८ वैशाख २०८१ शनिबार
खेल

लय निरन्तरताको आशा,ब्याटिङको अद्भुत शैली

लिड्स – भेट्रान बलर लासिथ मालिङ्गा सदैव श्रीलंकाली क्रिकेट टोलीका लागि निकै आशा गरिएका बलर हुन्। टोलीको आशाअनुरूप मालिङ्गाले प्रदर्शन पनि गर्छन्।

यद्यपि, जारी विश्वकपमा मालिङ्गा र उनको टोली श्रीलंकाका लागि खासै राम्रो बन्न सकेन। मालिङ्गाको मध्यम प्रदर्शन गर्दा उनको टोलीले पनि सेमिफाइनलको यात्रा तय गर्न असफल भयो। यद्यपि, विश्वस्तरीय खेलाडीको अभाव रहेको श्रीलंकाली टोलीका लागि मालिङ्गा निकै भरोसा गरिएका खेलाडी हुन्।

उनै अनुभवी मालिङ्गाले आफ्नो सन्तुलित प्रदर्शन भने देखाउन सकिरहेका छैनन्। यद्यपि, मालिङ्गासँग योर्कर र तीव्र गतिको बलिङबाट विपक्षी टोलीका ब्याट्सम्यानलाई लगातार दबाबमा राख्न सक्ने क्षमता भने छ। सोही प्रभावकै आधारमा उनले यस विश्वकपमा ६ खेलबाट १२ विकेट लिइसकेका छन्।

उनै मालिङ्गा श्रीलंकाका लागि यस विश्कपको अन्तिम खेल भारतविरुद्ध खेल्दै छन्। उक्त खेलमा पनि टोलीले उनीबाट लय निरन्तरताको आशा गरेको छ। ८ खेलबाट ८ अंक जोडेको श्रीलंका अन्तिम खेलमा भारतलाई हराउँदै आफूलाई बलियो टोली साबित गर्न चाहन्छ। त्यसका लागि मालिङ्गाको लय जारी रहनुपर्नेछ।

यसअघि श्रीलंकाले इङ्ल्यान्डलाई निराश पार्दा पनि त्यसका नायक मालिंगा नै थिए। व्यक्तिगत उत्कृष्ट प्रदर्शनबाटै टोलीलाई सफलता दिलाउने क्षमता अभैm पनि उनमा छ भन्ने प्रमाण इङ्ल्यान्डविरुद्धको खेलमा मालिङ्गाले देखाइसकेका छन्। उक्त खेलमा मालिंगाले १० ओभरमा १ मेडनसहित ४३ रन खर्चंदै ४ विकेट लिएपछि  श्रीलंका २ सय ३३ रनको सामान्य लक्ष्य पनि रक्षा गर्न सफल भएको थियो।

श्रीलंकाले न्युजिल्यान्डलाई १० विकेटको नतिजा सुम्पिँदै विश्वकपको सुरु गर्दा बाहेक त्यसपछिका प्रत्येक खेलमा मालिङ्गाले विकेट लिएका छन्। अफगानिस्तानलाई हराउँदै श्रीलंकाले पहिलो जितको स्वाद चाख्दा पनि मालिंगाले ३ विकेट लिए। अस्ट्रेलियाविरुद्ध पनि मालिंगाले एक विकेट आफ्नो नाममा लेखाए। उनले दक्षिण अफ्रिकासँगको खेलमा एक मात्र विकेट लिएका थिए।

निकै बलियो ब्याटिङ रहेको भारतविरुद्ध बलिङ गर्नु मालिङ्गालाई सहज नहुन पनि सक्दछ। भारतीय ब्याट्सम्यान आफ्नो टोलीको रनरेट सुधार गर्नका लागि आक्रामक ब्याटिङ गर्न सक्छन्। त्यसैले सजग भएर बलिङ गर्नु मालिङ्गाको हुनुपर्नेछ। सोही आक्रामकता फाइदा उठाउँदै मालिङ्गा घातक बलर साबित हुन सक्दछन्।

