७ वैशाख २०८१ शुक्रबार
स्वास्थ्य

सर्भाइकल पेन, गर्धन दुखाइ के हो ?

अहिले अधिकांश मानिस  गर्धन दुखाइबाट ग्रसित छन्। गर्धन दुखाइ मात्र होइन ढाड, कम्मर दुखाइ पनि जल्दोबल्दो समस्या बनेको छ।  बालकदेखि वृद्ध जोकोहीलाई पनि यो दुखाइ हुन सक्छ। घन्टौंसम्म निहुरिएर मोबाइल, ल्यापटप, टिभी हेर्ने, सोफा वा अन्य ठाउँमा बस्दा ढल्किएर बस्ने जस्ता कारण यो समस्या आउँछ। गर्धन, ढाड, कम्मर दुखाइको मुख्य कारण हाम्रो मेरुदण्डमा हुने असरले हुन्छ। हाम्रो गलत जीवनशैली र हामीले गर्ने गलत विहार– शरीर हल्लाएर गर्ने गतिविधि नमिल्नु दुखाइको कारण हो।

भाइबहिनी हो ! मानिसले गर्ने शारीरिक गतिविधि धेरै छन् जस्तै ः उठ्ने, बस्ने, पढ्ने, लेख्ने, हिँड्ने, सुत्ने, खाने, खेल्ने, व्यायाम गर्ने आदि। यी शरीरले गर्ने गतिविधि नमिलेर मेरुदण्डमा समस्या आउँछ। त्यसैले गर्धन दुख्नुको मुख्य कारण शरीरको पोस्चर नमिलेर हुन्छ भने केही दुखाइ खाएको खाना नमिलेर पनि हुन्छ। हामीले खाएको खाना नमिलेर शरीरमा फोहर जम्मा हुन्छ जसको रक्त संचारमा अवरोध भई जोर्नीहरू दुख्ने हुन्छ। सर्भाइकल पेन अर्थात् गर्धन दुखाइ कसरी हुन्छ भन्ने बारे बुझ्नु अगाडि हामीले मेरुदण्डको बनावट बुझ्न जरुरी छ।

हामीले अगाडिको अंकमा मेरुदण्डको बनोटबारे चर्चा गरिसकेका छौ। हाम्रो शरीर २०६ वटा हाड मिली बनेको हुन्छ। जसमा ३३ टुक्रा साना हाडहरु मिलेर मेरुदण्ड बनेको हुन्छ। मेरुदण्डका हाडहरूलाई भटेब्रा भनिन्छ। दुई भर्टेब्रा बीचमा कुरकुरे हाड हुन्छ जसलाई डिस्क भनिन्छ। हाम्रो मेरुदण्डको बीच भागबाट स्नायुहरू टाउकोदेखि खुट्टासम्म गएका हुन्छन्। यी नसामा दबाब परेपछि दुखाइ हुन्छ।

के हो सर्भाइकल पेन ?
मेरुदण्डको सबैभन्दा माथिल्लो भाग टाउकोदेखि थोरासिक भर्टेब्रासम्मलाई सर्भाइकल भर्टेब्रा भनिन्छ। यसमा ७ टुक्रा हाड पर्छन्। यसलाई सी वन, सी टु गर्दै सी सेभेन अंकित गरिन्छ। गर्धन दुखाइ हुँदा यिनै नसाहरूमा दबाब पर्छ। हाम्रे मेरुदण्ड दायाँबायाँ, अगाडिपछाडि हेर्न सक्ने, झुक्न सक्ने लचिलो हुन्छ। तर मेरुदण्डलाई धेरै झुकाउने, बाङ्गो राख्ने गरेमा समस्या आउँछ।  
भाइबहिनी हो, हाम्रो मेरुदण्डबाट शरीरका विभिन्न भागमा नसा गएका हुन्छन्। हामीले गर्ने गलत गतिविधिका कारण मेरुदण्डका डिस्कहरू आफ्नो ठाउँबाट यताउति सर्छन्। डिस्क सरेपछि मेरुदण्डबाट गएका नसाहरूमा दबाब परी च्याप्ने हुन्छ समस्या हुन्छ। जुन भागमा दबाब प¥यो त्यस ठाउँबाट जहाँ नसा गएको हो त्यो भागमा दुखाइ हुन्छ।

