coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
विचार

राष्ट्र पतनको बाटो

अथर्ववेदमा भनिएको छ– ‘ईश्वर र विद्वान्प्रति प्रेम गर्ने, सत्यज्ञानी, सत्कर्मी, सदाचारी, जितेन्द्रिया र गुणीमात्र राष्ट्रको शासक बन्न योग्य हुन्छन् तर जनता पनि चरित्रवान र पुरुषार्थी हुनुपर्छ।’ शासकको मात्रै होइन, जनताको गुणस्तर पनि परिभाषित गरेको छ शास्त्रले। पौरस्त्य पद्धतिमा राष्ट्रका यावत अंगको काम, कर्तव्य र अधिकार स्पष्ट उल्लेख छ। मातृभूमिको परिकल्पना अथर्ववेदमै गरिएको छ। राष्ट्र शब्द ऋग्वेदमै आउँछ। अथर्ववेदको मन्त्र १२, पृथ्वीसुक्तमा ‘माता भूमि, पुत्रो हं पृथिव्या’ उल्लेख छ। जसको अर्थ हो– पृथ्वी हाम्री आमा हुन्, हामी उनका पुत्र हौँ।

शक्तिराष्ट्रको स्वार्थमा मुलुक डुबिरहँदा हामी किनारमा बसेर रमिता हेरिरहेका छौँ। त्यसैले जनताले पनि राष्ट्र पतनको दायित्व लिनैपर्छ।

राष्ट्रका प्रमुख अंगका महत्वपूर्ण जिम्मेवारीको चर्चा छ, महाभारत ग्रन्थमा। त्यसमा राजधर्मको प्रसंग आउँछ। ती सबैको अध्ययन–अनुशीलनबाट मात्र राष्ट्रका मुख्य मित्र तथा शत्रु चिन्न सजिलो हुन्छ। फ्रेन्च विद्वान् रोम्याँ रोलाले बसुधा (पृथ्वी) पूजक सनातनीहरू अत्यन्त उदात्त हृदयका धनी हुन्छन् भनेका छन्। राष्ट्र, जाति, व्यवहार र संस्कृतिलाई संरक्षण, सम्वद्र्धन, सम्पोषण गर्दै समस्त सौरमण्डलको कल्याण चाहने हुँदा सनातन परम्परा सभ्यताको उद्गम हो भन्ने स्पष्ट हुन्छ। प्राच्य धर्म–दर्शनको सुक्ष्म अध्ययन गरेका विद्वान्–विदुषीले पनि यो स्वीकारेका छन्।

‘वरुणले राष्ट्रलाई अविचल राखून्, इन्द्रले सुदृढ बनाउन्, अग्निले निश्चलरूपले धारण गरुन्।’ (ध्रुवं ते राजा वरुणो, ध्रुब देवो वृहस्पतिः। ध्रुवं त इन्द्रश्चाग्निश्च राष्ट्र धारयतां ध्रुवम्।।) भनिएको छ ऋग्वेदमा। ‘राष्ट्रको परिकल्पना ऋग्वेदले गरेको हुँदा वेद अध्ययन नगर्ने तर सनातनी परिवारमा हुर्किएका राजनीतिज्ञहरूले राष्ट्र, राजनीति, संसद् केही पनि बुझ्न सक्दैनन्’ भनेका छन्– भारतका पूर्वसभामुख डा. बलराम जाखडले। उनको ‘पिपुल एन्ड पार्लियामेन्ट’ ग्रन्थमा ऋग्वेदले नै संसद्को काम (दायित्व) स्पष्ट गरेको उल्लेख छ। ‘जहाँ स्वच्छ हावाझैँ चारैतिरका असल विचार मन्थन हुन्छ, त्यो संसद् हो भन्ने ऋग्वेदका ऋचाहरूको व्याख्या गरेका छन् जाखडले।

