८ वैशाख २०८१ शनिबार
अर्थ

मदन भण्डारी लोकमार्गमा १२ वटा पुल थप्नुपर्ने

मदन भण्डारी लोकमार्गको गाईघाट–कटारी खण्डको नेपालटार खोलामा निर्माणाधीन पक्की पुल। तस्बिर : महेश्वर/नागरिक

उदयपुर – साबिक धरान–चतारा–गाईघाट–कटारी–सिन्धुली–हेटौंडा वैकल्पिक लोकमार्ग भई हाल मदन भण्डारी लोकमार्गमा परिणत राष्ट्रिय गौरवको आयोजनामा १२ वटा पुल थप्नुपर्ने भएको छ।

उदयपुर खण्डमा मात्र चारवटा नयाँ पुल बनाउनुपर्ने छ। धरान–चतारा खण्डमा १ र उदयपुरको बसाहा–सिन्धुलीको भिमान खण्डमा ११ वटा थप्नुपर्ने छ। सडक निर्माण गर्दैै जाँदा सुरुको सर्भे तथा विस्तृत परियोजना प्रतिवेदन (डिपिआर)मा छुट्न गएको गाईघाट–बेलटार खण्डका विभिन्न खोला खहरेमा १२  वटा थप पुल निर्माण गर्नुपर्ने देखिएको हो।

उदयपुर खण्डमा भने त्रियुगा नगरपालिका–११ गाईघाटदेखि छिमेकी चौदण्डीगढी नगरपालिका–४, बसाहासम्मको ३० किलोमिटर खण्डमा चारवटा आरसिसी पुल थप बनाउन लोकमार्ग कार्यालयले सम्बन्धित निकायसँग माग गरेको छ। सुरुको सर्भेमा पुल आवश्यक नदेखिएकाले डिपिआरमा नपरेका चौदण्डीगढी–४, को लामाखोला, चौदण्डीगढी–९ का ज्यामिरे र खैराहा झोडा तथा त्रियुगा–१३ को असारी खोलामा थप पुल बनाउनुपर्ने भएको हो।

ती ठाउँमा कम्तीमा ५० मिटरदेखि एक सय ५० मिटर लामोसम्म पुल बनाउनुपर्ने भएकाले मन्त्रालयसँग आवश्यक कागजसहित प्रक्रिया अघि बढाइएको लोकमार्ग कार्यालय प्रमुख (डिई) ललिजन खनालले बताए।

सडक निर्माणका क्रममा पुल नबनाई नहुने देखिएपछि थप पुल बनाउन विभाग हुँदै मन्त्रालयमा आवश्यक प्रक्रिया अघि बढाइएको छ। हेर्दा सामान्य लाग्ने खहरेमा वर्षामा आउने बाढीले आवागमन अवरुद्ध हुने हुँदा ती खहरेमा पक्की पुल बनाउनैपर्ने बाध्यता आइलागेको लोकमार्ग आयोजना कार्यालयका इन्जिनियर गोविन्द दुमरुले बताए। १० वर्षअघि वैकल्पिक लोकमार्ग बनाउन सर्भे गर्दा सामान्य ठानिएका खहरेहरुमा बर्खामा सडकै अवरुद्ध हुने गरी बाढी आउने भएकाले पुल बनाउनुपर्ने उनले बताए।

‘त्यसबेलाको सर्भेमा पुल नचाहिने देखेर इस्टिमेटै गरेनछन्,’ इन्जिनियर दुमरुले भने, ‘अहिले पो सामान्य वर्षामै आउने बाढीले सडक अवरोध गर्ने देखिएपछि पुल बनाउनुपर्ने देखियो।’ उनका अनुसार सडक कालोपत्रे गर्न थालेपछिमात्र ती खहरेमा पुल बनाउनुपर्ने आवश्यकता महसुस भएपछि कार्यालयले विभाग र मन्त्रालयमा पुल थप्न माग गरेको हो।

चौदण्डीगढी नगर प्रमुख खगेन्द्र राईले सुरुमै पुल बनाउने गरी इस्टिमेट गर्नुपर्नेमा त्यसबेला सम्बन्धित निकायको ध्यान नजाँदा अहिले आएर पुल थप्नुपर्ने अवस्था आएको बताए। उनले सडक धमाधम कालोपत्रे गर्दै जाँदा चारवटा खहरेमा पुल थप्नुपर्ने देखेर सडक विभागलाई थप पुलका लागि आग्रह गरेको बताए। चौदण्डीगढीभित्रैका तीनवटा खहरेमा पुल बनाउनुपर्ने देखिएपछि लोकमार्ग कार्यालयमार्फत सरकारको ध्यानाकर्षण गराएपछि थप पुल बन्ने टुंगो लागेको मेयर राईले बताए।