गर्धनबाट दुवै हातका नशा दायाँबायाँ गएका हुन्छन्। गलत विहारले गर्धनमा रहेका डिस्क पनि आफ्नो ठाउँबाट सर्छ। डिस्क आफ्नो ठाउँबाट सरेपछि गर्धन भएर हातहरूमा गएका नसाहरू च्यापिन जान्छ र दुखाइका साथै झमझम गर्ने, दुख्ने, पोल्ने हुन्छ। यस्तो हुनेबित्तिकै मेरुदण्डलाई सिधा खुकुलो राख्ने र आफ्नो विहार ठिक गर्ने काम भएन भने बिस्तारै दुखाइ बढ्दै जान्छ र हातहरू चलाउन गाह्रो, दायाँबायाँ हेर्न, झुक्न गाह्रो हुने र बिस्तारै हिँड्न, बस्न र उभिन पनि गाह्रो हुन्छ। पछि शल्यक्रिया पनि गर्नु पर्ने हुन्छ।
हाम्रा अधिकांश बालबालिकामा पनि यो समस्या पाइन्छ। स्कुल जाँदा भारी ब्याग बोक्नु, हिँड्दा निहुरिएर हिँड्नु, बेच्नमा बस्दा दायाँबायाँ ढल्किएर बस्नु, पढ्दालेख्दा शिरलाई भुकाएर लेख्नु र धेरैबेर मोबाइल, ल्याप्टप गलत पोजिसनमा बसरेर चलाउनुले यस्तो समस्या आउँछ। अहिले हाम्रा बालबालिकाहरूको बाहिर गएर खेल्ने बानी कमी भएको छ। बाहिर खेल्दा वा कुद्दा शरीरमा गतिशीलता उत्पन्न गराउछ। शरीर गतिशील भयो भने जोर्नीहरूको व्यायाम भई शरीर फुर्तिलो हुन्छ।
लक्षणहरू –जोर्नी दुख्दा र नसा च्यापिँदाको दुखाइ फरक हुन्छ। जोर्नी रक्ताम्ल र युरिक एसिड बढेर पनि दुख्छ। युरिक एसिड बढेर दुख्दा कुनै एक जोर्नीको भागमा रातो हुने, सुन्निने दुख्ने हुन्छ भने नसा च्यापिएर दुख्दा झमझम गर्ने नसा तन्किने र पोल्ने हुन्छ। गर्धनमा नसा च्यापिएर दुख्ने दुखाइलाई सर्भाइकल स्पोन्डिलासिस भनिन्छ भने नसा च्यापिएर कम्मरमा हुने दुखाइलाई साइटिका भनिन्छ।

गर्धन दुखाइका प्रकारहरू
गर्धन दुख्दैमा नसा च्यापियो भन्ने हुँदैन। गर्धनमा लिगामेन्ट च्यातिएर, मांशपेसी घर्षण भएर र रक्त संचारमा अवरोध भएर पनि दुख्छ। गर्धन दुखाइका प्रकारहरूः
१ गर्धनको बीच भागमा दुख्नु– गर्धनको लिगामेन्ट च्यातिएर, मासु तन्किएर गर्धनको बीच भागमा दुखाइ हुन्छ।
२. टाउकोदेखि गर्धनसम्म दुख्नु– गर्धनको नसा च्यापिएर दुख्छ।
३. काध दुख्नु, भारी हुनु– यसलाई फ्रोजन सोलडर पनि भन्ने गरिन्छ। काँधमा रक्तसंचार ब्लकेज भएर यो दुखाइ हुन्छ।
४. गर्धनदेखि हातसम्म झमझम हुनु र दुख्नु– यसलाई सर्भाइकल स्पोन्ड्योलोसिस भनिन्छ। गर्धनबाट हातमा गएका नसाहरू च्यापिएर दुखाइ हुन्छ। यसमा काँधदेखि हातका नसा तन्किएर दुख्ने, पाखुरादेखि हातका औंलाहरूसम्म झमझम हुने वा पोल्ने हुन्छ। यी सबै दुखाइहरू हाम्रो खराब पोस्चरका कारण हुन्छ।

