७ वैशाख २०८१ शुक्रबार
राजनीति

तदर्थ समितिको प्रावधान छैन: कांग्रेस

काठमाडौं – नेपाली कांग्रेसले पार्टी विधानबाहिर गएर सभापति शेरबहादुर देउवाले कुनै पनि संरचना निर्माणको तयारी नगरेको स्पष्ट पारेको छ। पार्टीका असन्तुष्ट पक्षीय नेताहरूले सभापति देउवा विधानविपरीत संरचना गठनको तयारीमा जुटेको आरोप लगाइरहेका बेला प्रवक्ता विश्वप्रकाश शर्माले बिहीबार विज्ञप्ति जारी गर्दै नविन संरचना गठनका लागि तदर्थ समितिको कुनै प्रावधान नरहेको स्पष्ट गरेका हुन्।

विधानको धारा ७२ को ४ ले पार्टी संगठनको अन्तरिम व्यवस्थाबारेमा प्रष्ट व्यवस्था गरेको जनाउँदै शर्माद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘नेपालको संविधानबमोजिमका नविन संरचना पार्टीको विधानले निर्दिष्ट गरेको प्रष्ट व्यवस्था अनुरूप नै गठन हुनेछन्। सो भन्दा बाहिर सभापतिले तदर्थ समिति गठन गर्न चाहेको भन्ने अभिव्यक्ति र समाचारहरु विल्कुलै निराधार छ।’

विधानले निर्दिष्ट गरेबमोजिम देशव्यापी रुपमा पार्टी संगठनको अन्तरिम व्यवस्था गर्दै पार्टीको राष्ट्रिय जागरण अभियानको दोस्रो चरणमा प्रवेस गर्ने जनाउँदै पार्टीलाई समयानुकूल सबल र सुदृढ गर्दै अघि बढ्न केन्द्रीय कार्य समितिको आगामी बैठकले पारदर्शी छलफल र बहसमार्फत आवश्यक निर्णय लिने विज्ञप्तिमा उल्लेख छ। कांग्रेसले आइतबार केन्द्रीय समितिको बैठक बोलाएको छ।

प्रकाशित: २० असार २०७६ ०१:१९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App