४ वैशाख २०८१ मंगलबार
खेल

पेरु ४४ वर्षपछि उपाधि होडमा

पोर्तो – साबिकको विजेता चिलिमाथि ३–० को सानदार जित निकाल्दै बुधबार पेरु ४४ वर्षपछि ब्राजिलमा जारी कोपा अमेरिकाको फाइलनमा प्रवेश गरेको छ। समूह ‘ए’ मा रहेको पेरु उत्कृष्ट तेस्रो टोलीको रूपमा नकआउट चरणका लागि योग्य भएको थियो। तर पनि सेमिफाइनलमा चिलीलाई हराउँदै उपाधिका लागि ब्राजिलसँगको भेट पक्का ग¥यो। पेरुको जितमा एडिसन फ्लोरेस, योसिमार योतुन र पाओलो गुइएरोले एक÷एक गोल गरेका हुन्। अधिकांश समय साबिकको विजेता हावी भए पनि जित निकाल्न पेरु सफल भयो।

उपाधि भिडन्तलाई पक्का गरेको पेरुले आइतबार आयोजक ब्राजिलसँग प्रतिस्पर्धा गर्नेछ। खेल ब्राजिलको माराकाना स्टेडियममा हुनेछ। यस अघि समूह चरणको खेलमा ब्राजिलले पेरुलाई ५–० ले हराएको थियो। यस अघि सन् २०१५ र ०१६ मा उपाधि जितेको चिलीको ह्याट्रिक पूरा गर्नबाट वञ्चित भएको छ। यस अघि चिलिले लियोनल मेसी कप्तान रहेको अर्जेन्टिनालाई हराउँदै उपाधि उचाल्न सफल भएको थियो। अघिल्लो सिजन उपाधिका लागि भिडेका टोलीद्वय अर्जेन्टिना र चिली शनिबार तेस्रो स्थानका लागि प्रतिस्पर्धा गर्नेछन्। तेस्रो स्थानको खेल साउ पाउलोमा हुनेछ। उत्कृष्ट तेस्रो टोलीको रूपमा नकआउट चरणमा प्रवेश गरेको पेरुले अन्तिम आठको खेलमा बार्सिलोनाका अर्का स्ट्राइकर लुइस स्वारेजको टोली उरुग्वेलाई पेनाल्टी सुटआउटमा हराउँदै अन्तिम चारको यात्रा तय गरेको थियो।

अघिल्लो खेलमा जस्तै टोलीले उत्कृष्ट खेल प्रदर्शन गर्न सफल भयो। सन्तुलित खेल प्रदर्शन गर्दा जित सम्भव भयो,’ टोलीका लागि दोस्रो गोल गरेका योतुनले भने, ‘उपाधि भिडन्त ब्राजिलसँग निकै प्रतिस्पर्धात्मक हुनेछ। बलियो ब्राजिलसँग कठिन त अवस्य नै हुन्छ। मेहनतका साथ उत्कृष्ट खेल प्रदर्शन गर्दै उपाधि जित्ने लक्ष्यमा हाम्रो टोली रहनेछ।’

लिग चरणको खेलमा ५–० को फराकिलो अन्तरले पराजित भए पनि  क्वार्टरफाइलनमा उरुग्वेका लुइस स्वारेजको पेनाल्टीलाई बचाउँदै अन्तिम चारमा पु¥याएका गोलकिपर पेड्रो गालेजलाई फाइनलमा बदला लिने अवसर हुनेछ। बुधबार पनि चिलीको पेनाल्टी अवसरलाई विफल पार्दै टोलीलाई स्पस्ट जित दिलाउन सफल भए।  
‘उपाधि ह्याट्रिक गर्ने लक्ष्यमा ठेस लागेको छ। यसले हामीलाई निकै पीडा भइरहेको छ,’ चिलीका कप्तान ग्यारे मिडेलले भने, ‘प्रतिद्वन्द्वी पेरुले उत्कृष्ट खेल प्रदर्शन गर्न सफल भयो। बधाई र शुभकामना दिन चाहन्छु। उनीहरू फाइनल पुग्ने योग्य टोली हो।’ सुरुआतबाट साबिकको विजेतामाथि पेरुले दबाब कायम राखेको थियो।
२१औं मिनेटमा आन्द्रे कारिलोको पासमा एडिसन फ्लोरेसले गोल गर्दै पेरुलाई सुरुआती अग्रता दिलाए। निकै प्रतिस्पर्धात्मक बनेको खेलको ३८औं मिनेटमा पेरुले गोल गर्दै अग्रता दोब्बर बनायो। योसिमार योतुनले कारिलोको पासमा टोलीका लागि दोस्रो गोल थपेका थिए।

खेलमा फर्किन संघर्षरत चिलीले पहिलो हाफमा गोल फर्काउन प्रयास गरे पनि अग्रता बुनिसकेको पेरुको बलियो रक्षापंक्ति अगाडि खुलेर खेल्न सकेन। पहिलो हाफमा २–० को अग्रता बनाइसकेको पेरुले दोस्रो हाफमा पनि लयलाई निरन्तरता दियो। पाओलो गुइएरोले दोस्रो हाफको इन्जुरी समयमा गोल गर्दै पेरुको जित सुनिश्चित गरे।
इन्जुरी समयमा नै चिलीले पेनाल्टी अवसर पाए पनि सदुपयोग गर्न सकेन। एडवार्डो भार्गासको कडा प्रहारलाई पेरुका गोलकिपर ग्यालेजले उत्कृष्ट बचाउ गर्दा स्पस्ट जितका साथ उपाधि होडका लागि स्थान सुरक्षित गराए। ४४ वर्षपछि फाइनलमा स्थान बनाएको पेरुले उपाधिका लागि आइतबार ब्राजिलसँग प्रतिस्पर्धा गर्नेछ। समूह चरणको खेलमा भोगेको लज्जास्पद हारको बदला लिँदै उपाधि उचाल्न पेरुलाई यो राम्रो अवसर हुनेछ।

लिगमा समूह ‘ए’ बाट पेरु उत्कृष्ट तेस्रो टोलीको रूपमा नकआउट चरणका लागि योग्य भएको थियो। तर, नकआउट चरणमा उत्कृष्ट प्रदर्शन गर्दा पेरुले उरुग्वे र चिली स्तब्ध बनाउँदै उपाधिका लागि ब्राजिलसँगको भेट पक्का गरेको छ।

प्रकाशित: २० असार २०७६ ०२:४५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App