आलेख

सन्दर्भ सामग्री खोज्नै सकस

शनिबार, २१ असार २०७६, ०९ : ०७ शिवहरि घिमिरे  | @shivsamir

एउटी गर्भवती महिलाले पेटमा भएको शिशुको बारेमा जति कल्पिन्छे त्यति नै प्रकाशोन्मुख सिर्जनाबारे कल्पिन्छ लेखक। उसले एउटा किताब जन्माउन कम्तिमा ३/४ वर्ष खर्चिन्छ। यो समयमा उसको तन–मन त्यसमै केन्द्रित हुन्छ। किताब बजारमा नआउन्जेल उसको ध्यान त्यसैले खिचिन्छ। बाटोमा हिँड्दा, खाँदा वा पिउँदा, साथी भेट्दा, कहीँ कतैको यात्रा गर्दा, कोही नयाँ मान्छेलाई भेट्दा, नयाँ वस्तु देख्दा होस् वा वार्तालाप गर्दाका अविस्मरणीय क्षण उसले आफ्नो किताबमा गाँस्न खोज्छ। किताबलाई आधिकारिक बनाउने ‘सन्दर्भ सामग्री’को खोजीमा अभिलेखालय, लाइबे्ररी, सरकारी निकायलगायत धेरै ठाउँमा चहारेको हुन्छ। हरेक व्यक्तिको विचार मापन गर्दै सिर्जनात्मक पात्रमार्फत् त्यसलाई बाहिर ल्याउन कोसिस लेखकले गरेको हुन्छ। किताब लेख्ने दौरानमा मिल्ने कथावस्तु र पात्र भेटिए भने किताबभित्र घुसाइदिन्छ पनि।

किताब लेखिसकेर सार्वजनिक हुनु भनेको ऊभित्रको उत्सुकता, प्रतिभा, सुचना र छटपटाहट विस्फोट हुनु हो। कागजको माध्यम भएर आएको उसको सिजर्नाले बजार भेटाएपछि त्यो उसको नियन्त्रणमा रहन्न। त्यसको आलोचना, समीक्षा, प्रशंसा वा टिकाटिप्पणी गर्ने अधिकार पाठकको हुन्छ। किताब सही रहेछ भने लेखक जयजयकार हुन्छ। सिर्जना सही छैन, कोहीप्रति आक्षेप लगाउँछ, समाजलाई भड्काउँछ। सन्दर्भ सामग्रीको प्रयोग गर्न नजान्दा वा नगर्दा त्यसले अर्को द्वन्द्व पनि मच्चाउन सक्छ। पछिल्ला केही कृतिले पनि सन्दर्भ सामग्रीसँगै आधिकारिकता पछ्याउन नसक्दा त्यसको लफडा लेखकले झेलेका छन्। लेखकले जातीय मुद्दा उठाउँछ, कुनै वर्ग समुदायलाई उचाल्छ, कसैको संस्कृतिलाई बंग्याउँछ, विवाद उत्पन्न हुने गरी सिर्जना गर्छ भने त्यसले चिमोट्ने लेखकलाई नै हो। रित नपु-याएकोे ठेस लेखकले नै खाने हो।

नेपालमा इतिहासको अभिलेख कमजोर छ। अनुसन्धानकर्तालाई हिजोको समाजमा के थियो भन्ने चिनारीको प्रमाण भेटाउन मुस्किल छ। सरकारी निकायमा पनि इतिहास समेटिएका धेरै आधिकारिक विषयको प्रमाण छैन। इतिहासका महत्वपूर्ण ग्रन्थ र कालको बारेमा लेखिएका पुस्तक, शिलालेख, पत्रपत्रिका एकदमै न्यून छन्।  

किताब सिर्जना गर्दाको ‘पिरियड’मा लेखक धेरै ‘एक्साइटेड’ हुन्छ। किताबमार्फत् पाठकलाई सुम्पिएको सिर्जनाले कतै न कतै डामिहाल्ने हो की ? वा सकारात्मक प्रभाव पार्ने हो कि भन्ने कौतुहलताका बीच उसले किताब प्रकाशनमा ल्याउँछ। किताब विमोचन भएपछि पनि छटपटाहट हट्दैन उसको। किताबको क्रियसनले पाठकको ध्यान खिच्ला कि नखिच्ला ? प्रकाशकले के भन्ला ? समकालीनले के भन्लान् ? समाजमा कस्तो प्रभाव पार्ला ? यति दुःखले लेखेको बजारमा आएपछि फास्सफुस्स भयो भने के गर्ने ? भन्ने जस्ता प्रश्नले थिचिरहेको हुन्छ उसलाई। विमोचन भएको २/४ महिनासम्म लेखक यस्तै कुरामा डुबिरहन्छ।

