गन्तव्य

लुकेको गाउँ

शनिबार, २१ असार २०७६, ०८ : २० अमृत भादगाउँले

हामीले ‘फोक्सुन्डो काव्ययात्रा’को योजना बनाउँदा बोन बुद्धिष्ट महासंघका महासचिव गेसे लोटोइ छोगलेकसँग पनि सल्लाह गरेका थियौं। उनले फोक्सुन्डो ताल किनारको ‘थासुङ छोलिङ गुम्बा र पुग्मो गाउँको नाम्ग्याल लाखाङ गुम्बा घुम्न नछुटाउनु है’ भनेका थिए।

असार १२ गते फोक्सुन्डो पुगेका हामीले त्यहाँका ताल, गुम्बा, माने र चैत्यको दर्शन ग¥यौं। हाम्रो समूहमा १५ जना थियौं। ताल किनारमा एक रात बसेर फर्कने दिन हामी तीन भाइ गुरिल्ला (सुरेन्द्र राना), चन्द्र काफ्ले र म तापिरिचा माविको साहित्यिक कार्यक्रमबाट छुट्टिएर पुग्मोतिर सोझियौं।  
हामीलाई सहयोग गर्न तापिरिचा माविका शिक्षक एवं पुग्मो गाउँका स्थानीय निमा ग्याल्छेन बैजी साथमै थिए। तापिरिचाका संस्थापक एवं शिक्षासेवी मित्र सेम्दुक लामाले आफ्नो गाउँ घुमाउन सहज वातारण मिलाइदिए।

कागमारा भञ्ज्याङ छिचोलेर जुम्ला निस्कने पदयात्रीहरू पुग्मो गाउँमा बस्छन्। यहाँको सौन्दर्यमा रमाउँछन्। तर, फोक्सुन्डो ताल पदयात्रा गर्ने अधिकांश पर्यटक पुग्मो गाउँ नदेखी फर्कन्छन्। यहाँ एक रात बसेर आनन्दको सास फेर्न सकिन्छ जहाँ गाउँलेको मायाले निथ्रुक्कै रुझाउँछ।  

‘सेम्दुक सरको पहलमा तापिरिचा स्कुल नखुलेको भए यतिबेला म गाउँमै हलो जोतिरहेको हुन्थें होला’, निमाले भने। तापिरिचामा आवासीय सुविधासहित पढाइ हुन्छ। त्यहीँ पढेका निमा त्यहीँ शिक्षक भएका छन् अहिले। शिक्षाले अरू धेरैको जीवन बदलिएको छ।  
फोक्सुन्डो पदमार्गको सुम्दुवाबाट देब्रेपट्टि ४.३ किमि दूरी हिँडेर डेढ घन्टामा पुग्मो गाउँ पुग्यौं हामी। कागमारा खोला किनारमा शान्त गाउँ। झुरुप्प बस्ती। ३५ घर एकै ठाउँमा। काठ, ढुंगा र माटोबाट बनेका घरहरू।  

गाउँमा भोटे समुदायको बसोबास छ। खेतीपाती र पशुपालनमा निर्भर छन् उनीहरू। उनीहरू चौंरी, भेडा र बाख्रा पाल्छन्। आलु, फापर, गहुँ जस्ता खाद्यान्न र तरकारी उत्पादन गर्छन्।   गोरेटामा चैत्यहरू। बस्ती छेउमा गुम्बा। पुग्मो (३,२०० मिटर) का हरेक घरको छतमा बोन झन्डा फर्फराईरहेको। गाउँले सबै बोन धर्म मान्छन्। बोन धर्मका प्रवर्तक तोन्पा शेन्राव मिवो हुन्। बोन धर्म सुरु भएको १८ हजार ३६ वर्ष भयो।  

अरू बौद्धमार्गी ‘ओम मणि पद्मे हुँ’ जप्छन् भने बोम्पोहरू ‘ओम मा ट्रि मु ये सा ले दु’ भन्दै माने घुमाउँछन्। धरै गुम्बा, चैत्य र बोम्पोहरूको बसोबास भएकाले डोल्पालाई ‘ल्यान्ड अफ बोन’ पनि भनिन्छ। हामी त्यहाँको नाम्ग्याल लाखाङ गुुम्बामा पुग्यौं। पन्ध्रौं शताब्दीमा टेतोन छेवाङ छुल्ठिमले गुम्बा बनाएका रहेछन्। पहिला त्यहाँ भूमि पूजा गर्ने स्यानो मन्दिर थियो रे, त्यसैलाई ठूलो गुम्बाको रूप दिइएको। गुम्बामा शेन्राव नामपार ग्याल्बा, त्रिकाल बुद्धका मूर्तिहरू, माछोग सिपे ग्याल्मोका मूर्तिका साथै पुराना थाङका र ठूलो माने पनि छ।

पुग्मोमा एउटा मात्र होटल छ। हामीलाई सेम्दुक सरको घरमा खानाको व्यवस्था गरिएको थियो। घाममा बसेर खायौं हामीले। त्यहीबेला से–फोक्सुन्डो गाउँपालिका–९ का वडाध्यक्ष लार्के लामा आइपुगे। उनले खादा र मिठो बोलीले हाम्रो स्वागत गरे, ‘लुकेको गाउँमा आइपुग्नु भएकोमा धन्यवाद !’

