६ वैशाख २०८१ बिहीबार
समाज

‘सीपयुक्त जनशक्ति १० प्रतिशत पनि छैन’

काठमाडौं - नेपालको विभिन्न क्षेत्रमा रहेको जनशक्तिमध्ये १० प्रतिशत पनि दक्ष नभएको तथ्य सार्वजनिक भएको छ। डा. रुद्र सुवालको संयोजकत्वमा गठित मानव संशाधन प्रक्षेपण कार्यदलले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सोमबार बुझाएको प्रतिवेदनमा नेपालमा सीपयुक्त दक्ष जनशक्ति १० प्रतिशत भन्दा कम रहेको औंल्याएको छ। दक्ष जनशक्तिको अभावमा देश समृद्ध हुन नसकेको प्रतिवेदनले औंल्याएको हो।

अध्ययनले सीपलाई चार तहमा बाँडेर विश्लेषण गरेको छ। जसअनुसार सीप तहलाई १–४ सम्म बाँडेर विश्लेषण गरिएको छ। जसमा सीप तह ४ मा उच्च र उत्कृष्ट दक्षता र सीप भएका जनशक्ति राखिएको छ भने सीप तह ३ मा उच्च दक्षता र सीप भएका जनशक्तिलाई राखिएको छ। यसैगरी सीप तह २ मा मध्यम दक्षता र सीप भएका जनशक्ति तथा सीप तह १ मा न्यून सीप भएका जनशक्तिलाई समावेश गरिएको छ।

प्रतिवेदनले २५ वर्षका लागि आवश्यक जनशक्तिको समेत प्रक्षेपण गरेको छ। जस अनुसार ०७४/०७५ मा प्रतिशतमा कृषि क्षेत्रमा ६४.७९, उद्योग क्षेत्रमा १३.८१ र सेवा क्षेत्रमा २१.४० जनशक्ति रहेको र सो संख्या २०९९/२१०० मा पुग्दा कृषिमा ३२.१५, उद्योगमा २४.१६ र सेवा क्षेत्रमा ४३.६९ प्रतिशत हुने अनुमान छ। हाल कृषि क्षेत्रमा अत्याधिक ६५ प्रतिशत जनशक्ति छन्। कृषिमा संलग्न यी जनशक्ति न्यून गुणस्तरका भएको उल्लेख छ।

‘उच्च सीप तथा क्षमता भएका तह ४ को जनशक्तिको हिस्सा ०७४/०७५ मा १.७६ प्रतिशत मात्र छ। यो प्रतिशत सन् २१०० मा ३.८६ प्रतिशत पुग्ने अनुमान छ,’ प्रतिवेदनमा उल्लेख छ, ‘सीप तह ३ को जनशक्ति ०७४ को ४.५५ बाट बढेर २०९९÷२१०० सम्म ११.४८ पुग्नेछ।’ साथै प्रतिवेदनमा सीप तह २ को जनशक्ति हालको २९.७३ बाट बढेर ०९९/२१०० मा ५५.२८ हुनेछ। सीप तह १ को जनशक्ति हालको ६४.०७ बाट घटेर २१०० मा २९.३९ प्रतिशतमा आइपुग्ने अनुमान छ।’

जनशक्ति प्रक्षेपण तथा अनुमानका विवरण तथा आँकडाअनुसार पेशागत रुपमा जनशक्तिको औसत वार्षिक वृद्धिदर व्यवस्थापक ५.५९ प्रतिशत, पेशाविद् ३.८२ प्रतिशत, प्राविधिक तथा सहायक पेशाविद् ६.३८ प्रतिशत, सहायक स्तरका कर्मचारी ६.६४ प्रतिशत हुनेछ। साथै कालिगढसम्बन्धि काम गर्ने कामदारहरु ४.०४ प्रतिशत, यन्त्र तथा मेसिन अपरेटर र जडान गर्ने कामदार ५.२२ प्रतिशत, कृषि, वन तथा माछापालन कार्यका दक्ष कामदार २.३५ प्रतिशतले वृद्धि हुने अनुमान छ। प्राथमिक पेशाका कामदारहरु औसत रुपमा वार्षिक १.८९ प्रतिशतले घट्ने अनुमान प्रतिवेदनको छ।          

प्रकाशित: २० असार २०७६ ०२:२३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App