coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
राजनीति

सिद्धिचरण नगरपालिकाको भवन निर्माणमा विवाद

ओखलढुंगा– ओखलढुंगाको एक मात्र नगरपालिका सिद्धिचरण नगरपालिकाको भवन निर्माणका विषयमा विवाद सुरु भएको छ। अहिले संचालन भईरहेको स्थानमै नगरपालिकाको भवन निर्माण गर्ने वा नगरपालिकाको आफ्नै जग्गामा भवन बनाउने भन्ने विषयमा बिवाद सुरु भएको हो।

हाल सिद्धिचरण नगरपालिका साविकको ओखलढुंगा गाविसको भवन र सोही स्थानमा बनाईएका अस्थायी संरचनाबाट सञ्चालन भईरहेको छ। नगरपालिकाको भवन निर्माणका लागि निःशुल्क प्राप्त भएको जग्गा वाड नं.११ मा पर्दछ। नगरपालिकालाई दिएको जग्गा प्रयोग विहिन भएको भन्दै सिद्धिचरण नगरपालिका–११ का स्थानीय आन्दोलित भएका छन्। भवन निर्माणका लागि स्थानीयबाट जग्गा लिएर नगरपालिकाले बेबारिसे अवस्थामा छाडेको भन्दै जग्गा दाता सहितका स्थानीयले आन्दोलन सुरु गरेका हुन्।

भवन बनाउने प्रयोजनका लागि निःशुल्क दिईएको जमिनमा भवन बनाउने काम थाल्न दवाव स्वरुप आन्दोलन गर्नुपरेको आन्दोलनका अगुवा जनक कुमार श्रेष्ठले बताए। ‘भवन निर्माणका लागि भनेर जग्गा नगरपालिकाको नाममा पास गराईयो अहिले सुन्दैछौं त्यो जमिनमा जान नगरपालिका तयार छैन’ उनले भने ‘सर्वसाधारणको गरिखाने वा बेचिखाने जमिन सरकारले लिने अनि प्रयोग विहिन बनाउने काम राम्रो होईन त्यहाँ नगरपालिका सार्नुपर्छ।’ नगरपालिकाले जग्गा दाताको चाहाना नबुझेको उनको तर्क थियो।

२०७१ कात्तिक ४ गते बसेको तत्कालिन सांसद, प्रमुख जिल्ला अधिकारी र दलीय प्रतिनिधि सहितको आमभेलाबाट कार्यदल गठनगरि नगरपालिकाको नाममा जग्गा आव्हान गर्ने निर्णय गरिएको थियो। सोही निर्णय अनुरुप प्रकाशित सूचना अनुसार साविका ओखलढुंगा गाविस वाड नं. ५ हाल सिद्धिचरण नगरपालिका–११ का मंगलकृष्ण श्रेष्ठ सहितका स्थानीयले ६ रोपनी जग्गा नगरपालिकाको नामाम रजिष्ट्रेशन पास गरेर दिएका थिए। नगरपालिकाको नाम पास गरिएको जग्गा अहिले प्रयोग बिहिन छ।

जग्गा दाता सहितका स्थानीयले भवनको लागि व्यवस्था गरिएको जग्गामा भवन निर्माण अघि बढाउन पटक पटक माग गरेका थिए। नगरपालिकाले चासो नदिए पछी विहिबार प्रदेश सांसद अम्बिर बाबु गुरुङ्गलाई एक सय ३३ जना स्थानीयले हस्ताक्षर गरी ज्ञापन पत्र बुझाएका छन्। आन्दोलित स्थानीयले बुझाएको ज्ञापन पत्र बुझ्दै प्रदेश सांसद गुरुङले बिवाद नबढाउन सिद्धिचरण नगरपालिकाका मेयर मोहन कुमार श्रेष्ठलाई सुझाव दिएका छन्।

स्थानीयको माग र नगरपालिकाको आवश्यकताका विषयमा दुवै पक्षले छलफल गरेर बिवाद समाधान गर्न सांसद गुरुङले सुझाव दिएका हुन्। ‘स्थानीय सरकारको प्रमुख भएको हैसियतले यतिका साना–तिना कुरा मेयर, उपमेयरले मिलाउनुस् भएन भने हामी सांसदहरु सहित बसेर छलफल गरौंला’ सांसद गुरुङले भने।

सिद्धिचरण नगरपालिकाका मेयर मोहन कुमार श्रेष्ठले ११ नम्बर वडाका स्थानीयको आन्दोलनको औचित्य नभएको बताएका छन्। सांसदलाई ज्ञापनपत्र बुझाउन आएका स्थानीयलाई सम्बोधन गर्दै उनले हाल सञ्चालनमा भईरहेको स्थानबाट नगरपालिका नसार्ने अडान राख्दै आन्दोलनको औचित्य नभएको प्रतिक्रिया दिएका हुन्। ‘आज तपाईहरुले नगरपालिका माग्नु भो, भोली अर्कोले घर छेउमा माग्ला त्यसैले छलफल गरौं, बहस गरौं र विषय टुंगो लगाउ।’ उनले भने ‘यस्तो हस्ताक्षर संकलन र ज्ञापनपत्र पेश गर्दा द्वन्द बढ्न सक्छ।’ द्वन्द बढाउने खेलमा नलाग्न नगरबासीलाई मेयर श्रेष्ठले आग्रह गरेका छन्।

नगरपालिकाको भवन सार्ने तथा निर्माण गर्ने विषयमा लामो समयदेखी वाड नं. ११ र १२ का स्थानीयहरु बीच असमझादारी बढेको थियो । ११ नम्बरका स्थानीयले आफ्नो वडामा निःशुल्क दिईएको जग्गामा नगरपालिका सार्न माग गरि रहेका छन् भने १२ नम्बरका स्थानीयले नगरपालिका अहिलेको ठाँउबाट सार्न नहुने अडान राखिरहेका छन्।

प्रकाशित: २० असार २०७६ ०९:५१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App