त्यसो त ४/५ महिना दुःख गरेर जन्माएको सिर्जना बजारमा आएपछिका दुःख पनि आ–आफ्नै छन्। कतिपयलाई प्रकाशन हाउसले रोयल्टी नै दिँदैनन्। कतिपयलाई लेखकले नै खेद्छन्, यस्तो किताब लेखेको भनेर। कतिपयलाई समाजले रुचाउँदैन। यस्तै–यस्तै कारणले पछिल्लो समय एउटा पुस्तक सिर्जना गरेपछि पलायन हुने लेखक संख्या बढ्न थालेको छ। उनीहरू दो-याएर बजारमा आउने आँट गर्दैनन्।

लेखक बुद्धिसागरको बुझाइमा किताबले बजारमा ल्याउँदासम्म लेखकले अनेक झन्झट खेप्नुपर्छ। बजारमा आएपछि पनि आफ्नो सिर्जनाको भागिदार पनि लेखक नै हो। ‘कसैले राम्रो लेखेको छ भने त्यसको ताली पनि त्यसैले पाउँछ र गलत लेखेको छ भने गाली खाने पनि त्यही लेखक हुन्छ,’ उनी भन्छन्, ‘त्यसैले लेखकमा बुद्धिमानी, होसियारी, संवेदशीनता, अध्ययनशीलताका गुण हुनु जरुरी छ।’ उनको अनुभवमा नेपालका किताब लेख्नका लागि प्रमाणको अभावै छ। लेखकले भनेको डकुमेन्ट भेटाउँदैन। कतिपय भेटे पनि ती प्रमाण र फाइल दोधारे किसिमका छन्।

२०६३ कै सन्दर्भ साम्रगी समेत सरकारी अभिलेखालय र पुस्तकालयमा नभेटिएको उनको भनाइ छ। उनी थप्छन्, ‘आफूसँग लेख्नका लागि ऐतिहासिक विषयवस्तु भए पनि सन्दर्भ सामग्री नहुँदा त्यसबारे लेख्ने आट आउँदैन। अहिले नेपाली साहित्यमा आउनुपर्ने विषय नआउनुको कारण पनि यही हो।’

नेपाल निर्माणको नालीबेली संग्रह ‘शिलान्यास’ पुस्तकका लेखक सुजित मैनाली आफूले किताब लेख्दा मुख्य समस्या सन्दर्भ सामग्रीमै झेलेको बताउँछन्। उनको अनुभवमा नेपालमा इतिहासको अभिलेख कमजोर छ। हिजोको समाजमा के थियो भन्ने चिनारीको प्रमाण भेटाउन मुस्किल छ। सरकारी निकायमा पनि इतिहास समेटिएका धेरै आधिकारिक पक्षको प्रमाण छैन। इतिहासका महत्वपूर्ण ग्रन्थ र कालका बारेमा लेखिएका पुस्तक, शिलालेख, पत्रपत्रिका एकदमै न्यून छन्। त्यसकारण पनि अहिले किताब लेख्दा झन्झट व्यहोर्नु परेको हो। उनी भन्छन्, ‘किताब लेख्न बस्दा एकाग्र हुनुपर्छ, साथीहरूसँग पनि अलि टाढा भइन्छ, परिवारबाट किन टाढिएको भन्ने खालका गुनासा आउँछन्, त्यसैले किताब लेख्ने काम झन्झट पनि हो।’

नेपालमा ‘नन फिक्सन’बारे लेख्न खोज्दा तनाव भोग्नुपर्छ। भनेको र चाहेको सन्दर्भ सामग्री भेटिन्न। त्यसबारे लेखिएका छुट्टै किताब पनि पाइँदैन। अहिले गोपाल वंशावलीकै बारेमा खोज्ने हो भने पनि त्यसको प्रमाण भेटाउन मुस्किल रहेको उनको भनाइ छ। ‘सार्वजनिक लाइब्रेरीमै इतिहासबारे प्रमाण पाइन्न। हामीकहाँ आर्काइभिङ बानी छैन। भूकम्पपछि त झन् ऐतिहासिक प्रमाण हराएका छन्,’ उनले थपे, ‘त्यसैले अहिले इतिहास र नेपालबारे केही लेख्नुप-यो भने त्यसको सन्दर्भ सामग्री जोहो गर्न नै धेरै नै ऊर्जा र खर्च भइरहेको छ।’

