७ वैशाख २०८१ शुक्रबार
समाज

केबल टिभीकाे सिग्नल बाइपास गरेकाे अभियाेगमा तीन पक्राउ

पर्सा – केबल टिभीको सिग्नल बाइपास गरी राजश्व छली गरेको अभियोगमा स्थानीय प्रशासनले तीन व्यक्तिलाई पक्राउ गरेको छ। वीरगञ्ज महानगरपालिका–८, गहवास्थित ‘हाम्रो टिभी’को कार्यालयमा बिहीबार जिल्ला प्रशासन कार्यालय पर्सा नेतृत्वको टोलीले छापामारी आवश्यक अनुसन्धानका लागि तीनजनालाई नियन्त्रणमा लिएको हो।  

सिग्नल बाइपास गरी राजश्व छली भइरहेको सूचनाको आधारमा कारबाही गर्दा हाम्रो टिभीको कार्यालयबाट सूचनाअनुसारका प्रमाण फेला परेपछि अनुसन्धानका लागि गहवान निवासी सञ्चालक विजेन्द्रप्रसाद चौरसिया, दिनेश कहार र वीरगन्ज विर्ता निवासी युवराज भट्टराईलाई पक्राउ गरिएको पर्साका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले जानकारी दिए। 

उनले छापामारीका क्रममा विभिन्न केबल टिभीका सेन्टो बक्स, रिचार्ज कार्ड, विभिन्न बैंकको कागजात, ल्यापटप बरामद भएपछि केबुलको प्रसारणलाई बन्द गरी कार्यालयमा शिलबन्दी गरिएको बताए।

पक्राउ परेका व्यक्ति तथा बरामद सामग्रीलाई आवश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय पर्साको जिम्मा लगाइएकोे जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ। प्रहरी नियन्त्रणमा रहेका व्यक्तिमाथि अनुसन्धानपछि कुन मुद्दा चलाउन उपयुक्त हुने सोहीबमोजिम मुद्दा चलाइने प्रजिअ भट्टराईले जानकारी दिए।

हाम्रो टिभीको आडमा भइरहेको सिगनल बाइपासबाट महिनामा लाखौँ रुपैया राजश्व नेपाल सरकारले गुमाउनु परिरहेको प्रशासनले बताएको छ। जिल्ला प्रशासन कार्यालयको नेतृत्वमा भएको छापामा जिल्ला प्रहरी कार्यालय, हुलाक कार्यालय, आन्तरिक राजश्व कार्यालय, नेपाल टेलिकमगायतका कार्यालयका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो। रासस

प्रकाशित: २० असार २०७६ ०६:३८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App