गाउँबाट कागमारा बेस क्याम्प पुग्न ५ घन्टा लाग्दो रहेछ। लामाका अनुसार गाउँभन्दा माथि काञ्जिरोवा हिमालको फेदीमा चार वटा आकर्षक ताल छन्। छो–ङोन्पो (नीलो ताल), छो–कारपो (सेतो ताल), छो–नाक्पो (कालो ताल) र छो–लुगाल (हरियो ताल)। उनको वर्णन सुन्दा ताल घुम्न मन लाग्यो। गाउँबाट ३ घन्टा दूरीका कुनासा र खरक छाङ पाटनमा बर्सेनि किरा (यार्चागुन्बु) टिप्नेहरूको मेला लाग्छ। कुनासामा भदौ पूर्णिमामा धार्मिक मेला लाग्छ। त्यहाँ लामाछुमिक तीर्थस्थल छ।   

कागमारा भञ्ज्याङ छिचोलेर जुम्ला निस्कने पदयात्रीहरू पुग्मो गाउँमा बास बस्न पुग्छन्। यहाँको सौन्दर्यमा रमाउँछन्। तर, फोक्सुन्डो ताल पदयात्रा गर्ने अधिकांश पर्यटक पुग्मो गाउँ नदेखि फर्कन्छन्। यहाँ एक रात बसेर आनन्दको सास फेर्न सकिन्छ। यहाँका गाउँलेको मायाले निथ्रुक्कै बनाउँछ। पुग्मो गाउँमा एक रात बस्नै पर्ने रहेछ, हामीसँग समय थिएन। साथीहरूलाई भेटाउनु थियो। त्यसैले गाउँमा तीन घन्टा बिताएर फर्किनु प¥यो। यतिबेला पनि पुग्मोतिरै अल्झिएको छ यो मन। पुग्मो गाउँ घुम्न प्रेरित गरेकामा धन्यवाद छोगलेकजी ! 

पर्यटकको पर्खाइमा
लार्के लामा
वडाध्यक्ष, से–फोक्सुन्डो गाउँपालिका

हामी गाउँको पूर्वाधार विकासमा जुटेका छौं। गाउँसम्म मोटर बाटो ल्याउने तयारीमा छौं। गाउँलाई पर्यटकीय गन्तव्य बनाउन चाहन्छौं। पर्यटनले समृद्धिको ढोका खोल्ने छ। हाम्रा सुन्दर सम्पदाहरूको प्रचार गर्न हामीलाई नेपाल पर्यटन बोर्ड, संघीय सरकार र प्रदेश सरकारले पहल गर्नु पर्छ।

सरकारको दायित्व
गेसे लोटोइ छोगलेक
महासचिव, बोन बुद्धिष्ट महासंघ

डोल्पाका प्राचीन गुम्बा र मानेहरूको संरक्षण स्थानीय गाउँले र लामाहरूले गर्दै आएका छन्। हाम्रा कतिपय सम्पदा जीर्ण बनिसकेका छन्। तिनको जीर्णोद्धार गर्न ठूलै रकम लाग्छ। नेपालकै सम्पदा मानिएका बोन गुम्बाहरूको जीर्णोद्धारका लागि सरकारले ठूलै बजेट छुट्टयाएर संरक्षण अभियान चलाउनु पर्दछ।






यसमा तपाईको मत

अन्य समाचार

इन्स्टाग्रामले अब फोटोमा आएको लाइक संख्यालाई लुकाउने

इन्स्टाग्रामले अब फोटोमा आएको लाइक संख्यालाई लुकाउने

यस फिचर हालका लागि ७ वटा देशमा लागू गरिएको छ ! ...

“एन्ड्रोइडको विकल्प होइन होङमेङ्ग” - हुवावे

“एन्ड्रोइडको विकल्प होइन होङमेङ्ग” - हुवावे

एन्ड्रोइडको विकल्प मानिएको होङमेङ्ग स्मार्टफोनको लागि बनेको अपरेटिंग सिस्टम नै होइन ! ...

सर्टिफिकेट अफ ओरिजिन अब अनलाईनबाटै

सर्टिफिकेट अफ ओरिजिन अब अनलाईनबाटै

नेपाल चेम्बर अफ कमर्शले जारी गर्ने उत्पत्तिको प्रमाणपत्र (सर्टिफिकेट अफ ओरिजिन ) अब अनलाईन प्रणालीबाटै जारी हुने भएको छ ।

इन्डस्ट्रियल थर्मल प्रिन्टर बजारमा

इन्डस्ट्रियल थर्मल प्रिन्टर बजारमा

नेपालका लागि साटो कर्पोरेसन जापानको अधिकृत बिक्रेता बार कोड नेपाल इंकले सिएल फोर एनएक्स सिरिजको इन्डस्ट्रियल थर्मल प्रिन्टर नेपाली बजारमा...

अजोडको सभा सम्पन्न

अजोडको सभा सम्पन्न

निर्जीवन बिमा कम्पनी अजोड इन्स्योरेन्सको प्रथम वार्षिक साधारणसभा सम्पन्न भएको छ । ...

व्यावसायिक परामर्श सेवासम्बन्धी सम्झौता

व्यावसायिक परामर्श सेवासम्बन्धी सम्झौता

सांग्रिला डेभलपमेन्ट बैंक र उपाय सर्भिसेजबीच व्यावसायिक परामर्श सेवासम्बन्धी सम्झौता भएको छ । ...

एनसिसी बैंकको सहयोग

एनसिसी बैंकको सहयोग

एनसीसी बैंकले भक्तपुरस्थित सानोठिमी प्राविधिक शिक्षालयलाई ५ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ । ...

काठमाडौं मेरिएट होटल सञ्चालन

काठमाडौं मेरिएट होटल सञ्चालन

मेरिएट होटलको फ्ल्यागसिप ब्रान्डको डेब्युसँगै राजधानीमा ‘काठमाडौं मेरिएट होटल’ सञ्चालनमा आएको छ । ...

Ncell Footer Ad