८ वैशाख २०८१ शनिबार
अन्य

समाजसेवी साधकहरू

वर्तमान समयमा समाजसेवा धेरै हुन थालेका छन्। सरकारी वा राज्य तहबाट हुने गरेका समाजसेवामा राज्यकै साधन, स्रोत, संयन्त्र आदि प्रयोग भइरहेको हुन्छ। त्यस्तो सेवामा वैयक्तिक जिम्मेवारीभन्दा राज्यप्रतिको दायित्वको औपचारिक भावना रहन्छ। राज्यबाट तलब वा अन्य सुविधा लिएर राज्यद्वारा नै निर्धारित वा लक्षित काममा इमानदार भएर राजनीतिक वा कर्मचारी संयन्त्रले काम गरेको भए राष्ट्रिय स्तरमै समाजसेवाका धेरै काम भइसकेका हुन्थे। जनताले हरेक क्षेत्रमा बेथिति र विसंगतिका पहाड देख्नु पर्ने थिएन। इतिहासदेखिकै यस्तो विडम्बना कायमै छ। राज्यस्तरीय सुविधाको न्यानो छाताभित्र रहेर चिसोले कठाङ्ग्रिएको भोको र नांगो नेपाली अनुहारलाई सेवा पु-याउन खोज्नेले पहिले आफूलाई नै बढी सुरक्षित राख्छ।

नेपालको राजनीतिक र प्रशासनिक क्षेत्रबाट ‘आम जनता’का लागि गरिँदै आएका ‘सेवा’ भनेको आफ्नै जागिर वा सुविधाप्रतिको न्यूनतम कार्यालयीय दायित्व वहन गराई मात्र हो भन्न सकिन्छ। सानो संख्यामा रहेका इमानदार कर्मचारी जागिरभन्दा जनतालाई बढी सम्झँदा पनि हुन्। कसैकसैले सम्झिएका पनि छन्, ती धन्य छन्। ती अपवाद हुन्। जागिरे मनस्थितिमा सामान्यतया समाजसेवाको उदार भावनाले महत्व नपाउनु स्वभाविक ठान्न पनि सकिएला, किनभने जागिर खानुमा वा सरकारी सेवामा प्रवेश गर्नुमा व्यक्तिसँगै उसका सामाजिक, आर्थिक बाध्यताका कारण पनि जोडिएका हुन्छन्। वास्तविक अर्थमा समाजसेवामा संलग्न रहने मानिस सरकारको सुरक्षित छहारीमा बस्न चाहँदैनन्। उनीहरू स्वतन्त्रतापूर्वक आ–आफ्नो रुचि र सामथ्र्य अनुसारका समाजसेवाका क्षेत्रमा क्रियाशील र समर्पित रहन्छन्।

नेपालमा जनस्तरबाट सरकारको कुनै आडभरोसा नलिई स्वतन्त्र रूपमा संस्थागत वा व्यक्तिगत तवरले समाजसेवाका गतिविधि हुन थालेको सय वर्ष नाघिसकेको छ। इतिहासका केही सम्मानित समाजसेवीलाई यहाँ स्मरण गर्ने प्रयास गरिएको छ।

नेपालमा सरकारको कुनै आडभरोसा नलिई जनस्तरबाट स्वतन्त्र रूपमा संस्थागत वा व्यक्तिगत तवरले समाजसेवाका गतिविधि हुन थालेको सय वर्ष नाघिसकेको छ। इतिहासका केही सम्मानित समाजसेवी हुन्– माधवराज जोशी, दयावीरसिंह कंसाकार, आबाल ब्रह्मचारी षडानन्द अधिकारी, कृष्णप्रसाद कोइराला र योगमाया।
 

