coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

दूधको लागत बढ्याे, मूल्य बढेन

चितवनको खैरहनीस्थित सहकारीमा दूध संकलन गरिँदै। तस्बिर : नागरिक

चितवन – वैदेशिक रोजगारीमा पाँच वर्ष बिताएपछि खैरहनी नगरपालिका–७ मझुईका नारायणप्रसाद घिमिेर घर फर्किए। पाँच वर्ष कोरिया बस्दा गरेको आम्दानी उनले पशुपालनमा लगानी गरे। २०७१ देखि उनले व्यावसायिक पशुपालन गरिरहेका छन्। नौवटा गाईबाट पशुपालन सुरु गरेका उनको ज्वालामुखी गाईफार्ममा अहिले १७ गाई र आठ भैसी छन्।

गाईफार्ममा उनले ५० लाख रुपैयाँ लगानी गरेका छन्। व्यवसायलाई थप विस्तार गर्ने उनको सोच भए पनि आँट्न सकेका छैनन्। पशुपालनमा लागत बढ्दै जाँदा आम्दानी नबढेकामा उनले व्यवसाय विस्तार गर्न सकेका छैनन्। ‘दूधको लागत मूल्य नै प्रतिलिटर ५५ देखि ६० रुपैयाँ पर्छ,’ उनले भने, ‘अहिले सरदर ४५ रुपैयाँ प्रतिलिटर पैसा आउने गरेकोे छ।’ सरकारले दूधमा दिँदै आएको अतिरिक्त रकमसमेत कटौती भएपछि पशुपालन गर्न समस्या भएको उनी बताउँछन्।

खैरहनीकै डिलाराम सापकोटा, रमेश घिमिरे, नारायणप्रसाद जैसी पनि वैदेशिक रोजगारीबाट फर्किएर पशुपालनमा लागेका छन्। दूध बिक्री गर्दा हुने आम्दानीबाट भने नारायणप्रसाद घिमिरेजस्तै उनीहरु पनि सन्तुष्ट छैनन्। सरकारले उपलब्ध गराउँदै आएको अतिरिक्त रकम गत वर्षको जेठदेखि कटौती भएपछि पशुुपालनबाट पलायन हुनुपर्ने भन्दै उनीहरु चिन्तित छन्। व्यावसायिक पशुपालन गरेर खैरहनी नगरपालिकाको वडा नं १० को नन्दिनी दुग्ध उत्पादक सहकारी संस्थामा दूध बिक्री गर्ने अधिकांश युवा छन्।

सहकारीको क्षेत्रमा पछिल्लो पाँच वर्षमा व्यावसायिक रुपमा पशुपालन गर्ने किसानको संख्या बढे पनि लागत अनुसारको दूधको मूल्य नपाउँदा किसान मर्कामा परेको नन्दिनी सहकारीका अध्यक्ष कमलराज थपलिया बताउँछन्। पशुपालनमा अति आवश्यक दाना, चोकर, ढुटोको मूल्य वृद्धि हुँदा पनि दूधको बढ्न नसकेको उनले बताए। पछिल्लो पटक २०७३ फागुनमा करिब तीन रुपैयाँ ५० पैसा प्रतिलिटर दूधको मूल्य वृद्धि भइरहेको छ।

दुग्ध विकास संस्थानले पनि दूध संकलन गर्दा किसानलाई प्रतिलिटर तीन रुपैयाँ अतिरिक्त दिँदै आएको थियो। २०७५ जेठ देखि किसानलाई दिँदै आएको अतिरिक्त रुपैयाँ दिन बन्द गरेको थियो। पशु आहारको मूल्य हरेक वर्ष बढ्दा पनि दूधको मूल्य बढाउन सरकारले कुनै तत्परता नदेखाएको अध्यक्ष थपलिया बताउँछन्। बंैकबाट ऋण लिएर व्यवसाय सुरु गरेका किसानलाई ब्याज तिर्नसमेत समस्या हुने गरेको उनले बताए।

नन्दिनी सहकारीमा दैनिक पाँच हजार लिटर दूध संकलन हुने गर्छ। दूधको मूल्य वृद्धिका लागि केन्द्रीय सरकारसँग पटक पटक माग राख्दा पनि कुनै सुनुवाइ नभएको केन्द्रीय दुग्ध उत्पादक सहकारी संघका सदस्य बालकृष्ण उप्रेती बताउँछन्। तीन वर्ष अघिसम्म प्रतिकिलो २६ रुपैयाँ रहेको दाना अहिले ३६ रुपैयाँ पुगेको छ। एक बोराको नौ सय ५० रहेको चोकर बढेर १४ सय रुपैयाँ हुँदा पनि दूधको बढ्न सकेको छैन।

यसले दूध उत्पादन लागत मूल्य ३२ प्रतिशतसम्म बढेको उनी बताउँछन्। पशुपालनलाई प्रोत्साहन गर्न सरकारले घाँस खेती र दूध उत्पादनमा अनुदान दिनुपर्ने उनको भनाइ छ। पशुपालन व्यवसायबाट किसानलाई  पलायन हुन नदिन दूध प्रतिलिटर ५० रुपैयाँ कायम गरिनुपर्ने उनले बताए। दूधमा आत्मनिर्भर जिल्ला घोषणा गरिएको चितवनमा दैनिक करिब दुई लाख ८९ हजार लिटर दूध उत्पादन हुन्छ।

प्रकाशित: २० असार २०७६ ०३:०५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App