उनको बुझाइमा किताब लेख्नु एक्लै साधना गर्ने काम हो। नसकिएसम्म ‘आइसोलेसन’ मा परिन्छ। किताब रच्दाको समय परिवार र साथीहरूबाट अलि टाढा पनि रहनुपर्छ। अर्को कुरा, पूर्णकालीन लेखकका लागि भन्दा बढी चुनौती अन्य लेखकका निम्ति हुन्छ। उनीहरूको मूल पेशा अरू हुन्छ। उक्त पेशाको जिम्मेवारी निभाएर किताब लेख्न समय दिनु अर्को चुनौती हो।

लेखक सरस्वती प्रतिक्षाको बुझाइमा अझै पनि नेपालमा लेखन क्षेत्र पूर्ण व्यावसायिक बनिसकेको अवस्था छैन। यस्तो अवस्था भएकाले नेपालमा किताब लेख्ने धेरै लेखकहरू पूर्णकालीन छैनन्। उनीहरूलाई फुटकर लेखकका रूपमा लिन सकिन्छ। अरु काम गर्दागर्दै समय बचाएर गरिने कर्मका रूपमा अहिले लेखन पेशालाई लिन सकिन्छ। वर्तमान समयमा किताब लेख्नु भनेको आफ्नै रहरमा दुःख बिसाए जस्तै गर्नु हो। भलै लेखनले दिने आत्मिक सुख आफ्नो ठाउँमा रहे पनि महिला लेखकलाई अल्झाउने कुराहरू प्रशस्त रहेको प्रतिक्षाको भनाइ छ। उनी भन्छिन्, ‘कतै एकान्तमा गएर महिनौं हराएर ध्यानमग्न भएर लेखूँ भने पनि परिवार, बालबच्चा र अन्य व्यवधानले छेक्छन्। लेख्नु रोमान्चक कुरा जरुर हो। तर, यो निकै अप्ठ्यारो बाटो हो।’ 

उनको अनुभवमा नेपालमा पुस्तक लेख्नको निम्ति सन्दर्भ सामग्री भेटिँदैन। ‘कविता वा फाट्टफुट्ट निबन्ध लेख्दा त खास फरक पर्दैन। तर, उपन्यास वा महाकाव्य जस्तो बृहत कृति लेख्दा भने साथीहरूबाट केही समय टाढिनै पर्छ,’ प्रतिक्षा भन्छिन्, ‘ठोस काममा एकोहोरिँदा परिवारसित पनि थोरै दूरी आउन सक्छ। केही न केही पाउन केही न कुराको मूल्य त चुकाउनै पर्छ। लेखन भनेको साधनाको उच्चतम रूप मध्येको एक रूप हो र साधनाले एकान्तको माग गर्छ।’

अन्य लेखकको बुझाइ र भनाइप्रति मिश्रित मत राख्छिन् लेखक शारदा शर्मा। उनी पनि पछिल्लो समय किताब– साधना गर्नका लागि पर्याप्त सन्दर्भ सामग्री नभएको बताउँछिन्। ‘हुनत हामीले सधैं लेख्नुपर्ने होइन, एउटा च्याप्टर पूरा भए पनि विश्राम लिने ठाउँ भइहाल्छ। तर, जुन समयमा किताब लेखिन्छ त्यतिबेला विषयवस्तुले मागेको प्रमाण सामग्री भएन भने त्यो लेखन अघि बढ्न कठिन हुन्छ,’ उनले भनिन्, ‘वर्तमान समयको फाइदा इन्टरनेट हो, जहाँ घरमै बसेर पनि धेरै कुरा खोज्न सकिन्छ।’

लेखकले किताब लेख्न सुरु नगर्दै धेरै डकुमेन्ट, प्रमाण र सन्दर्भ सामग्री जुटाइसकेको हुन्छ। यदि स्रोत वा प्रमाण भेटिएन भने त्यसबारे थाहा भएका जिउँदा पात्रहरू खोजिन्छ। ‘लेखकको जानकारी, अनुभव, अध्ययन, अनुसन्धान जति विस्तारित हुन्छ लेखक पनि त्यति नै गहन र परिपक्व हुने हो,’ शर्माले थपिन्, ‘पुरुषको तुलनामा महिलालाई किताब सिर्जना गर्दा समस्या छ।’

