७ वैशाख २०८१ शुक्रबार
राजनीति

विकासको गति तिब्र बनाउन भगिनी सम्बन्धः मुख्यमन्त्री पौडेल

मकवानपुर– प्रदेश नम्बर–३ का मुख्यमन्त्री डोरमणि पौडेलले विकासको गति तिब्र रुपमा लैजान चीनको गान्सु प्रान्तसँग भगिनी सम्बन्ध जोडेको बताएका छन्। चीनको पाँच दिने भ्रमणका क्रममा बिहीबार गान्सु प्रान्तमा २५ औं चीन लान्झाउ इन्भेस्टमेन्ट एण्ड ट्रेड फेयर एण्ड हाई इन्ड फोरम अन सिल्क रोड कोअपरेसन कार्यक्रमलाई सम्बोधन गर्दै उनले चिन तथा गान्सुको अभुतपूर्व विकासबाट नेपाल प्रभावित भएको समेत धारणा व्यक्त गरे।

केही समयअघि राष्ट्रपति विद्यादेवी भण्डारीसँग चीनको भ्रमण गरेको स्मरण गर्दै उनले चीनसँग सदैव राम्रो सम्बन्ध हुने प्रष्ट पारेको मुख्यमन्त्रीका प्रेस संयोजक प्रकाश दाहालले बताए। ‘दुई देशले एक अर्काको सार्वभौमिकता र संघीयतामा उत्तिकै सम्मान गरेको छ,’ मुख्यमन्त्रीको भनाई उदृत गर्दै दाहालले भने, ‘ऐतिहासिक, साँस्कृतिक, आर्थिक र भौगोलिक आधार मिल्ने भएकाले चीनको विकासबाट नेपालले धेरै कुरा सिक्छ।’

‘चीन त विशेष छँदैछ, भगिनी सम्बन्ध स्थापना भएको गान्सुको विकाससँगै प्रदेश सरकारले पनि फाईदा लिन सक्नेछ,’ मुख्यमन्त्री पौडेलले भने। गान्सु प्रान्तमा पहिलो भ्रमण भएपनि परिवहन सम्बन्धमा हस्ताक्षर गरेपछि सम्बन्ध नयाँ उचाईमा पुगेको उनले बताए।

‘नेपालले ‘सुखी नेपाली समृद्ध नेपाल’को नारालाई आत्मसाथ गराउन चीनको विकासले पनि भुमिका खेल्छ,’ उनले भने, ‘नेपालको ७ प्रदेशमध्ये सबैभन्दा महत्वपूर्ण स्थानमा ३ नम्बर प्रदेश रहेको छ, २ तिहाई उद्योग पनि हाम्रै प्रदेशमा रहेको छ।’ विदेशी लगानीकर्तालाई संयुक्त उद्योग सञ्चालन गर्न नेपालले प्रोत्साहित गर्ने प्रतिबद्धता जनाउँदै उनले नेपाल धेरै क्षेत्रमा व्यापारको लागि खुला रहेकाले निर्धक्क भएर लगानी गर्न आग्रह गरे।

चीनको भ्रमणमा रहेका मुख्यमन्त्री पौडेल शुक्रबार सस्टिनेबल डेभलपमेन्ट फोरम अफ सिल्क रोड सिटिजमा सहभागी हुने र त्यहाँको विभिन्न स्थानको अवलोकन गर्ने कार्यक्रम छ। साथै, शनिबार  त्यहाँको उद्योग, कृषि प्रदर्शनीको समेत अवलोकनको कार्यक्रम रहेको मुख्यमन्त्रीका स्वकीय सचिव अनुप पौडेलले बताए। भ्रमणका क्रममा सिन्धुलीको मरिण र मकवानपुरको मनहरीमा स्थापना हुने औद्योगिक क्षेत्रको विकास तथा विद्युतीय सवारी सञ्चालनका विषयमा पनि छलफल हुने उनले बताए।

मुख्यमन्त्री पौडेल र ज्याङ यान्युबीच भेट
यसैबीच, प्रदेशका मुख्यमन्त्री पौडेल र चीनको गान्सु प्रान्तको रुरल वर्क प्लान एण्ड डेभलपमेन्टका डाईरेक्टर ज्याङ यान्युबीच बिहिबार भेटवार्ता भएको छ। भेटका क्रममा नेपालको आधुनिक कृषि प्रणालीबाट कृषिक्षेत्रको विकासको विषयमा छलफल भएको मुख्यमन्त्रीका स्वकीय सचिव पौडेलले बताए।

‘हाम्रो कृषि प्रणाली परम्परागत छ, कृषि क्षेत्रमा अत्याधुनिक प्रविधि भित्र्याउनु आवश्यक छ,’ मुख्यमन्त्रीलाई उदृत गर्दै उनले भने, ‘काभ्रे र मकवानपुरमा तरकारी, धादिङ र रसुवामा फुजी स्याउ उत्पादन हुने हावापानी समेत छ।’

डारेक्टर यान्युले चक्लाबन्दी, टनेल खेति गरी उत्पादनसँगै कोल्ड स्टोर निर्माण गरी सम्पूर्ण कृषिका प्रकृया एकै स्थानमा गर्ने कार्यमा सहकार्य गर्न आफु तयार रहेको बताउँदै प्रदेशसँग समन्वय गरी लगानीसहित काम गर्ने बताएको स्वकीय सचिव पौडेलले जानकारी दिए।

गान्सुसँग प्रदेश नम्बर ३ को बैशाख ३१ गते भगिनी सम्बन्ध कायम भएको थियो। भ्रमण टोली सोमबार नेपाल फर्कने कार्यक्रम छ ।

प्रकाशित: १९ असार २०७६ ०९:२० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App