माधवराज जोशी : जोशीले स्थापना गरेको ‘आर्य समाज’भन्दा पहिले जनस्तरबाट स्थापित अर्को कुनै समाजसेवी संस्था भएको प्रमाण पाइँदैन। जोशीले विसं १९५३ मा आर्य समाज स्थापना गरेका थिए। जहानियाँतन्त्रको मध्यकालतिर शासकको कोपभाजनबाट बच्दै संस्थाका गतिविधि अगाडि बढाउनु ठूलो चुनौती थियो। आर्य समाजको उद्देश्य रूढिवादी र अन्ध परम्पराबाट शताब्दीयौँदेखि जकडिइरहेको नेपाली समाजको चेतनामा परिवर्तन ल्याउनु थियो। भारतीय अध्यात्म जागरणका अभियन्ता स्वामी दयानन्दबाट प्रभावित माधवराज जोशीले आर्य समाजका माध्यमबाट नेपालमा सामाजिक जागरणको प्रयत्न गरेका थिए। तर, उनलाई पछि चन्द्रशमसेरले जेल हाले। वि.सं. १९७७ मा भाइ अमरराज जोशीले ‘मलामी गुठी’का नामबाट समाजसेवालाई अघि बढाउन खोजेका थिए। तर, त्यस गुठीमा आबद्ध सबै देश निकाला गरिए, (नेका इतिहासको प्रारूप—१)। संस्थागत रूपमा जनस्तरबाट आरम्भ भएका यी संस्थाले तत्कालीन सामाजिक परिवेशमा जनहितलाई केन्द्रमा राखेर काम गर्ने प्रयास गरेका भए पनि तिनका सञ्चालकसँग शासक वर्ग सशंकित भयो। ती संस्थाको अस्तित्वले निरन्तरता पाउन सकेन।

स्मरणीय छ, चन्द्रकै शासनकालमै तुलसीमेहर श्रेष्ठले ‘चर्खा प्रचार अभियान’ को सुरुवात गरेका थिए। त्यसलाई बन्द गरियो। जुद्धशमसेरका पालामा चिनियामान सिंह र फत्तेबहादुर सिंहले महावीर स्कुलको आरम्भ गरेका थिए। ती पनि बन्द गरिए। जनस्तरबाट जनहितका लागि स्थापित संस्थाहरू राणा शासनको शासकीय कठोर दण्डनीतिका सिकार भए। माधवराज जोशीद्वारा स्थापित आर्य समाज, अमरराज जोशीको सक्रियतामा खुलेको मलामी गुठी, तुलसीमेहरको चर्खा प्रचारलाई अंग्रेज विरोधी भारतीय नेताहरूको प्रभावबाट स्थापित भएको आरोप लगाइएको थियो। महावीर स्कुलले प्रत्यक्षरूपमा राणा शासनका विरुद्धमा लाग्न सक्ने शिक्षित मानिसको उत्पादन गर्छ भन्ने भय शासक खलकमा थियो। त्यसैले ती समाजसेवी संस्थालाई बन्द गराई सम्बद्ध व्यक्तिलाई कडा सजाय दिइयो। ती अग्रणी संस्था र तिनका सञ्चालकहरूले समाजलाई चेतनशील बनाउने प्रयत्न गरेका थिए।

आबाल ब्रह्मचारी षडानन्द अधिकारी : आध्यात्मिक जागरणका ज्योतिपुञ्ज आबाल ब्रह्मचारी षडानन्दले पूर्वी नेपालमा शिक्षा र संस्कृतिको जागरण यज्ञ आरम्भ गरे। यिनले कठोर तपस्याबाट सिद्धि प्राप्त गरेका थिए। यी सत्पुरुषले विसं १९३२ मा भोजपुरको दिङ्लामा गुरुकूल स्कुलको आरम्भ गरे जसबाट त्यस क्षेत्रमा शिक्षाको ठूलो उन्नति भयो। भोजपुर मात्र नभई टाढाटाढाका विद्यार्थीका लागि पनि दिङ्ला विद्याको केन्द्र बन्यो। गुरुकूलमा विद्यार्थीहरूलाई चाहिने सम्पूर्ण सुविधा निःशुल्क उपलब्ध हुने व्यवस्था थियो। उनले आम जनताका लागि पाटीपौवा, धारा, चौतारा आदिको निर्माण गराए। उनले स्थापना गरेको गुरुकूल तथा अन्य धार्मिक संस्थामा जातीय भेदभाव तथा छुवाछुत थिएन। सबै वर्ण जातका मानिसप्रति समान व्यवहार थियो। आजभोलि बढी चलनमा आउन थालेका सामूहिक व्रतबन्ध जस्ता कर्महरू उतिबेलै दिङ्लामा प्रचलनमा ल्याइएको थियो। त्यस क्षेत्रमा समाज सेवाका लागि उनले अरूलाई पनि प्रेरित गरे। फलस्वरूप समाजका मानिस आफ्नो आम्दानीको केही प्रतिशत समाजसेवाका लागि छुट्टयाएर आबाल ब्रह्मचारीद्वारा स्थापित संस्थामा योगदान पु-याउने गर्थे। उनीद्वारा स्थापित शैक्षिक, आध्यात्मिक संघसंस्था समयानुकूल परिवर्तन र परिमार्जन हुँदै अद्यापि निरन्तरता पाइरहेका छन्।