खराब पोस्चर
– कहिले अगाडि बढी झुक्ने, कहिले पछाडि झुक्ने
– हिँड्दा अगाडिपछाडि झुकेर हिँड्ने
– सुत्दा धेरै तकिया राखेर सुत्नु
– लचकदार ओछ्यानमा सुत्नु
– मोबाइल, कम्प्युटर र ल्याप्टप निहुरेर धेरैबेर चलाउनु।
– सुत्दा कुचुक्क खुम्चिएर सुत्नु
– बेन्च या टेबलमा बस्दा ढाड बाङगो गरेर बस्नु।
– गाडी वा मोटरबाइक चलाउँदा ढाड निहुराएर चलाउनु।
– धेरै दायाँबायाँ र  कोल्टे सुत्नाले पनि नसा च्यापिने हुन्छ।
– व्यायामको कमीले।

के गर्ने ?
– हिँड्दा, बस्दा, उभिँदा,  जुनसकै काम गर्दा पनि मेरुदण्ड, गर्धन र टाउको सोझो खुकुलो राख्ने।  
– निहुरिएर काम गर्नुपर्ने छ भने केही बेर काम गरेपछि ५–१० मिनेट ढाडलाई सिधा खुकुलो राखेर आराम गर्ने र फेरि काम गर्ने।
– सुत्दा तकिया ठिक्क राख्ने। लचकदार ओछ्यानमा नसुत्ने।
– सुत्दा सिधा उत्तानो परेर सुत्ने। खुम्चिएर कुचुक्क परेर नसुत्ने।
– उठ्दा मेरुदण्डलाई झट्का हुने गरी हतारहतार नउठ्ने।
– कुनै पनि गतिविधिहरू अति नगर्ने।
– हरेक दिन ३० देखि ४५ मिनेट शरीरका सम्पूर्ण जोर्नीहरूको व्यायाम गर्ने।
– गर्धन दुखाइमा योग व्यायामले  पनि लाभ गर्छ।

हातका व्यायामहरू
यी व्यायामहरू बसेर, उठेर दुवै तरिकाले गर्न सकिन्छ। बसेर गर्दा आफूलाई सजिलो आसनमा बस्ने, ढाड, गर्धन र टाउको सिधा खुकुलो राख्ने। उठेर गर्दा खुट्टा एकदुई फिट फटाउने र सिधा बस्ने।
१. दुवै हातलाई अगाडि काँधको बराबर सिधा राख्ने र औंलाहरूलाई श्वास छोड्दै मुठ्ठी कस्ने। यसरी १० पटक गर्ने।
२. पहिलेकै पोजिसनमा बस्ने र हातका नाडीहरूलाई श्वास छोड्दै तल र तान्दै माथि गर्ने १० पटक गर्ने।
३. त्यही पोजिसनमै बसेर हातका नाडीहरूलाई  श्वास तान्दै छोड्दै दायाँबायाँ फर्काउने १० पटक गर्ने।
४. त्यही पोजिसनमा बसेर दुवै हातलाई नाडीदेखि गोलो गोलो घुमाउने। १० पटक गर्ने।

गर्धनको व्यायाम
१.टाउकोलाई बिस्तारै स्वास छोड्दै दायाँ गर्ने र श्वास तान्दै बीचमा आउने। फेरि श्वास छोड्दै बायाँ र श्वास तान्दै बीचमा आउने । १०– १० पटक गर्ने।
२. त्यसै गरी कानले काँधलाई छुने प्रयास गर्ने। १०– १० पटक गर्ने।
३. त्यसै गरी श्वास तान्दै टाउकोले माथि हेर्ने र श्वास छोड्दै भुइँ हेर्ने, सकेसम्म चिउँडोले छाती छुने प्रयास गर्ने। १०– १० पटक गर्ने।