ब्याटिङको अद्भुत शैली
अदभुत ब्याटिङ गर्ने शैली भएका भारतका रोहित शर्माले जारी विश्वकपमा उत्कृष्ट ब्याटिङ गरिरहेका छन्। उपकप्तान तथा ओपनिङ ब्याट्सम्यान रोहितले ९०.६६ को औसतले यस विश्वकपमा सर्वाधिक ४ शतक प्रहार गरेका छन्।

४ शतक प्रहार गर्ने एक्ला ब्याट्सम्यान रोहितको नाममा एक अर्धशतक पनि सामेल छ। उनले दक्षिण अफ्रिका, पाकिस्तान, इङ्ल्यान्ड र बंगलादेशविरुद्धको खेलमा शतक बनाए। यस क्रममा उनले ७ खेलबाट ५ सय ४४ रन जोडे। उनी जारी विश्वकपमा धेरै रन बनाउने ब्याट्सम्यानको सूचीमा शीर्ष स्थानमा छन्।

गत खेलमा बंगलादेशलाई हराउँदै भारतले सेमिफाइनलको यात्रा तय गर्दा रोहितले १ सय ४ रनको बलियो योगदान दिएका थिए। त्यसअघि पहिलो खेलमा भारतले दक्षिण अफ्रिकामाथि जित निकाल्दा पनि रोहितले १ सय २२ रनको अविजित इनिङ खेले। दोस्रो खेलमा पनि बलियो टोली अस्ट्रेलियाविरुद्ध भारतले जित निकाल्दा रोहित शर्माले ५७ रनको अर्धशतकीय योगदान दिए।

उनको उत्कृष्ट लयमा त्यतिमा मात्र सीमित रहेन। उनले चिरपरिचित प्रतिद्वन्द्वी पाकिस्तानविरुद्ध पनि उत्कृष्ट ब्याटिङको निरन्तरता दिए। त्यस क्रममा उनले १ सय १३ बलमा १ सय ४० रनको यादगार इनिङ खेलेका थिए। भारतले यस विश्वकपमा लिग चरणको अन्तिम खेलअन्तर्गत एसियाली प्रतिद्वन्द्वी श्रीलंकाविरुद्ध शनिबार खेल्दै छ। उक्त खेलमा पनि भारतले रोहितबाट सोही किसिमको प्रदर्शन आशा राखेको छ। भारतको आशाअनुरूप रोहितमा क्षमता पनि छ।

एकदिवसीय क्रिकेटमा तीन पटक दोहोरो शतक पूरा गर्दै रोहितले विश्व क्रिकेटलाई नै उनीबाट धेरै आशा गर्ने अवस्था सिर्जना गरिसकेका छन्। उनले करियरको पहिलो दोहोरो शतक (२०९ रन) सन् २०१३ मा बलियो टोली अस्ट्रेलियाविरुद्ध बनाएका थिए। सन् २०१४ मा पनि उनले श्रीलंकाविरुद्ध २ सय ६४ रन बनाउँदै दोस्रो दोहोरो शतक पूरा गरे। उनको उत्कृष्ट प्रदर्शन सन् २०१७ मा पनि दोहोरिँदा श्रीलंकाविरुद्ध पुनः दोहोरो शतक पूरा भएको थियो।

सो खेलमा उनी २ सय ८ रनमा अविजित रहेका थिए। उनी विश्व क्रिकेटमा तीन दोहोरो शतक पूरा गर्ने एक मात्र ब्याट्सम्यान हुन्। कुल २ सय ९ एकदिवसीय क्रिकेटमा रोहितले २४ शतकबाट ८ हजार ३ सय २९ रन बनाउँदा हरेक टोलीविरुद्ध आफूलाई मुख्य बाधकका रूपमा प्रमाणित गरेका छन्। श्रीलंकाली बलर पनि उनलाई सस्तैमा आउट गर्दै आफ्नो टोलीलाई दबाबरहित रूपमा अगाडि बढाउने योजनामा हुनेछन्।

प्रकाशित: २१ असार २०७६ ०३:०८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App