राणा शासनको अन्धकारपूर्ण युगमा आबाल ब्रह्मचारी षडानन्द अधिकारीद्वारा जुन पुनित सामाजिक सेवा–कार्यहरूको सुरुवात भयो, त्यसबाट अन्य ठाउँका कैयौँ समाजसेवीलाई प्रेरणा मिल्दै गयो। इतिहासका यी सत्पात्र, महाज्ञानी षडानन्द अधिकारी सदा वन्दनीय छन्।

कृष्णप्रसाद कोइराला : यिनी ठूला समाजसेवी, उद्योगी र पौरखी पुरुष थिए। विराटनगरलाई आधुनिकीकरण गर्न यिनले अग्रणी भूमिका खेले। ठेक्कापट्टा गर्ने क्रममा सप्तरीमा रहेका बेला वि.सं. १९७६ सालतिर कृष्णप्रसाद कोइरालाले, गरीब नेपाली जनताका झुत्रेमुत्रे लुगा पोको पारी प्रधानमन्त्री चन्द्रशमसेरकहाँ पठाएपछि यिनका दुर्दिन सुरु भए। पछि चन्द्रको मृत्युपछि उनी नेपाल आएर विसं १९८६ मा विराटनगरमा आदर्श स्कुल खोले। सर्वसाधारण नेपाली जनताका लागि आधुनिक शिक्षा प्राप्ति हेतु स्कुलको स्थापना गर्नु ठूलो सामाजिक पुण्यकर्म थियो। उनले स्थापना गरेको स्कुल अहिले पनि प्रसिद्ध शिक्षणसंस्थाका रूपमा रहेको छ। कृष्णप्रसाद –जसलाई ‘पिताजी’ पनि भनिन्छ। कोइरालाले विराटनगरमा धार्मिक आस्थाको केन्द्र काली मन्दिरको स्थापना गराएका थिए। उनले आफ्नै जग्गाको एक भाग छुट्याएर अस्पतालको निर्माण गराई जनताको सेवा गरे। सञ्चारको कुनै सुविधा नभएको सय वर्ष पहिलेको विराटनगरमा हुलाक सेवाको प्रबन्ध मिलाए। विराटनगरमा उद्योगधन्दा खोल्न पनि उनको ठूलो भूमिका रह्यो। कोइरालाले समाजका गरीब, विमुख जनताका हितमा काम गर्न आफू आजीवन अग्रसर र आफ्ना छोराछोरीलाई पनि प्रेरित गरे।

राणा प्रधानमन्त्री जुद्धशमशेरले उनलाई राजनीतिक अभियोग लगाई जेल हाले। जेलमै २००१ सालमा उनको देहान्त भयो। उनको देहान्तपछि उनका छोराहरू (मातृका, वीपी, गिरिजाप्रसाद लगायत) ले नेपालको प्रजातान्त्रिक आन्दोलनको नेतृत्व गरे र जहानियाँ शासनको समाप्तिका लागि निर्णायक भूमिका खेले। बीपी तथा गिरिजाप्रसाद कोइरालाले पछिपछिका प्रजातान्त्रिक संघर्ष वा आन्दोलनमा पनि नेतृत्व लिए। पिताजी कृष्णप्रसादको उनीहरूमाथि ठूलो प्रेरणा रहेको थियो। राजनीतिक संघर्षहरूमा कृष्णप्रसादका अरू परिवारजनको पनि ठूलो योगदान छ। कृष्णप्रसाद कोइराला देशले सधैँ सम्झनु पर्ने महान् समाजसेवी हुन्। कोइराला परिवारका महिला सदस्यहरूको पनि समाजसेवामा महत्वपूर्ण अग्रसरता रहेको इतिहास छ। विराटनगरमा कृष्णप्रसादद्वारा स्थापित संघसंस्थाहरूले उनका पुण्य कर्मलाई सम्झाइरहेका छन्। राष्ट्रले सम्झिनुपर्ने एक महान् समाजसेवी हुन् कृष्णप्रसाद कोइराला।

