८ वैशाख २०८१ शनिबार
समाज

कुलोको जग्गा हडप्ने टाइगर प्यालेसविरुद्ध निर्माण रोक्का आदेश

बुटवल - सरकारी जग्गा मिचेर बनाइएको तिलोत्तमा नगरपालिका–१५ कोटिहवास्थित पाँचतारे होटल टाइगर प्यालेस रिर्सोटविरुद्ध जिल्ला अदालत रूपन्देहीले शुक्रबार अन्तरिमकालीन रोक्का आदेश जारी गरेको छ। सार्वजनिक कुलो तथमचेर बनाइएको टाइगर प्यालेस रिर्सोटविरुद्ध रूपन्देही जिल्ला अदालतमा बिहीबार मुद्दा दर्ता भएको थियो। लुम्बिनी नलकुप जल उपभोक्ता समिति रूपन्देहीका अध्यक्ष थानेश्वर घिमिरेले भैलुभुजको नहर अतिक्रमण गरेर होटल खडा गरेको भन्दै सरकारी जग्गा अतिक्रमणसम्बन्धी मुद्दा दर्ता गरेका थिए।

मुद्दाको शुक्रबार प्रारम्भिक सुनुवाइ गर्दै अदालतका एक नम्बर इजलासका न्यायाधीश नरिश्वर भण्डारीले अन्तरिमकालीन आदेश जारी गरेका हुन्। भैलुभुजको १० कठ्ठा १८ धुर सरकारी जग्गा अतिक्रमण गरेको ठहर गर्दै मुद्दाको अन्तिम टुंगो नलागेसम्म सार्वजनिक तथा सरकारी कित्ताका जग्गा र तीसँग जोडिएका अन्य कित्तामा समेत संरचना निर्माण, बेचबिखन तथा दृष्टिबन्धकलगायत कुनै पनि काम नगर्नू–नगराउनू भन्ने आदेशमा उल्लेख छ। १२०, १४८, १५२, १९० र ७३ नम्बर कित्ताको जग्गा भैरहवा–लुम्बिनी भूमिगत जल योजनाको नाममा रहेको सरकारी जग्गा हो, जुन जग्गामा पुरानो कुलो मासेर होटलका संरचना बनेका छन्।

स्थानीयले नियमित पूजा गर्दै आएको सार्वजनिक मन्दिरसमेत होटलको कम्पाउन्डभित्र पारिएको छ।

अदालतको अन्तरिमकालीन आदेशसँगै होटलले अब मुद्दाको टुंगो नलागेसम्म कुनै पनि सम्पत्ति बेचबिखन, दृष्टिबन्धक तथा निर्माणका काम गर्न पाउने छैन। लुम्बिनी नलकुप जल उपभोक्ता समिति रूपन्देहीका तर्फबाट वरिष्ठ अधिवक्ता मनोज दवाडी र लेखनाथ पोख्रेलले बहस गरेका थिए। अदालतले पाँचतारे होटल टाइगर प्यालेसलाई बाटोको म्यादबाहेक २१ दिने सूचना जारी गर्दै अदालतमा हाजिर हुन पत्र पठाइसकेको छ।

टाइगर प्यालेसले भैलुभुज नहरसहित अन्य सार्वजनिक नहर तथा कुलोको १५ कठ्ठाभन्दा बढी सार्वजनिक जग्गा मिचेको स्थानीयले बताएका छन्। उपभोक्ता समितिका सदस्य तथा स्थानीय किसान जोगबहादुर पाइजाले होटल निर्माणकै चरणमा स्थानीयले नहर कुलो नमास्न आग्रह गरे पनि होटल निर्माण पक्षले आफूहरूका कुरा नसुनेको बताए। होटलले भैलुभुज नहरसहित तिनाउको पानी लगाउने सार्वजनिक कुलोसमेत मिचेको पाइजाले बताए। लुम्बिनी नलकुप जल उपभोक्ता समितिका अध्यक्ष थानेश्वर घिमिरेले पुरानो नहर अतिक्रमणमा परेपछि होटलदेखि पश्चिम–दक्षिण क्षेत्रमा सिँचाइका लागि समस्या भएको बताए।

त्यसो त टाइगर प्यालेसले आफ्नो कम्पाउन्डभित्र पर्ने कुलोको सट्टा कम्पाउन्डबाहिर पक्की कुलो निर्माण गरिदिएको छ। सार्वजनिक जग्गा हडपेको होटलले निर्माण गरिदिएको सो कुलोको जग्गा भने होटलकै नाममा रहेको बताइएको छ। होटलको फोहोर पानी फाल्न उपयुक्त निकास हुनेगरी पायक पर्ने स्थानबाट कुलो घुमाएर त्यसलाई पक्की गरिएको छ। स्थानीयले नियमित पूजा गर्दै आएको सार्वजनिक मन्दिरसमेत होटलको कम्पाउन्डभित्र पारिएको छ।

होटल निर्माणकै चरणदेखि पटक–पटक जिल्ला प्रशासन र नगरपालिकामा यसबारे निवेदन दिए पनि स्थानीय सरकार र प्रशासनले कुनै सुनुवाइ नगरेपछि बाध्य भएर अदालत धाउनुपरेको समितिका अध्यक्ष घिमिरेले बताए। घिमिरेका अनुसार भैलुभुजका थुप्रै नहरहरू अतिक्रमणमा परेको भन्दै समितिले अन्यत्रको अतिक्रमणविरुद्ध पनि ठोस कदम चाल्ने तयारी गरिरहेको छ। पाँचतारेस्तरको टाइगर प्यालेस रिर्सोट हङकङ बेसको अस्ट्रेलियन स्टक एक्सचेन्जमा सूचीकृत कम्पनी सिल्भर हेरिटेज ग्रुपद्वारा सञ्चालित होटल हो।

प्रकाशित: २१ असार २०७६ ०१:१४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App