कुमको व्यायाम
कुमलाई बिस्तारै श्वास तान्दै माथि उठाउने र बिस्तारै श्वास छोड्दै अगाडिबाट तल लैजाने त्यसै गरी श्वास तान्दै कुमलाई माथि उठाउने र श्वास छोड्दै पछाडिबाट हात तल झार्ने। १०– १० पटक गर्ने।
हंसासन
घोप्टो सुत्ने। दुवै खुट्टा जोडेर राख्ने। दुवै हातलाई हिप नजिकै आकाश देखाएर राख्ने। बिस्तारै श्वास तान्दै हातखुट्टा र टाउकोलाई एउटै लेभलमा उठाउने। मनमनै १० गन्ने र बिस्तारै श्वास छोड्दै तल झार्ने। ५ पटक गर्ने।

अश्वासन
उत्तानो सुत्ने। दुवै हातलाई गर्धनमुनि बाँधेर राख्ने। दुवै खुट्टा खुम्चाउने। बिस्तारै श्वास छोड्दै दुवै घुँडा जोडेर बायाँ मोड्ने र टाउकोले दायाँ मोडेर कुहिना हेरिरहने, मनमनै ३० गन्ने र बिस्तारै श्वास तान्दै सिधा हुने र फेरि श्वास छोड्दै विपरीत दिशामा लाग्ने। ५– ५ पटक गर्ने।
बद्ध शभासन
उत्तानो नै सुत्ने। दुवै हातलाई गर्धन बाँधेर राख्ने। दुवै खुट्टालाई खुम्चाउने र आरामसाथ  बस्ने।   

सेक्ने विधि  
नसा च्यापिँदा वा दुख्दा तातोले सेक्दा च्यापिएको नसा फुक्छ र दुखाइ कम हुन्छ। तर दुर्घटनाको दुखाइ वा घाउ हुँदा भने चिसो पट्टीले लाभ गर्छ।
नसा च्यापिँदा दुखेको भागबाट कहिल्यै पनि नसुत्ने। सेक्नलाई नदुखेको भागबाट कोल्टो सुत्ने। नदुखेके खुट्टा सिधा राख्ने। दुखेको भागको खुट्टा कम्मर सम्म खुम्च्याएर राख्ने। दुखेको हातलाई अगाडि राख्ने र रबर व्यागले सेक्दै सुत्ने। ताप धेरै तातो हुनु हँुदैन। रबर व्यागलाई कपडाले बेरेर मन्द आँचमा सेक्ने।
ढाड, पाता, काँध र कम्मर दुखाई हुँदा पनि दुखेको भागबाट नसुत्ने। दुखेको भागबाट सुतेमा नशा झन् च्यापिन्छ। र, दुखाई बढ्दै जान्छ।

यो समस्या साधारण भएसम्म विहार मिलाएर ठिक गर्न सकिन्छ तर चर्को समस्या छ भने विज्ञ वा डाक्टरलाई देखाउने। तर ध्यान दिनु पर्ने कुरा, जुनसुकै समस्या हामी आफ्नै कारणले आउँछ। त्यसैले समाधान पनि हामी आफैसँग हुन्छ। डाक्टर वा अरूले हामीलाई सल्लाह मात्र दिने हो आफ्नो लागि आफैले गर्नु पर्छ। उपचार अरूले होइन शरीर आफैंले गर्छ। त्यसका लागि शरीरको भाषा र शरीलाई बुझ्नु पर्छ। आफू स्वस्थ रहने जिम्मेवारी आफैले नलिएसम्म हामी अरूको भरमा स्वस्थ रहन सक्दैनौं। भाइबहिनी हो, हामी सधै आफैंप्रति सचेत र संयम हुनु पर्छ। त्यसैले सदा उचित आहार, विहार र विचार गरौं, ढाड सिधा खुकुलो राखौं। स्वस्थ रहौं।

प्रकाशित: २१ असार २०७६ ०२:५६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App