आज राष्ट्र निर्माण (नेसन बिल्डिङ) र राज्य निर्माण (स्टेट बिल्डिङ) प्रक्रियाबारे बहस चल्न थालेको छ। राष्ट्र भत्काएर राज्य निर्माण प्रक्रिया चलाउन जात, धर्म, भाषा र क्षेत्रको विवाद चर्काइँदै छ, नेपालमा पनि।

आज राष्ट्र निर्माण (नेसन बिल्डिङ) र राज्य निर्माण (स्टेट बिल्डिङ) प्रक्रियाबारे बहस चल्न थालेको छ। राष्ट्र भत्काएर राज्य निर्माण प्रक्रिया चलाउन जात, धर्म, भाषा र क्षेत्रको विवाद चर्काइँदैछ नेपालमा पनि। राष्ट्र भत्काएर सुडानलाई खण्डित गरियो। साउथ सुडान भन्ने अहिलेसम्मको कान्छो देश ‘स्टेट बिल्डिङ’ प्रक्रियाबाट बन्यो। ‘राज्य’ बनाउनका लागि राष्ट्र भत्काउनु मूर्खता हो। सन् १९९९ मा युगोस्लाभियाबाट उछिट्टिएर कोसोभोलगायतका राज्य बनेका थिए। कोरियालीहरू उत्तर र दक्षिण कोरियामा विभक्त भएर ७० वर्षपछि पनि रोइरहेका छन्।  रसियादेखि जापानको छेउसम्म फैलेको सो राष्ट्र सन् १९४८ पछि टुक्रियो। पटकपटक युद्ध भयो। दाजुभाइको लडाइँ गराउने अरु नै थिए।

सोभियत कम्युनिस्ट पार्टी र क्रेमलिनको मद्दतमा उत्तर कोरियामा कम्युनिस्ट सरकार बन्यो। अमेरिकाले दक्षिणमा खेल्यो। ‘भाइ फुटे गँवार लुटे’ उखान सिद्ध भयो। किन इल सुङ मस्कोका कठपुतली बने। अमेरिकाले स्याङम्यान रिलाई ‘दक्षिण’ कोरियाको नायक बनायो। शक्तिशालीहरूको स्वार्थ पूर्ति गर्न धेरै राष्ट्रमा गुहयुद्ध भएका छन्। त्यस्तो षडयन्त्रमा प्रत्यक्ष–परोक्षरूपमा सघाउनेहरू राष्ट्रका शत्रु हुन्। आधुनिक राजनीतिशास्त्रले जनसंख्या, निश्चित क्षेत्रफल, सार्वभौमसत्ता र सरकार भएपछि ‘देश’ स्वतः खडा हुन्छ भनेको छ। प्राच्य विद्वान्हरू त्यसमा पूर्ण सहमत छैनन्। उनीहरू भन्छन्– ‘जनताको खुसी, सामाजिक न्याय, सबैलाई अधिकार, सभ्यता, संस्कार, स्पष्ट मूलनीति, दर्शन, आधार तथा स्वच्छ कूटनीति आवश्यक हुन्छ राष्ट्रनिर्माण गर्न। नत्र राष्ट्र असफल ठहरिन्छ। कंगो, सोमालिया, इथियोपिया, इन्डोनेसियालगायत धेरै उदाहरण छन्, राष्ट्र विभाजनका। यमन, भियतनाम, जर्मनी आदिलाई विगतमा टुक्र्याउने खेलमा त्यहाँका नेता र जनतालाई प्रयोगमात्र गरियो, निर्णायकहरू अरु नै थिए।

