८ वैशाख २०८१ शनिबार
समाज

रित्तिँदै स्थानीय तह

ताप्लेजुङ–नियमित रूपमा कर्मचारी बिदा गर्नुपर्ने तर त्यसको ठाउँमा अरु कर्मचारीको पदस्थापन नहुने समस्याले ताप्लेजुङका स्थानीय तहमा सेवा प्रवाह प्रभावित भएको छ। अत्यधिक जनसम्पर्क हुने स्थानीय तहमै कर्मचारी पदस्थापनको समस्या हुँदा सेवाप्रवाह प्रभावित भएको स्थानीय तहले नै जनाएका छन्।

भटाभट कर्मचारी बिदाइ गर्नुपर्ने तर त्यो ठाउँको दरबन्दी पूर्ति हुने अवस्था देखेपछि लामो समयसम्म सेवा प्रभावित हुने खतरा बढेको भन्दै पाथीभरा याङ्वरक गाउँपालिका अध्यक्ष केशरकुमार सुब्बाले सामाजिक सञ्जालमार्फत नै यसप्रति चिन्ता जाहेर गरेका छन्। सामाजिक सञ्जालमा उनले कर्मचारी समायोजनका कारण दिनहुँ कर्मचारी बिदाइ गर्नुपर्ने तर पदपूर्ति नहुँदा सेवा प्रवाह कठिन बन्दै गएको भन्दै तत्काल पदपूर्ति हुने व्यवस्थाका लागि संघीय सरकारले ध्यान दिनुपर्ने उल्लेख गरेका छन्।

मैवाखोला गाउँपालिकाले समायोजनमा जाने १ जना कर्मचारीलाई यसै साता बिदाइ ग-यो। अरु केही बिदा भएर जाने तयारी गर्दै छन्। गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेश अधिकारीले थोरै जनशक्तिले काम धानिरहेको गाउँपालिकाका कर्मचारीको बिदाइपछि त्यहाँ पदपूर्ति नहुँदा सेवा प्रवाह असहज बन्ने बताउँछन्। उनले असार सकिएलगत्तै समायोजनमा अन्यत्र खटिएका सबै कर्मचारी सरुवा भएर गइसक्ने भएकाले बाँकी अवधि झन् समस्याग्रस्त हुने चिन्ता सुनाए। सरुवा भएर गएको स्थानमा पदस्थापन नहुने हो भने आगामी दिनमा हुने सेवा प्रवाहको अवस्था जटिल र कठिन हुन सक्ने उनको अनुमान छ। भन्छन्, ‘समायोजनका कारण रिक्त भएको स्थानमा पदपूर्ति नभएसम्म समस्या ज्युँका त्युँ नै हो।’ उनले यस्तो अवस्थाबारे संघीय र प्रादेशिक सरकार जानकारी बाहिर नभएको कुरामा विश्वास लिए।

मेरिङ्देन गाउँपालिकाले योजना शाखा र जिन्सी शाखा सम्हाल्ने प्रमुखहरूलाई नै यसैसाता कार्यालयबाट बिदा ग-यो। तर त्यो ठाउँमा पदपूर्ति भएको छैन। गाउँपालिकाका प्रवक्ता सूर्यमान बराइलीले असारको समयमा कर्मचारीलाई बिदाइ गर्नु तर त्यो स्थानमा कर्मचारी पदस्थापन हुन नसक्दा सेवा प्रवाहमा कठिनाइ हुने बताए। सञ्चालनमा रहेका योजनाको अन्तिम भुक्तानी प्रकृयादेखि योजनाको अनुगमन र प्रतिवेदन तयारीसमेतका कार्य हुने समयमै समायोजनका कारण कर्मचारीले साविक जिम्मेवारी छाडेर अन्यत्र जानुपर्ने अवस्था सुखद् नहुने उनको भनाइ छ।

योजनाको जिम्मेवारी सम्हालिरहको मान्छेलाई नै बिदा गर्नुपर्दा योजनाको अन्तिम फरफारकसहितका कार्यमा प्रभाव पर्ने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत डम्बरबहादुर आङ्देम्बेले बताए। उनले जसोतसो कार्यभार थेग्नुपरे पनि त्यो धेरै दिनका लागि सम्भव नहुने दोहो-याए। यही बेला गाउँपालिकाको पूर्व निर्धारित कार्यक्रमअनुसार गाउँपालिकाभित्रका प्रत्येक घरधुरीमा चिकित्सक लगेर स्वास्थ्य परीक्षण तथा उपचार कार्यक्रम चलिरहेको छ। उच्च जनशक्ति चाहिने यही बेला धमाधम समायोजनको पत्रअनुसार कर्मचारी बिदा गर्नुपर्दा सेवा प्रवाहमा कठिनाइ देखिने गाउँपालिकाका प्रवक्ता बराइलीले बताए।

फक्ताङ्लुङ गाउँपालिका अध्यक्ष सरोज एभेङ कर्मचारी बिदा भएर जाने तर त्यो ठाउँमा लामो समयसम्म पूर्ति नहुने हो भने स्थानीय तहमा काममा देखिने रिक्तता ठूलो समस्याको रूपमा रहेको बताउँछन्। यो समस्याका बारेमा संघीय र प्रादेशिक सरकारले सोच बनाउन जरुरी रहेको बताए। नयाँ दरबन्दीको विषयमा तत्काल कुरो नभए पनि समायोजनका कारण रिक्त भएको स्थानलाई यत्तिकै छाड्ने हो भने समस्या आउने उनको भनाइ छ। जनसरोकार र जनसम्बन्धमा सबैभन्दा बलियो रहेको स्थानीय सरकारका यी समस्याबारे बेलैमा ध्यान नदिने हो भने यसले विकराल समस्या ल्याउने उनले बताए।

प्रकाशित: १९ असार २०७६ ०७:२६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App