योगमाया :  तत्कालीन सामाजिक अन्धविश्वासका कारण पारिवारिक परिस्थितिबाट परिव्यक्त नारी थिइन् योगमाया। उनले दशकाैसम्म तीर्थाटन गरिन् र पर्याप्त आध्यात्मिक ज्ञान र चेतनाले आफूलाई सुसज्जित गराइन्। आफ्ना प्रभावशाली प्रवचनका माध्यमबाट उनका असंख्य भक्तहरू बने। आध्यात्मिक ध्यान, साधना, प्रवचन आदिका माध्यमबाट उनी तत्कालीन समाजमा विद्यमान कुरीति, कुप्रथा, अन्धविश्वासका जराहरू उखेल्न चाहन्थिन्। उनी देशबाटै नारीहरूले भोग्नुपरेका पारिवारिक, सामाजिक र कानुनी पीडा, सन्त्रास, अन्याय र भेदभावपूर्ण परम्पराहरूको अन्त्य गर्न चाहन्थिन्। पुरुष वर्गबाट महिला वर्गमा हुने अमानवीयता र उत्पीडनबाट समाजलाई मुक्त गर्न उनले अभियान चलाएकी थिइन्। उनको ध्यान शिविरमा कुनै पनि जातजातिका मानिसका लागि बन्देज थिएन। उनले जातीय भेदभावको शक्त विरोध गरिन्। समाजका अछुत भनिएका मानिसहरू पनि उनका भक्त बने, चेलाचेली बने। यस्ता साहसी कार्यबाट समाजका पुरातनवादी, रूढि परम्परावादीहरू योगमायाका विरोधी बने। तर, उनले आफ्नो दृढ विचार र संकल्पलाई त्यागिनन्। उनी सामाजिक परिवर्तन र जागरणकी प्रतीक एवं समर्पित अभियन्ता र विद्रोही नारी थिइन्।

उनले राणा प्रधानमन्त्री जुद्धशम्शेरसमक्ष तत्कालीन समाज र देशको राजनीतिक, सामाजिक, आर्थिक अवस्थामा आमूल परिवर्तन गर्न जरुरी रहेका अनेक विषयहरूलाई लिपिबद्ध गरी मागपत्र पठाएकी थिइन्। महिला र पुरुषबीच हुने भेदभावपूर्ण परम्पराका विरुद्ध समतामूलक समाजको निर्माणका आधारहरूको निर्माण गरिनुपर्ने, छुवाछुत प्रथाको जरैदेखि उन्मूलन गरिनुपर्ने, सामन्ति शोषणबाट समाजलाई मुक्त गर्नुपर्ने, प्राकृतिक स्रोतसाधनको सुरक्षा गरिनुपर्ने, जातीय भावनाको अन्त्य गरिनुपर्ने आदि जस्ता कुरीतिको अन्त्यका लागि कैयाैं माग समावेश गरी जुद्धशम्शेरलाई निवेदन दिएकी थिइन्। उनको आग्रहलाई निरंकुश शासक जुद्धशम्शेरले पूरा गर्ने कुनै चासो देखाएनन्। उनले आफ्नो अडान छाडिनन्। अन्ततोगत्वा वि.सं. १९९८ असारमा योगमायाले आफ्ना कैयौँ अनुयायीका साथ अरूण नदीमा जलसमाधि लिइन् (सुवेदी, दधिराज, २०६२, अनुभव र अनुभूति)।

