८ वैशाख २०८१ शनिबार
समाज

जुवातास रोक्न प्रहरी सक्रिय

जुम्ला–जिल्ला प्रहरी कार्यालय जुम्लाले  यो हप्ता जुवा खेल्ने १६ जनालाई जुवाखालबाटै नियन्त्रणमा लिएको छ। ठूलो धनरासीमा जुवातास खेलिरहेको सूचना पाएपछि छापा प्रहरीले जुवाडेलाई पक्राउ गरेको हो। पटक पटक प्रहरीको छापाले जुवाडे नियन्त्रणमा पर्न थालेपछि जुवा खेल्ने क्रम सदरमुकाम कमी आएको छ। प्रहरीले जुवाडेलाई नियन्त्रणमा लिएर तीन घण्टा प्रशिक्षण दिएर आगामी दिनमा नखेल्ने बाचासहित छोडेको छ।

 उनीहरुले आगामी दिनमा जुवा खेलेको भेटेमा जस्तो सुकै कार्वाही भोग्न तयार हुने बताएका छन्। अहिले जुवा खेलाउने होटल र घरमा प्रहरीले दिनहु नियमन गर्दै आइरहेको प्रहरी नायव उपरीक्षक गुरु विष्णु काफ्लेले जानकारी दिए। उनले भने, ‘दैनिक मौलाउँदै गएको जुवातास रोक्न जिल्ला प्रहरी कार्यालय जुम्ला सक्रिय बनेको छ’। जुवा रोक्न जनताको पनि सहयोग उत्तिकै जरुरी देखिएको उनले जनाए।

व्यवसायिक रुपमा जुवातास खेलाउने व्यक्ति र संस्थालाई अनुसन्धान गरेर कारवाही गर्ने रणनीति प्रहरीले लिएपछि  जुवा खेल्नेको संख्यामा कमी आएको प्रहरीले जनाएको छ। जुवातासका कारण समाजमा फैलिएको विकृति रोक्न प्रहरीले जुवा खेल्ने स्थानमा छापा मार्ने, जुवा खेल्दै गरेको सूचना दिनेलाई प्रोत्साहन गर्ने, समाजमा जुवातासको कुलतवाट हुने नोक्सानीको बारेमा सचेतना प्रदान गर्ने र सुरक्षा व्यवस्था कडा गर्ने रणनीति अख्तियार गरेको छ।

 

प्रकाशित: १७ कार्तिक २०७३ ०८:२९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App