८ वैशाख २०८१ शनिबार
समाज

बजेट सिध्याउने असारे विकासले जनता आजित

सडकमा खन्याइएको गिटी फाल्दै घोराहीका स्थानीय। तस्बिर:देवेन्द्र/नागरिक

दाङ - आर्थिक वर्षको अन्त्यमा हुने ‘असारे विकास’ को पुरानो प्रचलन तोड्न हरेक वर्ष सरकारी योजना बन्छन्। बजेट सिध्याउनका लागि गरिने यस्ता विकासे गतिविधिमा ‘आर्थिक लाभ’ प्राप्तिको नियत छँदैछ, गुणस्तर पनि कमजोर हुने गर्छ। यस्तो पृष्ठभूमिमा संघीयदेखि स्थानीय तहसम्मका सरकारले यस आर्थिक वर्षमा पनि असारे विकासको पुरानो रोग निको पार्ने प्रतिबद्धता व्यक्त गरेका थिए तर व्यवहारमा त्यो अनुभूत गर्न पाइएन।

दाङको घोराही उपमहानगरपालिकाले पनि यसवर्ष असारे विकासका नाममा हुने चटारोे र अनियमितता शृंखला तोड्न विशेष रणनीति बनाउने भन्दै खुबै प्रचारबाजी गरेको थियो। तर आफ्नै प्रतिबद्धताविपरीत उपमहानगरपालिकाले अहिले घोराही बजार क्षेत्रमा मात्रै लाखौंको बजेट पोखिरहेको छ। घोराहीमा हतारमा विकास बजेट भुइँमा खन्याइएको मात्र छैन, मर्मतका नाममा चल्तीका सडकमा ‘धराप’समेत थापिएको छ। घोराही बजार क्षेत्रका सडक मर्मत गर्ने भन्दै सडकमा गिटी मात्रै खन्याइएको छ, जुन सवारीचालकका लागि धराप बनिरहेको छ। मूल सडकमा थापिएको यस्तो धरापमा परेर दिनहुँ चार–पाँच सवारी दुर्घटना भइरहेका छन्।

‘यो कस्तो विकास हो ? विकासका नाममा घोराही बजारका जनताका लागि पासो थापिएको छ,’ घोराही उपमहानगरपालिका–१५ का वडाध्यक्ष रमेशकुमार पाण्डेले भने, ‘दिनहुँ चार–पाँच दुर्घटना यिनै गिटीका कारण भइरहेका छन्, उपमहानगरपालिकाका जनताको जीवनको कुनै मूल्य छैन जस्तो लागिरहेको छ।’

उपमहानगरले बजार क्षेत्रमा मर्मतका नाममा सडकमा जथाभावी गिटी ओछ्याएको सो योजनाबारे वडाध्यक्ष पाण्डेले सुरुमा थाहै पाएनन्। नियमानुुसार कुनै पनि वडाको विकासे कामका लागि सम्बन्धित वडाध्यक्षको सहमति वा सिफारिसमा अनिवार्य हुनेगर्छ। ‘मेरो वडामा काम भयो तर मलाई थाहै भएन,’ पाण्डेले भने, ‘अहिले यहाँका जनता के विकास गरेको यस्तो भनेर मलाई गाली गर्छन्, मैले के जवाफ दिने ?’

घोराही उपमहानगरपालिकाका अनुसार सडक बोर्ड नेपाल र उपमहानगरपालिकाको संयुक्त लगानीमा यो काम भएको हो। त्यसरी सडकमा गिटी छर्नुको कारणबारे जिज्ञासा राख्दा उपमहानगरपालिकाका इन्जिनियर रामधन श्रेष्ठले भने, ‘पहिले भएको पिच नउक्कियोस् भनेर त्यही पिचमाथि मर्मत गरिएको हो।’ घोराही बजार क्षेत्रको ६ किलोमिटर सडकमा पासो हुने गरी बिछ्याइएको गिटीमा ७२ लाख रुपैयाँ बजेट खन्याइएको छ। वेस्टर्न डेभलपमेन्ट कन्सट्रक्सनले ठेक्कामा लिएको गिटी बिछ्याउने सो काम अहिलेसम्म ५० प्रतिसत सकिएको श्रेष्ठले बताए।