तत्कालीन नेपाली समाजको आमूल परिवर्तनका लागि सशक्त आवाज उठाउने संघर्ष, चेतना र जागरणकी प्रतिक योगमाया, एक शीर्ष सामाजिक अभियन्ता, समाजसेवी र क्रान्तिकारी नारी थिइन्। उनले त्यस समयमा शासकलाई पूरा गराउन संकल्प गरेका धेरै विषयहरू वर्तमानमा पनि पूरा भइसकेका छैनन्। योगमायाका संकल्पलाई पूर्णतः कार्यान्वयन गर्न वर्तमानको सचेत समाजले अझै संघर्ष गर्नुपर्ने देखिन्छ। आजका सामाजिक अभियन्ता र समाजसेवीले योगमायाको संघर्षमय जीवनलाई बुझ्न र उनले त्यसबेला उठाएका आवाजलाई मनन गर्नु उपयुक्त हुनेछ।

दयावीर सिंह कंसाकार : दयावीर सिंह कंसाकार अर्का एक महान् समाजसेवी थिए। वि.सं. २००२ मा काठमाडाैंमा झाडावान्ताको ठूलो महामारी फैलिएको थियो। कयौंको ज्यान गइरहेको थियो। स्वास्थ्य संस्थाका रूपमा वीर अस्पतालबाहेक अरु केही सीमित संख्यामा आयुर्वेदिक औषधालय (वैद्यखानालगायत) मात्र थिए। हैजाले काठमाडाैंका अनेक टोलटोलका मानिसहरू आक्रान्त थिए। महामारीबाट सर्वसाधारण मानिसलाई बचाउन दयावीर व्यक्तिगत रूपमा सक्रिय रहे। दुःखी, गरीब, असहाय नेपालीका लागि सकेसम्म सहयोग पु-याउनुपर्छ भन्ने भावनाले प्रेरित भई त्यसबेला देखि उनी जनहितकारी कार्यमा समर्पित भए। त्यसबेला रोगी, बिमारी मानिसलाई बचाउन अत्यावश्यक पर्दा रगत दिने मानिस कोही हुँदैनथे। रक्तदानको चलन सुरुवात भएकै थिएन। कैयौँ बिमारीले रगत नपाएर मृत्युवरण गर्नुपथ्र्यो। दयावीर सिंहले वि.सं. २००० सालतिरै रोगीलाई बचाउन आफ्नो रगत दान गरे। उनले नै नेपालमा सर्वप्रथम रक्तदान आरम्भ गरेका थिए। उनी वि.सं. १९६८ वैशाखमा जन्मेका थिए।

नेपालमा वर्तमानमा पनि सर्वसाधारणमा प्रसूती गराउन अस्पताल जानुपर्छ भन्ने जनचेतना राम्ररी जागिसकेको छैन। यसको आवश्यकता महसुस गरी दयावीर सिंहले २०१६ सालमा प्रसूति गृहको स्थापना गरे। प्रसूति गृहमा सेवा लिन आउनेहरू बढ्दै गए। क्रमशः त्यसको विकास र विस्तार हुँदै गएर वर्तमानमा थापाथलीस्थित प्रसूति अस्पतालले दैनिक असंख्य नेपालीहरूलाई सेवा पु-याउँदै आएको छ। यसको भौतिक पूर्वाधार निर्माणका लागि तत्कालीन राजदरबार र सिंहशम्शेर जबराको पनि सहयोग जुटाउन कंसाकारले पहल गरेका थिए। यो देशकै सबैभन्दा ठूलो मातृ–शिशु अस्पताल भएको छ। यो दयावीर सिंहकै सपनाको प्रतीक हो।

दयावीरले समाजका असहाय, अनाथ र अति विपन्न नेपालीका सन्तानलाई आश्रय दिन २००९ सालमा एक अनाथालय संस्था स्थापना गराए, जसलाई परोपकार अनाथालय भनिन्छ। यसबाट हजाराैं अनाथ बालकले जीवनलाई सुरक्षित र शिक्षित पार्दै आएका छन्। अनाथहरूलाई लक्षित गरी स्थापित परोपकार स्कुल पछि आएर उनले परोपकार आदर्श स्कुलका रूपमा सबैलाई सहज हुने गरी सञ्चालन गर्न लगाए, जहाँबाट अनाथ, असहाय बालबालिका तथा सर्वसाधारण नेपाली जनताका छोराछोरीले शिक्षा आर्जन गर्न पाएका छन्। दयावीरको देहावसान वि.सं. २०५७ माघमा भयो।

