८ वैशाख २०८१ शनिबार
अन्य

अब विद्यालय समयमा विद्यार्थीलाई तपाईँ भनिने

सिकाइ सुधारका उपाय खोज्दै भेला भएका संस्थागत विद्यालयका शिक्षक तथा अभिभावक। तस्बिरःखगेन्द्र/नागरिक

ताप्लेजुङ– ताप्लेजुङका ३ वटा संस्थागत विद्यालयले अब विद्यालय अवधिभर विद्यार्थीलाई ‘तपाईं’ भनेर सम्बोधन गर्ने भएका छन्। स–साना बालबालिकासमेतमा आदरभाव सिर्जित गर्न यस्तो निर्णय गरिएको लिटलबुद्ध इंलिस बोर्डिङ स्कुलका प्रिन्सिपल युवराज गिरीले जानकारी दिए।

गुणस्तर सुधार र शैक्षिक क्षेत्रको अभिवृद्धिका लागि एकै ठाउँ भेला भएका लिटलबुद्ध, ताप्लेजुङ बुद्ध र ताप्लेजुङ सिद्धार्थ बोर्डिङ स्कुलले ४ दिने गोलमेच गर्दै शैक्षिक सुधारका लागि शिक्षकको व्यवहार परिवर्तनदेखि शैक्षिक कार्यतालिकाको सफल कार्यान्वयनका लागि साझा धारणा बनाएका छन्। ‘गुणस्तरीय शिक्षा केन्द्रित पठनसीप वृद्धिका लागि योजनासहित उपस्थित हुने निचोडमा पुगेका हौं’,ताप्लेजुङ बुद्ध बोर्डिङ स्कुलका प्रिन्सिपल इन्द्रकुमार गुरुङले भने। उनले सिकाइ केन्द्रित प्रकृयाका लागि शिक्षक, विद्यार्थी, अभिभावक एकै ठाउँमा भेला भएर बनाइएको योजना पठनसीप वृद्धिका लागि कोसेढुङ्गा बन्ने विश्वास लिए।

ताप्लेजुङ सिद्धार्थ बोर्डिङ स्कुलका प्रिन्सिपल देवराज गुरुङले शिक्षामा गुणस्तरीयताको कमी हुन नदिन शिक्षाका सरोकारवाला गोलमेचमा भेला भएको बताए। उनले सिकाइका समस्या र सिकाइ अभिवृद्धिका लागि शिक्षाका सरोकारवाला एकैठाउँमा भेला हुँदा आगामी योजना मात्र होइन, विगतमा देखिएका समस्या सुधारका लागि पनि कार्ययोजना तयार हुने आफूले बुझेको बताए। तीन वटै विद्यालयले शैक्षिक गुणस्तर सुधार र पठनसीप विकासका लागि अभिभावकको प्रधानाध्यापकको दायित्व, जिम्मेवारी र विद्यार्थीको अनुशासनलाई प्रधान ठानेका छन्। तीनवटै विद्यालयका गरी ८२ शिक्षक र माध्यमिक तह सञ्चालन रहेको विद्यालयका कक्षा १० मा अध्यनरत विद्यार्थी सहभागी गराएका संस्थागत विद्यालयले सरकारी निकाय शिक्षा तालिम केन्द्र भद्रपुर झापाका प्रशिक्षक हरिभक्त दाहालबाट पठनसीप वृद्धि र गुणस्तरीय सिकाइ केन्द्रित अनुशिक्षण पनि लिएका छन्।

शिक्षा विकास तथा तथा समन्वय एकाइ ताप्लेजुङका प्रमुख भीम मिश्रले सिकाइस्तर सुधार्न तथा बालमैत्री केन्द्रित पढाइका लागि अभिभावकको अभिरुचि महत्त्वपूर्ण हुने सुझाए। उनले विद्यार्थीले अनुशासन पालना गर्ने, शिक्षकले पठनसीप बुझेर सोहीअनुसार अध्ययन गराउने, प्रधानाध्यापकले व्यवस्थापकीय पक्षको दायित्व निर्वाह गर्ने गर्ने हो भने सिकाइस्तरमा आमूल सुधार हुने विश्वास लिए। लिटलबुद्धका प्रिन्सिपल गिरीले आधारभूत तहका विद्यार्थीलाई पनि तपाईं भनेर सम्बोधन गर्न थाल्दा उसमा मर्यादा र आचरणमा सुधार केन्द्रित बोलीको विकास हुने भएकोले यस्तो निचोडमा पुगिएको बताए।

प्रकाशित: २० असार २०७६ ०९:०९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App