८ वैशाख २०८१ शनिबार
समाज

‘लागूऔषध नियन्त्रणका लागि सबै जुटौं’

बुटवल– युवाहरुलाई लागूऔषधको कुलतबाट जोगाउन अभिभावक सचेत हुनुपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन्। सञ्चारिका समूह लुम्बिनीको आयोजना र बुटवल उपमहानगरपालिका–४ को सहयोगमा बुटवलमा गरिएको लागूऔषध दुर्व्यसनविरुद्ध सचेतनामुलक कार्यक्रममा सरोकारवालाहरुले युवाहरुलाई सहि बाटोमा हिडाउन अभिभावकको निगरानी आवश्यक रहेको बताएका हुन्।

कार्यक्रममा बुटवल उपमहानगरपालिकाका उपप्रमुख गुमादेवी आचार्यले लागूऔषधको दुरुपयोग नगरको सम्बृद्धीको बाधक बन्ने भएकाले सबैले यसको नियन्त्रणमा ध्यान दिनुपर्ने बताइन्। लागुऔषध दुरुपयोग तथा ओसार पसार नियन्त्रणका अभिभावक र समुदाय सचेत हुनुपर्ने उनले बताइन्। बुटवल–४ का अध्यक्ष टंकप्रसाद पराजुलीले लागूऔषध दुव्र्यसनको अवस्था विकराल भएकाले नियन्त्रणका लागि सबैले आ आफ्नो क्षेत्रबाट पहल गर्नुपर्नेमा जोड दिए।

वडा प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी निरीक्षक हेमबहादुर केसीले लागूऔषधको प्रयोग बढदा समाजमा अपराधिक गतिबिधिसमेत बढेको बताए। सबैभन्दा बढी १५ देखि २४ वर्ष उमेर समुहका किशोर किशोरीहरु र युवाहरु कुलतमा फस्ने गरेको तथ्यांक प्रस्तुत गर्दै उनले यसको नियन्त्रणका लागि सबै जागरुक हुनु पर्नेमा जोड दिए।

मानव अधिकार तथा शान्ति समाजका केन्द्रिय वरिष्ठ उपसभापति गोविन्द खनालले विद्यालय, समुदाय र कार्यस्थललाई लागुऔषध निषेधित क्षेत्र बनाउनु पर्नेमा जोड दिए। कार्यक्रममा सञ्चारिका समूह लुम्बिनीका अध्यक्ष निरु गौतम, उपाध्यक्ष मिना ढकाल, महासचिब बिन्दु थापालगायतले बोल्दै लागूऔषध मुक्त समाज निर्माणको अभियानमा जुट्न सबैलाई आग्रह गरे।

प्रकाशित: १९ असार २०७६ ०९:५६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App