थप पुल बनाउन चालु आवमा सर्भे मात्र गरिने र आगामी वर्षमात्र लागत इस्टिमेट तयार गरी निर्माण प्रक्रिया अघि बढाइने डिई खनालले बताए। गाईघाट–बेलटार २० किलोमिटर खण्डभित्र तीनवटा र बेलटारदेखि बसाहासम्मको १० किलोमिटरभित्रको लामाखोलामा अर्को एउटा पक्की पुल बनाउने गरी आगामी वर्षको बजेट माग गर्ने कार्यालयले जनाएको छ। ती चार ठाउँका पुलका लागि २६ करोड रुपैयाँ लाग्ने प्रारम्भिक अनुमान गरिएको छ।

सुनसरीको धरानदेखि उदयपुर सीमा चतारास्थित सप्तकोसी हुँदै गाईघाट–कटारी–सिन्धुली–हेटौंडा तीन सय ११ किलोमिटर लामो तत्कालीन बैकल्पिक लोकमार्ग निर्माणाधीन छ।

चालु आर्थिक वर्ष ‘मदन भण्डारी लोकमार्ग’मा परिणत भएको सो योजना अन्तर्गत बनाउनुपर्ने ४३ पुलमध्ये ३४ वटा सम्पन्न भइसकेका छन् भने बाँकी नौ वटा निर्माणको अन्तिम चरणमा पुगेको इन्जिनियर दुमरुले बताए। उनका अनुसार तीन अर्ब ८५ करोड ९० लाख रुपैयाँ लागतमा पुल बनाउने जिम्मा कोभेक–खिम्ती–रसुवा जेभीले लिएको छ। रसुवाले पुल बनाइरहेको छ।

निर्माणाधीन र सम्पन्न गरी पुलको काम ७६ प्रतिशत सकिएको र दुई अर्ब ९० करोड भुक्तानी भइसकेको दुमरुले बताए। असारभित्रै बाँकी पुलमध्ये पाँचवटा सकिने छन् भने चारवटा केही समयपछि मात्र सकिने छ। कटारी नगरपालिका–६, रिस्कुस्थित वैद्यनाथखोला, रिस्कुकै तावा, त्रियुगा नगरपालिका–९ का शाही र सरस्वती खोला र त्रियुगा–१३, भातीखर्कको पुल अन्तिम चरणमा पुगेको छ। चौदण्डीगढी–३ को बसाहा र ९ को देवधारका दुई पुलको पिल्लर गाडिसकेको कार्यालयले जनाएको छ। ‘यी दुईवटा मात्र भर्खर थालिएको हो, बाँकी पुलको निर्माण कार्य सकिइसक्यो भन्दा हुन्छ,’ इन्जिनियर दुमरुले भने।

बैकल्पिक लोकमार्ग मदन भण्डारीमा परिणत भएसँगै पूर्वतर्फ भापाको बाहुन डाँगीदेखि पश्चिम डडेलधुरासम्म विस्तार हुन लागेको छ। मदन भण्डारी लोकमार्ग निर्देशनालय ललितपुरका सुपरिटेन्डेन्ट इन्जिनियर (सुई) उमेशबिन्दु श्रेष्ठले धरान–हेटौंडा तीन सय ११ किलोमिटर लम्बाइबाट एक हजार दुई सय किलोमिटरमा विस्तार हुन लागेको बताए। उनका अनुसार झापा बाहुनडाँगीदेखि डडेलधुराको रुपालसम्म जोड्ने लोकमार्गको थप कामको सर्भे अन्तिम चरणमा पुगेको छ। आगामी वर्ष डिपिआर तयार गरेर काम थाल्न ठेक्का प्रक्रिया अघि बढाइने सुई श्रेष्ठले बताए।

लोकमार्गको धरानदेखि ४३ किलोमिटर पश्चिम बसाहासम्म अघिल्लै वर्ष कालिका कन्सट्रक्सनले कालोपत्रे गरिसकेको छ भने बसाहादेखि नौ किलोमिटर पश्चिम बेलटार–गाईघाट–कटारी खण्डमा चालु वर्ष कालोपत्रेको काम हँुदैछ। उदयपुर खण्डको एक सय १३ किलोमिटरमध्ये यो वर्ष ५० किलोमिटर कालोपत्रे गर्ने लक्ष्य लिइएको निर्माणको जिम्मा पाएको जेडआइइसी/शर्मा/लामा जेभीले जनाएको छ। ६ अर्ब रुपैयाँ लागतमा निर्माण सुरु काम ०७४ कात्तिकदेखि तीन वर्ष अर्थात ०७७ कात्तिक मसान्तभित्र गरी सक्ने सम्झौता भएको जेभीका परियोजना उपप्र्रबन्धक (डिपिएम) सीताराम दाहालले बताए। दाहालका अनुसार हालसम्म सडकको ६० प्रतिशत काम सम्पन्न भइसकेको र तीन अर्ब भुक्तानी समेत लिइसकेको छ।

प्रकाशित: २० असार २०७६ ०२:२३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App