महान् समाजसेवी दयावीर आजीवन आफूले स्थापना गरेका परोपकारी संस्थाहरूको उन्नतिमा सक्रिय रहे। उनीद्वारा स्थापित संस्थाहरूले असंख्य नेपालीका लागि स्वास्थ्य, शिक्षा क्षेत्रमा उदाहरणीय सेवा पु-याइरहेका छन्, लाखाैं नेपालीहरू ती संस्थाबाट लाभान्वित भइरहेका छन्।

वर्तमानमा समाजसेवाका क्षेत्र विस्तारित भएका छन्, सँगसँगै समाजसेवीको संख्यामा पनि उल्लेखनीय वृद्धि भएको छ। स्थानीय स्तरदेखि देशका प्रायः सबै जिल्लामा समाजसेवी छन्। शिक्षा, स्वास्थ्य क्षेत्रमा योगदान पु-याउने धेरै देखिन्छन्। वृद्धवृद्धा तथा ज्येष्ठ नागरिकका कल्याणका लागि, बेचविखनमा परेका महिला, चेलीबेटी तथा बालबालिकाको उद्धार र पुनस्र्थापनाका लागि, धार्मिक आध्यात्मिक उन्नतिका लागि, विपन्न समाजमा आवास निर्माण तथा प्रकोप पीडितहरूको उद्धार र सेवा कार्य आदि अनेक क्षेत्रमा धेरै नेपाली लागिपरेका छन्।

विशेष गरी स्वास्थ्य तथा शिक्षाका क्षेत्रमा कतिपय संस्थाको स्थापना गरी न्यूनतम मात्र शुल्क लिएर ती क्षेत्रमा महत्वपूर्ण सेवा पु-याइरहेका समाजसेवी पनि छन्। त्यस्ता कतिपय संस्थाका सञ्चालकमा व्यक्तिगत स्वार्थभन्दा जनताको सेवाभाव नै बढी देखिन्छ। व्यक्तिगत स्वार्थलाई केन्द्रमा राखेर कसैले समाजसेवा गर्छु भन्छ भने त्यो ढोग मात्र हुनेछ। सेवाको नाम लिएर जनतालाई ठग्ने प्रवृत्तिबाट वास्तविक समाजसेवीले आफूलाई सचेत बनाउनु उपयुक्त हुनेछ।

माथि उल्लिखित समाजसेवीले आ–आफ्नो समयमा महान् सेवा कर्म गरे। उनीहरूले ठूलो संघर्ष गर्नु परेको इतिहास छ, जस्तै : संकट आईपर्दा पनि वास्तविक समाजसेवी आफ्नो उद्देश्यबाट विमुख हुँदैनन्। इतिहासमा समाजसेवाको बलियो जग बसाल्ने महामनाहरू हुन् उल्लिखित समाजसेवीहरू। वास्तविक समाजसेवी संघर्षबाट विचलित हुँदैनन्। उनीहरूका जीवनगाथाहरू स्मरण गर्दै आफ्ना समाजसेवा कर्मलाई अघि बढाउँदै जान सक्नु वर्तमानका समाजसेवीहरूका लागि ठूलो दीक्षा हुनेछ।

इतिहासमा अरू कैयौँ समाजसेवीले समाजका विभिन्न क्षेत्रको उन्नतिका लागि ठूलो योगदान पु-याएका छन्। कतिले जग्गादान गरे, जहाँ अहिले ठूलाठूला शिक्षण संस्थाहरू रहेका छन्। कतिले समाजकै कुरीति र अन्धविश्वास विरुद्ध जनतालाई ज्ञान बाँडे। कतिले अस्पताल खोले, कतिले बाटाघाटा बनाए। राज्यले विगतका विशिष्ट समाजसेवीका कर्महरूको खोजीनीति वा चासो गरेको पाइँदैन। देशभरि ठूलो संख्यामा कसैको आशा नराखी आफ्नै बलबुताले जनकल्याणका कामहरू गर्ने वास्तविक समाजसेवकहरूको खोजी गरी तिनीहरूलाई राष्ट्रिय सम्मान गर्न राज्य तत्पर हुनु जरुरी छ।

प्रकाशित: २१ असार २०७६ ०३:०२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App