेको ? यस्तो चिसो पानीमा पसेर नुहाउनु तिम्रो काम हो ? यो काम नगर्दा कसैले सजाय दिन्छ कि के हो ?’

पाप पखाल्न र धर्म कमाउन यसरी नुहाउनु पर्छ भनेर दिएको जवाफमा दासी पूर्णिकाले भनिन्, ‘नदीमा नुहाउँदैमा पाप पखालिने हो र ब्राह्मण ? कसले भन्यो यस्तो कुरा ? नदीमा नुहाउँदैमा पाप पखालिने हो भने नदीमै रहने माछा, भ्यागुता सबैको पापकर्म पखालिन्थ्यो होला र सोझै सुगतिमा पुग्थे। यसरी नुहाउँदैमा पापकर्म पखालिने भए त हत्याहिंसा चोरी, ठगी आदि पाप कर्म गर्नेहरूले गरि नै रहँदा हुन्थ्यो होला, एक पल्ट नदीमा आएर नुहाए सबै पाप पखालिन्थ्यो, होइन र ?’

दासीको कुराले ब्राह्मणको होस खुल्यो। जीवनमा यस्तो प्रश्न कसैले गरेकै थिएन। समाजमा जान्ने बुझ्ने व्यक्तिका रूपमा परिचित ती ब्राह्मण वाल्ल परे र सोधे, ‘उसो भए अब मैले के गर्नु पर्छ नि ?’

पूर्णिकाले दिएको जवाफ हो– तपाईंलाई पापकर्मबाट यति विधि डर लाग्छ भने पाप कर्म गर्ने नै किन ? जानीनजानी हुन्छ भने होस् गरेर बस्नुस्, कसरी पाप हुन्छ र ? सर्वप्रथम त पाप काम गर्दै नगर्नुस्, देख्ने गरी वा नदेख्ने गरी, जानेर होस् वा नजानेर। शील पालना गरेर बस्नुस्, कसैको केही हानी नर्गनुस्।

‘अ’ भन्दा अलंकार बुझ्ने ब्राह्मणले बुद्धका बारेमा पनि जानकारी पाए र खुसी हुँदै घरतिर लागे र फलाना घरको दासीले भनेको भन्दै कृतज्ञता पनि व्यक्त गर्दै सर्वत्र यो कुराको चर्चा गर्दै हिँड्दा महासेठ अनाथपिण्डिक पनि खुसी भए र पूर्णिकालाई दासताबाट मुक्त गरिदिए। पूर्णिका त्यसपछि भिक्षुणी बनेर विहारमा बसिन् ।

भिक्षु आनन्दले जति भने पनि एक कानले सुनेर अर्को कानले उडाउने वा विवाद गर्न तम्सने सङ्गारव ब्राह्मण गौतम बुद्धको कुरा भने सुनिरहेका थिए। बुद्धले यसरी उपदेश दिए– धम्मो रहँदो ब्राह्मण सीलतित्थो, अनाविलो सब्भि सतं पसत्थो। यत्थहवे वेदगुनो सिनाता, अनल्लगत्ता व तरन्ति पारं’ति।।’’ (अनुवाद– धर्म नै तलाउ हो, निर्मल शील नै तीर्थ हो, यसैलाई सभ्य जन प्रशंसा गर्छन्। जहाँ ज्ञानीहरू शरीर नै नभिजाई नुहाई पार तरेर जान्छन्।) त्यसपछि सङ्गारव ब्राह्मणले जल शुद्धिक हुन छाडे र आजीवन बुद्धको उपासक भएर जीवन बिताए।





यसमा तपाईको मत

अन्य समाचार

“एन्ड्रोइडको विकल्प होइन होङमेङ्ग” - हुवावे

“एन्ड्रोइडको विकल्प होइन होङमेङ्ग” - हुवावे

एन्ड्रोइडको विकल्प मानिएको होङमेङ्ग स्मार्टफोनको लागि बनेको अपरेटिंग सिस्टम नै होइन ! ...

सर्टिफिकेट अफ ओरिजिन अब अनलाईनबाटै

सर्टिफिकेट अफ ओरिजिन अब अनलाईनबाटै

नेपाल चेम्बर अफ कमर्शले जारी गर्ने उत्पत्तिको प्रमाणपत्र (सर्टिफिकेट अफ ओरिजिन ) अब अनलाईन प्रणालीबाटै जारी हुने भएको छ ।

इन्डस्ट्रियल थर्मल प्रिन्टर बजारमा

इन्डस्ट्रियल थर्मल प्रिन्टर बजारमा

नेपालका लागि साटो कर्पोरेसन जापानको अधिकृत बिक्रेता बार कोड नेपाल इंकले सिएल फोर एनएक्स सिरिजको इन्डस्ट्रियल थर्मल प्रिन्टर नेपाली बजारमा...

अजोडको सभा सम्पन्न

अजोडको सभा सम्पन्न

निर्जीवन बिमा कम्पनी अजोड इन्स्योरेन्सको प्रथम वार्षिक साधारणसभा सम्पन्न भएको छ । ...

व्यावसायिक परामर्श सेवासम्बन्धी सम्झौता

व्यावसायिक परामर्श सेवासम्बन्धी सम्झौता

सांग्रिला डेभलपमेन्ट बैंक र उपाय सर्भिसेजबीच व्यावसायिक परामर्श सेवासम्बन्धी सम्झौता भएको छ । ...

एनसिसी बैंकको सहयोग

एनसिसी बैंकको सहयोग

एनसीसी बैंकले भक्तपुरस्थित सानोठिमी प्राविधिक शिक्षालयलाई ५ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ । ...

काठमाडौं मेरिएट होटल सञ्चालन

काठमाडौं मेरिएट होटल सञ्चालन

मेरिएट होटलको फ्ल्यागसिप ब्रान्डको डेब्युसँगै राजधानीमा ‘काठमाडौं मेरिएट होटल’ सञ्चालनमा आएको छ । ...

टिभिएसले ल्यायो अन्तराष्ट्रीय रेस ट्रयाकमा मोटरसाईकल चलाउने योजना

टिभिएसले ल्यायो अन्तराष्ट्रीय रेस ट्रयाकमा मोटरसाईकल चलाउने योजना

नेपालको लागि टिभिएस मोटर कम्पनीको एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले टिभिएस मोटरसाईकल ग्राहकहरुलाई लक्षित गरेर एक नयाँ योजना अपाचे रेस...

Ncell Footer Ad