राष्ट्रका शत्रु सुदूर गाउँका श्रमिक र किसान होइनन्। शहरबजारका श्रमजीवी पनि होइन्। उच्च पदमा बसेका सुविधाभोगीले लुट्नसम्म लुट्छन् र अन्त्यमा परचक्रीसँग मिलेर ती पञ्चमांगीहरूले राष्ट्र बर्बाद बनाउँछन्। तसर्थ जो जति शक्तिशाली छ, उनीहरूलाई ‘राष्ट्रिय सुरक्षा’ हेर्नेहरूले नै निगरानी गर्छन् धेरै राष्ट्रमा। अब्राहम लिंकनसँग राष्ट्रपतिको निर्वाचनमा परास्त राजनीतिज्ञ स्टेफन डग्लसले घतलाग्दो कुरा भनेका छन्–‘राष्ट्रियताको मामिलामा कसैलाई पनि तटस्थ बस्ने हक छैन। तपाईँ आफूलाई कि राष्ट्रवादी भन्नुहोस्, होइन भने तपाईँ राष्ट्रघाती बन्न सक्नुहुन्छ।

छुच्चो बोलेको जस्तो लागे पनि सत्य त्यही हो। हजाराँै बिघा जमिन विदेशीले मिच्दा पनि हामी मौन बस्छौँ भने त्यो ‘मौनं सम्मति लक्षणम्’ नै हो। विदेशीले नेपालका प्रायः सबै दल, नागरिक अगुवा र ठूला सञ्चारमाध्यमलाई गुप्तरूपमा आर्थिक सहायता गरेर राष्ट्र कमजोर बनाएको कुरा सञ्चारमाध्यमहरूमा पटकपटक आएको थाहा पाउँदा पनि हामी दासझैँ नतमस्तक बन्छौँ भने कसरी आफूलाई असल नागरिक भन्ने ?

विदेशी शक्तिले ल्याएका प्रस्ताव संविधानमा घुसाइएको हामीलाई राम्ररी थाहा छ तर भद्र–भलाद्मी र लोकतान्त्रिक (?) बन्न संविधानको कमजोरीबारे आलोचना पनि गर्दैनौँ हामी। त्यसैले जनताले पनि आफ्नो उचाइ नाप्नुपर्ने बेला आएको छ। शक्तिराष्ट्रको स्वार्थमा राष्ट्र डुबिरहँदा हामी किनारमा बसेर रमिता हेरिरहेका छौँ। त्यसैले जनताले पनि राष्ट्र पतनको दायित्व लिनैपर्छ। किनभने राष्ट्रघातको मतियार बन्नु र चेतना भएर पनि राष्ट्र पतनकै बाटोमा हिँडिरहनु अपराध हो।

अंगोला, होन्डुरस, मोजाम्बिक, सोमालिया, ग्वाटेमाला, लेवनान, यमन वा सिरियालगायतका राष्ट्रमा कलह गर्ने त्यहीँका जनता हुन् तर झगडा गराउने ‘शक्ति’ टाढा बसेको थियो। ‘मर्निङ वाक’ जाँदा गान्तोकका सडक र सरकारी कार्यालयमा भारतको झन्डा देखे, सिक्किमेले। त्यो अप्रत्याशित घटना थिएन। जनतमतसंग्रहको नाटक गरेर जनप्रतिनिधिले नै स्वतन्त्र राष्ट्रलाई भारतमा मिसाएका थिए। त्यसका लागि भारतीय प्रधानमन्त्री इन्दिरा गान्धी र गृहमन्त्री वाइबी चौहानले लेन्डुप दोर्जे नामका राष्ट्रघातीलाई प्रयोग गरेका थिए। जनप्रतिनिधिहरूको संस्थामा लेन्डुप बहुमतमा थिए।