तीन पुस्तक प्रकाशन गरिसकेर चलभित्र र नाट्य क्षेत्रमा व्यस्त रहँदै आएका लेखक खगेन्द्र लामिछाने पनि नेपालमा किताब मात्रै नभएर चलचित्र बनाउँदा पनि पर्याप्त सन्दर्भ सामग्री भेटाउन नसकेको बताउँछन्। चाहिने तथ्य भेटाउन निकै गाह्रो भएको उनको अनुभव छ। ‘सरकारले सरोकार वा चाहिने इतिहासका कुराहरु राम्ररी जतन गरेर राख्न सकेको छैन,’ उनी भन्छन्, ‘अभिलेखालय वा लाइब्रेरीमा पनि तथ्य मेटिएका छन्, त्यसैले अहिले नेपालमा साहित्य वा कुनै पयार्थपरक किताब वा चलचित्र बनाउन निकै कठिन छ।’ उनको बुझाइमा समाजमा मेटिएका कतिपय रहस्यमय तथ्यहरू पछिल्लो समय बाहिर ल्याउँदा समाजले त्यसलाई स्वीकारेको देखिन्न। बरु लेखक वा सिनेमाकर्मीलाई नै निरुत्साहित गरेको देखिन्छ।

संस्कृतिविद् तथा इतिहासका अनुसन्धानदाता हरिराम जोशीले सरकारको कमजोरीकै कारण नेपाली ऐतिहासिक पुस्तक संरक्षण नभएको बताए। उनले सरकारले लेखक र अध्ययनकर्ताले खोजी गरेका महत्वपूर्ण इतिहास जतन नगरेको गुनासो गरे। ‘अहिले हामीकहाँ कुनै पनि इतिहासको राम्ररी जतन गरिएको छैन, सरकारी पुस्तकालयमा पुराना इतिहासको रेकर्ड खोज्न जाँदा भेटिन्न,’ उनले भने।





यसमा तपाईको मत

अन्य समाचार

“एन्ड्रोइडको विकल्प होइन होङमेङ्ग” - हुवावे

“एन्ड्रोइडको विकल्प होइन होङमेङ्ग” - हुवावे

एन्ड्रोइडको विकल्प मानिएको होङमेङ्ग स्मार्टफोनको लागि बनेको अपरेटिंग सिस्टम नै होइन ! ...

सर्टिफिकेट अफ ओरिजिन अब अनलाईनबाटै

सर्टिफिकेट अफ ओरिजिन अब अनलाईनबाटै

नेपाल चेम्बर अफ कमर्शले जारी गर्ने उत्पत्तिको प्रमाणपत्र (सर्टिफिकेट अफ ओरिजिन ) अब अनलाईन प्रणालीबाटै जारी हुने भएको छ ।

इन्डस्ट्रियल थर्मल प्रिन्टर बजारमा

इन्डस्ट्रियल थर्मल प्रिन्टर बजारमा

नेपालका लागि साटो कर्पोरेसन जापानको अधिकृत बिक्रेता बार कोड नेपाल इंकले सिएल फोर एनएक्स सिरिजको इन्डस्ट्रियल थर्मल प्रिन्टर नेपाली बजारमा...

अजोडको सभा सम्पन्न

अजोडको सभा सम्पन्न

निर्जीवन बिमा कम्पनी अजोड इन्स्योरेन्सको प्रथम वार्षिक साधारणसभा सम्पन्न भएको छ । ...

व्यावसायिक परामर्श सेवासम्बन्धी सम्झौता

व्यावसायिक परामर्श सेवासम्बन्धी सम्झौता

सांग्रिला डेभलपमेन्ट बैंक र उपाय सर्भिसेजबीच व्यावसायिक परामर्श सेवासम्बन्धी सम्झौता भएको छ । ...

एनसिसी बैंकको सहयोग

एनसिसी बैंकको सहयोग

एनसीसी बैंकले भक्तपुरस्थित सानोठिमी प्राविधिक शिक्षालयलाई ५ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ । ...

काठमाडौं मेरिएट होटल सञ्चालन

काठमाडौं मेरिएट होटल सञ्चालन

मेरिएट होटलको फ्ल्यागसिप ब्रान्डको डेब्युसँगै राजधानीमा ‘काठमाडौं मेरिएट होटल’ सञ्चालनमा आएको छ । ...

टिभिएसले ल्यायो अन्तराष्ट्रीय रेस ट्रयाकमा मोटरसाईकल चलाउने योजना

टिभिएसले ल्यायो अन्तराष्ट्रीय रेस ट्रयाकमा मोटरसाईकल चलाउने योजना

नेपालको लागि टिभिएस मोटर कम्पनीको एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले टिभिएस मोटरसाईकल ग्राहकहरुलाई लक्षित गरेर एक नयाँ योजना अपाचे रेस...

Ncell Footer Ad