गत आर्थिक वर्षको अन्त्यमा पनि घोराही क्षेत्रका यिनै सडकमा यसैगरि गिटी छरिएको थियो। यी सडकहरू चल्तीका र राम्रा भए पनि यिनै सडकमा पटक–पटक गिटी बिछ्याइनुलाई आर्थिक वर्षको अन्त्यमा बजेट सक्ने हतारोका रूपमा स्थानीयले बुझेका छन्। ‘सडक राम्रै थिए, तैपनि त्यसलाई थप बलियो बनाउनका लागि समयमै योजनाबद्ध तरिकाले काम गरिएको भए राम्रो हुने थियो,’ स्थानीय रमेश केसीले भने, ‘तर मर्मतको नाममा सडकमा पासो थाप्ने काम भएको छ, मोटरसाइकल चलाउनै समस्या भएको छ, गिटीमा चिप्लिएर धेरै मान्छे घाइते भइसके। ठुलै दुर्घटना हुने सम्भावना उत्तिकै छ।’

पुरानो पिचलाई मर्मतका नाममा गरिएको विकास हेर्दा उदेकलाग्दो छ। सडकमा अलकत्रा नहाली गिटीमात्रै छरियो। सडकमा छरिएको गिटीका कारण सो सडकमा साना सवारीसाधन, मोटरससाइकल, स्कुटर एवं साइकल चलाउनु निकै जोखिमपूर्ण बनेको छ। यो कामलाई असारे विकासको चटारोमा बजेट सिध्याउनेबाहेक अरू कुनै पनि कोणबाट हेर्न नसकिने वडाध्यक्ष पाण्डेको भनाइ छ।

उपमहानगरपालिकाले गरेको यस्तो टालटुले यो विकासको विरोधमा स्थानीय खरो रूपमा उत्रिएका छन्। केही टोलवासीले आफ्नो टोलमा छरिएको गिटी फालिदिएका छन्। घोराहीको बैंक रोडमा खन्याइएको गिटी स्थानीयले फालेका हुन्। ‘भइरहेको राम्रो पिचमा सामान्य खाल्डामात्रै थिए, हामीले सोच्यौं खाल्डा पुर्न थालियो होला,’ स्थानीय तारा अधिकारीले भने, ‘पछि मटितेल छर्किएर गिटी छरियो, राम्रो बन्ला भनेको सडक झनै खतरनाक बन्यो, अनि गिटी उठाएर फालेका हौं।’

जिल्ला ट्राफिक प्रहरी प्रमुख, प्रहरी निरीक्षक मदन कुँवरका अनुसार गिटी छरेको सडकमा दुर्घटना बढेको छ। ‘मैले अहिलेसम्म यसरी पिचसडकमा गिटी छरेर मर्मत गरेकोे देखेकै थिएन, यो त ग्राभेल सडकभन्दा पनि खतरनाक बन्यो,’ उनले भने, ‘अन्तर्राष्ट्रिय मापदण्डअनुसार यस्ता सडकमा सवारीसाधन सञ्चालन गर्नै पाइँदैन, तर हाम्रो यहाँ जे गरे पनि हुने जस्तो भा’छ।’

यता उपमहानगरपालिकाले पनि ठेक्का लिएको निर्माण कम्पनीले राम्रो काम नगरेको बताएको छ। उपमहानगरपालिकाका इन्जिनियर श्रेष्ठले भने, ‘काम खासै राम्रो हुन सकेको छैन, खाल्डाखुल्डी नपुरिँदासम्म बजेट फछ्र्योट हुँदैन भनेर मैले भनिसकेको छु।’

प्रकाशित: २१ असार २०७६ ०१:२३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App