coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

आयात निर्यात विषादीमुक्त हुनैपर्छ: सञ्चारमन्त्री

काठमाडौं -  सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले नेपालमा भारतलगायतका देशबाट हुने आयात र नेपालबाट हुने निर्यात विषादीमुक्त हुनैपर्ने बताएका छन्। विभिन्न देशबीच हुने आयात निर्यात व्यापारसँग मात्रै नभई नागरिकको जनस्वास्थ्यसँग जोडिएको विषय भएकाले आयात निर्यात विषादीरहित हुनुपर्ने उनको भनाइ छ।

सरकारले भारतबाट आयात हुने तरकारी र फलफूलामाथि विषादी परीक्षण थालेपछि भारतले विषादी जाँच नगर्न नेपाल सरकारलाई दबाब दिएको विषयमा समाचार सार्वजनिक भएपछि मन्त्री बाँस्काटाले आयात निर्यात विषादीरहित हुनैपर्ने सरकारको निर्णय दोहो¥याएका छन्। मन्त्रालयद्वारा बिहीबार आयोजित साप्ताहिक पत्रकार सम्मेलनमा उनले आयात र निर्यात हुने वस्तुमाथिको जाँच स्वभाविक भएको बताउँदै एउटा देशको उत्पादनको कारणले अर्काे देशको नागरिकको स्वास्थ्यमाथि खेलवाड गर्न नमिल्ने बताए।

‘तरकारीको विषादीको सन्दर्भमा हाम्रोबाट उता(भारत) निर्यात हुने कुरा पनि विषादीरहित हुनैपर्छ र भारत वा चीनबाट नेपाल आउने पनि विषादी रहित हुनैपर्छ। यो नागरिक स्वास्थ्यसँग सम्बन्धित विषय हो। यो चेकजाँच हुने कुरा राम्रो कुरा हो,’ मन्त्री बाँस्कोटाले भने ‘आयात हुने तरकारी, फलफूललगायत अन्य सामानमा चेकजाँचलाई व्यापारको विषय मात्रै होइन, यसलाई नागरिको स्वास्थ्यसँग जोडेर हेर्नुपर्नेहुन्छ। न हाम्रो उत्पादनले भारतीय नागरिकको स्वास्थ्यसँग खेलवाड गर्न मिल्छ न भारतीय उत्पादनको कारणले हाम्रो नागरिकको स्वास्थ्यमाथि खेलवाड गर्न मिल्छ, यसप्रति दुवै सरकार संवेदनशील हुनैपर्छ। उत्पादक र व्यापारीहरु पनि संवेदनशिल हुनुपर्छ, यसमा अरु विषय जोड्नु हुँदैन।’

यसअघि जेठ १० गतेको मन्त्रीपरिषदको बैठकको निर्णय अनुसार असार २ गते राजपत्रमा सूचना प्रकाशित गरि मन्त्रालयले भारत लगायतका मुलुकबाट आयात हुने क्याफिनयुक्त शक्तिवद्र्धक पेय पदार्यमा पूर्ण बन्देज लगाएको थियो। त्यसैगरि उक्त व्यवस्था अनुसार नेपालमा आयात हुने ताजा तरकारी, फलफुल सम्वन्धित भन्सार विन्दुमा क्वारेन्टाइन र जीवनाशक विषादीको अवशेष परिक्षण अनिवार्य रुपमा परिक्षण गर्नुपर्ने व्यवस्था गरेको थियो। जसअनुसार भारतबाट नेपाल भित्रिने भैरहवा (सुनौली), विरगन्ज, काकडभिट्टा लगायतका नाकाबाट भित्रिने तरकारी तथा फलफूलको क्वारेन्टाइन र विषादीको मात्रा परिक्षण सुरु गरेपछि भारतले सो हटाउन सरकारमाथि दबाब बढाएको हो।

नयाँ व्यवस्थाअनुसार नेपाल भित्रिने तरकारी, फलफूललगायतका सामान जाँचेर विषादीरहित भएको प्रमाणपत्र दिएपछि मात्रै भन्सारले सम्बन्धित ठाउँमा लैजान अनुमति दिने व्यवस्था छ। सरकारले विषादी परीक्षण अनिवार्य गर्नैपर्ने नियम लागु गर्नुअघि भारतबाट जाँचबिनै निर्वाध रूपमा विषादीयुक्त तरकारी, फलफूललगायतका खाद्यान्न भित्रिने गरेका थिए।

भारतबाट आयात हुने वस्तुमा विषादीको मात्रा अत्याधिक रहेको भन्दै सीमानाकामा सरकारले जाँच सुरुगरेसँगै भारतीय पक्षले मन्त्रिपरिषद्को निर्णय कार्यान्वयन नगर्न नेपाल सरकारमाथि दबाब बढाएको थियो। काठमाडौंस्थित भारतीय दूतावासले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई पत्र लेख्दै विषादी जाँचप्रति आपत्ति जनाएर सरकारको निर्णय कार्यान्वयन नगर्न दबाब दिएको थियो।

मन्त्री बाँस्कोटाले नेपालमा भित्रिने कुरा मानव स्वास्थ्यसँग जोडिएको विषय भएकाले यो कार्यान्वयनमा आउनैपर्ने तर जाँच गर्ने उपकरणका कारण झन्झटिलो वा असहज परेका कुरा भए मिलाउनुपर्ने बताए। ‘हामीकहाँबाट पनि उता जान्छ भने त्यसमा पनि जाँच हुनु राम्रो हो तर त्यसमा कुनै नियतका कारणले कुनै झमेला हुनुहुँदैन,’ मन्त्री बाँस्कोटाले भने, ‘उताबाट आउनेको पनि जाँच हुनुपर्छ, व्यावहारिक वा क्षमताका हिसाबले कुनै झमेला हुनुहुँदैन।’

वाणिज्य क्षेत्रका विज्ञहरूले भने नेपालबाट भारत निर्यात हुने अदुवा, फलफूल, चियालगायतका सामग्री रोकेर भारतले नेपाली उत्पादकलाई हैरानी दिने तर उताबाट आएको विषादीयुक्त तरकारी र फलफूल जाँच गर्न नपाइने भनेर सकारलाई दबाब दिनु हास्यास्पद भएको बताएका छन्। भन्सार विभागको तथ्यांकअनुसार गत ११ महिनाको अवधिमा मात्रै भारतबाट नेपालमा २६ अर्ब ४६ करोड ७५ लाखको तरकारी, १७ अर्ब तीन करोडको फलफूल आयात भएको छ।

प्रकाशित: २० असार २०७६ ०१:२३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App