इन्डोनेसियाबाट इस्ट टिमोर छुट्टिँदा, इथियोपियाबाट इरिट्रिया टुक्रिँदा र सुडान फुटाउँदा ‘जनताको निर्णय’ अनुसार लोकतान्त्रिक ढंगले नै राष्ट्र विखण्डित भएको प्रचार गरियो। त्यसलाई जनमतको सम्मान पनि भनियो। तर वास्तविकता अर्कै थियो। षडयन्त्रको साङ्लो बनाउने अरु नै थिए। त्यस्तै, नेपाल कुनै दिन विदेशीको प्रत्यक्ष शासनमा गयो भने राष्ट्रको हृदयघात जस्तो लाग्ला तर दलहरूले राष्ट्रलाई आज अत्यन्त कमजोर बनाइसकेका छन्। यो कटुसत्य स्वीकार्नै पर्छ।
कूटनीतिले रोग प्रतिरोध क्षमता गुमाएको छ। राजदूत नियुक्त हुनेका बारेमा परराष्ट्रमन्त्री र परराष्ट्रसचिव नै बेखबर देखिएका छन्। संकटकाल घोषणा गर्दा सैनिक मुख्यालयको मात्र होइन, राष्ट्रिय सुरक्षा परिषद्कै समेत परामर्श नचाहिने परिकल्पना गरिएको छ। राष्ट्रका यावत् अंग कुनै एउटा व्यक्तिको लहडमा चल्ने र कतैबाट अंकुश नलाग्ने निरंकुशतन्त्र स्थापना गर्न खोजिँदैछ।

यी दृश्य विद्रुप, कोलाहलमय र अशान्त शहरको अव्यवस्था जस्तो देखिन्छ। सत्य के हो भने नेपालीले नेपाल हाँक्न सक्दैनन् भनेर विदेशीले सिंहदरवारमार्फत नै कायलनामा, बकपत्र, कबुलियतनामा र कीर्ते तमसुक गराउन खोजेका छन्। गणतन्त्रको घोषणापछि माओवादी, कांग्रेस, एमालेमात्र होइन, निर्दलीय सरकार पनि देख्नुप¥यो जनताले। २०७२ सालको भूकम्पमा धरहरा ढलेझैँ राष्ट्र कुनै पनि बेला गल्र्यामगुर्लुम ढल्न सक्छ। किनभने राष्ट्रका यावत् अंगप्रत्यंग मक्किएका छन्। राष्ट्रकोषबाट अर्बौं रुपियाँ तलबभत्ता खानेलाई राष्ट्र निरीह, शिथिल र असफल बन्दै गएकामा कुनै लाज छैन। बाक्लो कुर्सी, महँगो गाडी कृत्रिम सुखसयल र सुखमा रमाएका छन् ती यन्त्रमानव।

जुलियस सिजरको कथन छ– ‘युद्धमा मर्न तत्पर हुनेहरू धेरै भेटिन्छन् तर लामो समयसम्म घृणा, अपमान र पीडा भोग्ने धैर्य सबैमा हुँदैन।’ हिजोभन्दा आज र आजभन्दा भोलि सुख पाइएला भन्दै सुदिन पर्खिरहेका जनतालाई कतिपय नेताले जुनसुकै जातको घाँस चर्ने जन्तुमात्र ठानेका छन्। जसले जुलुसमा कुदाए पनि खसीबाख्राझैँ कुद्ने, अपराधीलाई भोट दिए पनि नागरिक हक प्रयोग गर्न पाइयो भनेर गद्गद् हुने अनि अहोरात्र दुःख सहनुपर्दा भाग्यलाई दोष दिनेको संख्या कति छ, त्यो पनि समाजशास्त्रीहरूका लागि अध्ययनको विषय बन्न सक्छ।

लाखौँ जनता एकैदिन सडकमा आउँदा ‘नेपाली’ नागरिकता लिएका राष्ट्रघाती भाग्छन् तर जनता नै ‘कार्यकर्ता’ भएसम्म यो असम्भव छ। राजनीतिक दलको दाम्लोमा नबाँधिएका युवाले राष्ट्र पतन रोक्न केही गर्न सक्छन्, यसका निम्ति उनीहरूमा साहस, इमान र धैर्य चाहिन्छ। विदेशीको आदेशबेगर चल्नै नसक्ने राज्यसंयन्त्रबाट अब धेरै आशा गर्न सकिँदैन। सरकार गहिरो र अँध्यारो खाडलमा फसिसकेको छ। ऊसँग ६० महिनाको लाइसेन्स त छ तर ‘कमनसेन्स’ छैन।

प्रकाशित: २० असार २०७६ ०१:४६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App