६ वैशाख २०८१ बिहीबार
समाज

इटाली जान हिँडेका नेपालीकोे लिबियामा मृत्यु, श्रेष्ठ परिवारमा रुवाबासी

मंगलबार लिबियामा भएको विस्फोटमा परेर निधन भएका बेंसीसहर नगरपालिका ११ चितिका सन्तोष श्रेष्ठ। तस्बिर:नागरिक

लमजुङ - वैदेशिक रोजगारीका लागि युरोपेली मुलुक इटाली जाने सपना बुनेर घरबाट निस्किएका बेंसीसहरका एक युवकको लिबियामा मृत्यु भएको खबरले उनको परिवार र आफन्तजन शोकमा डुबेका छन्। बेंसीसहर नगरपालिका–११ चिपप्ले हटियाका २७ वर्षीय सन्तोष श्रेष्ठको मंगलबार राति लिबियामा भएको आक्रमणमा परेर मृत्यु भएको थियो।

दोर्दी गाउँपालिका भारतेका एक युवकले युरोप पु-याइदिने भन्दै उनलाई भरोसा दिलाएपछि श्रेष्ठ गत वर्ष माघमा घरबाट हिँडेको उनका बाबु सोमप्रसाद श्रेष्ठले बताए। केही दिनमा इटाली पुग्ने भन्दै लिबियाबाट बुबाआमासँग कुराकानी गरेका उनको एक्कासि मृत्युको खबर आउँदा आफूहरू केही सोच्न र बोल्न सक्ने अवस्थामा नरहेको उनका बाबुले भक्कानिँदै सुनाए। आमाको अवस्था सम्हालिनसक्नु बनेको सन्तोषका काका गणेशप्रसाद श्रेष्ठले बताए। दिदीबहिनी, भाइको अवस्था पनि ज्यादै दयनीय छ। छरछिमेक, आफन्त र गाउँघरका चिन्नेजान्नेले समेत निकै पीर गरेको उनी बताउँछन्। आफूहरूलाई यो खबरले सपनाबाट बिउँझिएजस्तै बनाएको श्रेष्ठले बताए। हटियावासी के गर्ने, कसो गर्ने, कसलाई के भन्ने अन्योलमा छन्।

‘मैले जे–जस्तो भए पनि नेपालमै दुःखजिलो गर, सानोतिनो जागिर गरे पनि, व्यापार व्यवसाय यहीं गर भनेको थिएँ,’ बुबा सोमप्रसादले भने, ‘उसले जिद्दी ग¥यो, हुन्छ भने होस् भनेर मैले ऋण काढेर पठाएँ आज यस्तो भोग्नुप¥यो।’ बाबुका अनुसार सन्तोषले एकपटक विदेश पुगेर राम्रो पैसा कमाएर फर्किएपछि विवाह गर्छु भन्दै परिवारलाई विश्वस्त बनाएका थिए। यसअघि चार वर्ष मलेसिया बसेर फर्किएका छोराले ठूलो देशमा गएर राम्रो आम्दानी गर्छु भनेपछि विश्वासमा परेर १४ लाख रुपैयाँ ऋण खोजेर पठाएको बाबु बताउँछन्। शिक्षण पेसामा रहेका उनले आफन्त, छरछिमेक र बैंकबाट ऋण झिकेको र आफ्नो कोषबाट पाउने रकम पनि निकालेर छोरालाई खर्च गरेको उनले बताए।

छोरालाई कसले लैजाने हो, कहाँबाट कसरी इटाली पु-याउने हो भन्ने बारेमा परिवारलाई केही थाहा नभएको उनी बताउँछन्। ‘दोर्दी गाउँपालिकाको भारतेका एकजनाले म र अरू साथीलाई लैजाने हो भनेको थियो,’ सन्तोषका बाबुले भने, ‘सबैजना जाने भएपछि राम्रै होला भन्यौं, त्यसभन्दा बढी सोधखोज पनि भएन, उसले पनि केही भनेन।’ उनका अनुसार भिजिट भिसामा दुबई जाने र इटाली छिर्नेसम्मको कुरा थाहा भएको थियो। दुबईमा १२ दिनको बसाइपछि लिबिया पुगेको र करिब साढे २ महिना त्यहाँ बसेको उनका बुबाको भनाइ छ। दुबई र लिबिया पुगेपछि कहिलेकाँहीं अनलाइनमा कुराकानी हुने गर्दथ्यो।

‘लिबियाबाट उसले आत्तिएजस्तो गरी पैसा नपुग्ने भयो, यहाँ निकै खतरा रैछ,’ बाबुले भने, ‘धेरै दिन बस्न सकिने अवस्था छैन, थप पैसा पठाइदिनू, जसरी पनि केही दिनमा इटाली छिर्छौं भनेको थियो।’ ३ लाख रुपैयाँ आफूसँग रहेको र थप पैसा आवश्यक भएको उनले बताएको बताएका थिए। छोराको लागि पैसा जुटाउँदा जुटाउँदै हैरान भएको परिवारले छोराको कमाइ त पाउन सकेन नै उनको मुखसमेत कहिल्यै देख्न नपाउने दुःखद अवस्थाले विक्षिप्त बनाएको वडा ११ का अध्यक्ष अच्यूतबाबु बगाले बताउँछन्।

सास नरहे पनि शव कसरी ल्याउने भन्नेबारे परिवारलाई थाहा नभएकाले आफूहरूलाई आग्रह गरेको उनले बताए। छोराको शव ल्याइदिन र आफ्नो पीडामा मलम लगाइदिन सरकारले सहयोग गरोस् भन्ने आग्रह श्रेष्ठका काका गणेशले सञ्चारकर्मीमार्फत गरेका छन्। ठूलो देशमा लगिदिने सपना देखाएर असुरक्षित रूपले विदेश पठाउने व्यक्तिलाई समेत पहिचान गरी कारबाही गर्नुपर्ने उनको आग्रह छ। स्वर्गीय श्रेष्ठको आमाबाबु, तीन दिदीबहिनी र एक भाइ छन्।

प्रकाशित: २० असार २०७६ ०२:०७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App