८ वैशाख २०८१ शनिबार
समाज

गृह मन्त्रालयको छानविन टोली सर्लाहीमा

प्रदर्शनकारी र प्रहरीबीच झडप भएको सर्लाहीको बाँके चोक। तस्विरः टंक/नागरिक

सर्लाही– जिल्ला स्थित बाँके जंगल खण्डको पूर्व–पश्चिम राजमार्ग अवरुद्ध खुलाउने क्रममा प्रहरीको गोली लागि सर्वसाधारणकाको मृत्यु एवं घाइते भएको घटना छानविन गर्न गृह मन्त्रालयको टोली सर्लाही आएको छ।

ईश्वरपुर नगरपालिका–१३, श्रीनगरका ११ वर्षीय बालक अमित रायको बाँके खोलामा अवैध उत्खननका कारण बनेको खाडलमा जमेको पानीमा डुबेर मृत्यु भएपछि आक्रोशित हुँदै पूर्व–पश्चिम राजमार्ग बन्द गर्न आएका स्थानीय र प्रहरीबीच झडप हुँदा सोही ठाउँका २७ वर्षीय देवन भन्ने सरोजनारायण सिंहको गत असार १५ गते आईतबार प्रहरी गोली लागेर मृत्यु भएको थियो। त्यस्तै प्रहरीको गोली लागेर घाइते स्थानीय राजकुमार महरा जनकपुरमा उपचाररत छन्। घटनामा नेपाल प्रहरीका ११ र सशस्त्र प्रहरीका ६ जना समेत घाइते भएको प्रहरीले जनाएको छ।

सोही घटना छानविन गर्न गृह मन्त्रालयले गठन गरेको उपसचिव कमल ढकाल नेतृत्वको ५ सदस्यीय छानविन टोली विहिबार दिउँसो सर्लाही आइपुगेको हो। सदरमुकाम मलंगवा पुगेको टोलीले प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर राउत सहित जिल्ला स्थित नेपाल प्रहरी र सशस्त्र प्रहरीका सुरक्षा प्रमुखसँग भेट गरेको बताइएको छ। लगत्तै टोली मृतकका परिवार सहित स्थानीय बासिन्दा, जनप्रतिनिधि लगायतसँग समेत घटनाबारे थप बुझ्न ईश्वरपुरतर्फ लागेको छ।

प्रमुख जिल्ला अधिकारी राउतले मन्त्रालयको टोलीले आफू सहित सहित सुरक्षा अधिकारीसँग भेटघाट गरेको र दिउँसो पीडित परिवार, स्थानीय बासिन्दा लगायतसँग घटनाबारे बुझ्न ईश्वरपुरतर्फ गएको जानकारी दिए। टोलीमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धानका सुरक्षा अधिकारी समेत रहेका छन्।
सोमबार साँझ सदरमुकाम मलंगवामा सम्पन्न सर्वपक्षीय बैठकले गोलीकाण्डको न्यायिक छानिवन हुनुपर्ने, दुवै मृतकलाई शहीद घोषणा गर्नुपर्ने, पीडित पक्षलाई उचित राहत दिनुपर्ने, घाइतेको उपचार गर्नुपर्ने, गोलीप्रहार गरी हत्यामा संलग्न प्रहरीमाथि कडाभन्दा कडा कारबाही गर्नुपर्ने, खोलामा अवैध उत्खनन् गर्ने तथा गराउनेमाथि कडा भन्दा कडा कारबाही गर्नुपर्ने, बाँके खोलालाई पूर्ण व्यवस्थापन गराउने, मृतकका परिवारबाट कम्तिमा एकजनालाई रोजगारीको व्यवस्था गर्नुपर्ने र मृतकको सन्तानलाई निःशुल्क शिक्षा र पालन पोषणको व्यवस्था मिलाउनु पर्नेलगायत माग सहित निर्णय गरेको थियो।

ईश्वरपुर नगरापलिका कार्यालयसँग बुधबार साँझ मृतकका परिवारसहितको सहमति भएपछि बुधबार साँझ मात्र जिल्ला अस्पतालमा रहेका दुईवटा शव आफन्तले बुझेर दाहसंस्कार गरेका थिए। घटनापछि केही दिन अशान्त बनेको सर्लाहीको ईश्वरपुर क्षेत्र वुधवार साँझ मृतकका परिवारसँग १४ बुँदे सहमति भएसँगै शान्त बनेको छ।

ईश्वरपुर नगरपालिकाका प्रमुख मनोजकुमार देवकोटाको अध्यक्षतामा पूर्वमन्त्री शम्भुलाल श्रेष्ठ, प्रदेशसभा सदस्य उपेन्द्र महतो लगायतको उपस्थितिमा भएको छलफलपछि १४ बुँदे सहमति भएको थियो। गोली लागेर मृत्यु भएका सरोजनारायणलाई शहीद घोषणा गर्न सिफारिस गर्ने, उनकी श्रीमतीलाई वडा कार्यालयमा रोजगारी उपलब्ध गराउने, बाँके चोकमा मृतकको शालीक निर्माण गर्ने, खोलामा डुबेर मृत्यु भएका बालक अमितका परिवारलाई राहतस्वरुप पाँच लाख रुपैँया उपलब्ध गराउने, खोलाको खाल्डो पुर्नेलगायतका सहमति भएको हो।

यता बिहीबार बिहान प्रदेश २ का भौतिक पूर्वाधार मन्त्री जीतेन्द्र सोनलले श्रीनगर आएर दुवै मृतकका परिवारसँग भेट गरेका छन्। उनले दुवै मृतकका परिवारलाई किरिया खर्चबापत २५–२५ हजार रुपिँया प्रदान गरेको बताइएको छ। 

बाँके चोकमा भएको गोलीकाण्डको छानविन गर्न प्रदेश २ सरकारले पनि बेग्लै समिति गठन गरिसकेको छ। घटनाको निस्पक्ष छानविन माग्दै राष्ट्रिय जनता पार्टी नेपालले मानव अधिकार आयोगसँग छानबिनको माग गर्दै निवेदन पेश गरेको छ।

 

प्रकाशित: १९ असार २०७६ १३:२९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App