८ वैशाख २०८१ शनिबार
समाज

काठमाडौंमा ३० वर्ष अघिको गर्मी दोहरियो, मनसुन किन सक्रय भएन ?

काठमाडौं - काठमाडौंमा ३० वर्षअघिको गर्मी दोहरिएको छ। मौसम पुर्वानुमान महाशाखाका अनुसार यस वर्ष जुलाई महिनाको रेकर्डले ३० वर्ष अघिको गर्मीको रेकर्ड झन्डैझन्डै छोएको छ। यस वर्ष जुलाई १ मा काठमाडौंको अधिकतम तापक्रम ३२ दशमलब ६ डिग्री सेल्सियस पुगेको महाशाखाले जनाएको छ। यसअघि सन् १९८९ जुलाई २२ मा काठमाडौंको तापक्रम ३२ दशमलब ७ डिग्री सेल्सियस रेकर्ड गरिएको थियो। ‘यस वर्ष जुलाई महिनाको रेकर्ड हेर्दा ३० वर्षअघि जुलाई महिनाको गर्मीलाई छुन खोजेको देखिन्छ,’ वरिष्ठ मौसमविद् शान्ति कँडेलले भनिन्, ‘सन् १९८९ को जुलाई २२ को रेकर्ड र यस वर्ष जुलाई १ को रेकर्ड झन्डैझन्डै उस्तै छ।’

बिहीबार काठमाडौंको अधिकतम तापक्रम ३० दशमलब ७ डिग्री सेल्सियस पुगेको छ। मौसमविद्का अनुसार पानी पर्ने मनसुन सक्रिय नहुँदा यस वर्ष गर्मी बढेको हो। मौसमविद् कँडेल भन्छिन्, ‘यस वर्ष मनसुन कमजोर हुँदा काठमाडौं उपत्याका लगायत देशभर गर्मी बढेको हो।’ दुईतिन दिन अझै मनसुन सक्रिय हुने सम्भावना नरहेको उनले बताइन्। महाशाखाका अनुसार यस वर्ष मनसुन १० दिन ढिला सुरु भयो। १० दिन ढिलो सुरु हुँदा पनि मनसुन कमजोर भयो। जसका कारण गर्मी ह्वात्तै बढ्यो।

यस वर्ष जुनमा औसतभन्दा झन्डैझन्डै आधा वर्षा भयो। महाशाखा अनुसार जुनमा औसत वर्षा २ सय ३६ दशमलब ३ मिलिमिटर वर्षा हुनुपर्नेमा यस वर्ष झन्डै आधा कम १ सय २५ दशमलब ५ मिलिमिटर भयो। जुलाईमा औसत वर्षा ३ सय ६३ दशमलब ४ हुनुपर्ने महाशखाको भनाइ छ। तर यस वर्ष जुलाई ४ सम्म २९ मिलिमिटर मात्र वर्षा भएको छ।
गत हिउँदमा औसतभन्दा ५ गुणा बढी वर्षा भयो। यो वर्ष वर्षायाममा औसत वर्षाभन्दा ५ गुना बढी वर्षा हुने सम्भावना देखिएको छैन्। वरिष्ठ मौसमविद् कँडेलले वायुमण्डलको विभिन्न अवस्थाको अध्ययन गर्दा यस वर्ष वर्षायाममा प्रदेश १, प्रदेश २, प्रदेश ३ र प्रदेश ५ का केही भूभागमा औसतभन्दा कम वर्षा हुने र बाँकी प्रदेश गण्डकी, कर्णाली र सुदूरपश्चिममा औसत वर्षा हुने सम्भावना रहेको बताइन्। नेपालमा सामान्यतया मनसुन जुन १०मा प्रवेश गर्छ। यस आधारमा यस वर्षको मनसुन १० दिन ढिलो सुरू भएको हो।

मनसुन किन सक्रय भएन ?
महाशाखाा अनुसार न्यूनचापीय रेखा दक्षिणबाट उत्तर (नेपाल) तिर नआउँदा मनसुनी वर्षा सक्रिय नभएको हो। नेपालमा बंगालको खाडीबाट जलवाष्पयुक्त हावा आउँछ। त्यसमा न्यूनचापीय रेखाहरु बनेपछि वर्षा सुरु हुन्छ। ‘यस वर्ष न्यूनचापीय रेखा तलबाट माथि (दक्षिणबाट उत्तर) आउन सकेका छैन। जसबाट यस वर्ष अझै मनसुन सक्रिय हुन नसकेको छैन, ’कँडेलले भनिन्। अझै २÷३ दिन न्यूनचापीय रेखा माथि (नेपाल) तिर आउने सम्भावना नदेखिएको पनि उनले बताइन्। उनले भनिन्, ‘अब दुईतीन दिनमा वर्षा त हुन्छ तर लगातार सक्रिय वर्षा हुने सम्भावना देखिएको छैन्।’

दुईतीन दिनपछि न्युनचापीय रेखा नेपालतिर आउन सक्ने सम्भावना रहेको पनि उनले बताइन्। महाशाखाका अनुसार शुक्रबार देशभर सामान्य बदली भई केही भूभागमा हल्कादेखि मध्ययम वर्षाको सम्भावना छ। देशका एकदुइ स्थानमा शुक्रबार भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। महाशाखाका अनुसार बादल लागेका बेला अधिकतमा तापक्रम घट्छ। बादल लाग्दा सूर्यको किरण सोझै आउन नसक्ने भएकोले यस्तो हुने मौसमविद्को भनाइ छ।

बिहीबारको तापक्रम
नेपालगन्ज: अधिकतम ३८.२ डिग्री सेल्सियस

भैरहवा: अधिकतम तापक्रम ३७.४ डिग्री सेल्सियस
विराटनगर: अधिकतम तापक्रम ३५.८ डिग्री सेल्सियस

जनकपुर: अधिकतम तापक्रम ३६ डिग्री सेल्सियस
धनकुटा: अधिकतम तापक्रम ३२.५ डिग्री सेल्सियस

प्रकाशित: २० असार २०७६ ०२:०० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App