८ वैशाख २०८१ शनिबार
शिक्षा

पश्चिमेलीको मन जित्दै बुटवल–भैरहवाका उच्च मावि

बुटवल - कुनै समय थियो, एसएलसी वा एसइई परीक्षा सकिएलगत्तै बुटवल भैरहवाका नाम चलेका स्कुलका अब्बल भनिएका विद्यार्थी ब्रिज कोर्स पढ्ने बहानामा काठमाडौं हानिन्थे। रिजल्ट आउने बेला काठमाडांैका नाम चलेका कलेजमा भर्नाका लागि भनसुन सुरु हुन्थ्यो। काठमाडौंका टप भनिएका कलेजका सञ्चालकहरू आफैं उत्कृष्ट विद्यार्थी खोज्दै बुटवल आउँथे। तर, पछिल्लो समय यहाँको शैक्षिक माहोल फेरिएको छ। कक्षा ११ र १२ अध्ययनका लागि काठमाडौं जाने विद्यार्थीको संख्या जिल्लामा नगन्य छ। रुपन्देहीसँगै पश्चिम नेपालका विभिन्न जिल्लाका विद्यार्थी अभिभावकको रोजाइमा बुटवल, भैरहवाका कलेजहरू पर्न थालेका छन्। जसका कारण यहाँका माविहरूमा अहिले एसइई पास भएका विद्यार्थीको भर्नाका लागि भीड बढेको छ।

पश्चिम नेपालकै उत्कृृष्ट शैक्षिक संस्थाको पहिचान बनाउन सफल बुटवलको न्यु होराइजन माविमा विज्ञान र व्यवस्थापन संकायमा गरी करिब एक हजार विद्यार्थी भर्नाको कोटा छ। तर, भर्ना आवेदन खुलेको चार दिनमै करिब एक हजार विद्यार्थीले फाराम भरिसकेका छन्। त्यस्तै, बुटवलकै एभरेस्ट उच्च माविमा पनि विद्यार्थी भर्नाको भीड उस्तै छ। एभरेस्टमा पनि विज्ञान र व्यवस्थापन संकायतर्फ करिब पाँच सय सिटका लागि तीन दिनमा सात सय बढीले भर्ना फाराम भरिसकेको विज्ञान संकायका संयोजक शालिकराम भण्डारीले बताए।

टिनएजमा बालबालिकालाई अभिभावकको विशेष साथ र रेखदेख आवश्यक पर्ने भएकाले अभिभावककै छत्रछायामा अध्ययन गर्नु उपयुक्त हुने सरोकारवालाको भनाइ छ।

बुटवलको पुरानो र स्थापित कलेज तिलोत्तमा उच्च माविमा पनि सिट संख्याभन्दा दोब्बर बढी विद्यार्थी ओइरिन्छन्। साढे सात सय सिट संख्याका लागि एक हजारभन्दा बढी विद्यार्थीले फाराम भरिसकेको क्याम्पसका सहायक प्राचार्य तुलसी सापकोटाले बताए। पूर्वमा सिरहा जनकपुरदेखि पश्चिममा सुर्खेतसम्मका विद्यार्थी भर्नाका लागि आएको उनले बताए। यो कलेजले विद्यार्थी अभिभावकको सुविधाका लागि विज्ञान र व्यवस्थापन संकायमा बिहानी, दिउँसो र सन्ध्याकालीन गरी तीन सिफ्टमा कक्षा सञ्चालन गरेको छ।

विद्यार्थी अभिभावकको रोजाइमा पर्ने अर्को कलेज दीप उच्च मावि बुटवलमा भर्ना आवेदन खुलेको चार दिनमै दोब्बर विद्यार्थीले फाराम भरिसकेका छन्। बुटवलकै अक्सफोर्ड, ग्लोरियस, एक्सिस, मणिमुकुन्द, भैरहवाको सनसाइन, साइग्लोबल, वृहस्पति, बुद्धज्योतिजस्ता उच्च माविहरू विद्यार्थी अभिभावकको रोजाइमा पर्ने मुख्य कलेजहरू हुन्। यहाँका निजी उच्च माविहरूमा मात्र होइन, सामुदायिक उच्च माविमा पनि विद्यार्थी ओइरिएका छन्।

एसइई र प्लस टुतर्फ विगतदेखि नै उत्कृष्ट नतिजा दिँदै आएको कालिका मानवज्ञान उच्च मावि सामुदायिकतर्फ सबैभन्दा धेरै विद्यार्थी अभिभावकको रोजाइमा पर्ने कलेज हो। कालिका उच्च माविका शिक्षक युवराज कँडेलका अनुसार विज्ञान संकायमा दुई सय सिट संख्याका लागि तीन दिनमा सात सय र व्यवस्थापन संकायतर्फ पाँच सय सिटका लागि करिब ६ सयले भर्ना आवेदन दिएका छन्। बुटवलकै कान्ति उच्च मावि र मणिग्रामको शान्ति उच्च माविमा पनि हरेक वर्ष विद्यार्थीको चाप थेगी नसक्नु हुन्छ।

रुपन्देहीमा पाल्पा, गुल्मी, अर्घाखाँची, स्याङ्जा, रोल्पा, रुकुम, प्युठान, दाङ, बाँके र बर्दियाबाट प्लस टु अध्ययनका लागि धेरै विद्यार्थी आउने गरेका छन्। यहाँका निजी तथा सामुदायिक विद्यालयहरूले विगतदेखि नै एसइईमा मात्र होइन, प्लस टु तहमा पनि देशमै उत्कृष्ट नतिजा दिन सफल भएका छन्। निजीतर्फ बुटवलको तिलोत्तमा, न्यु होराइजन, एभरेस्ट, दीप, अक्सफोर्ड उच्च माविले साइन्स र व्यवस्थापन विषयमा देशमै उत्कृष्ट नतिजा दिन सफल भइसकेका छन्। उत्कृष्ट नतिजासँगै ती कलेजबाट प्लस टु गरेका थुप्रै विद्यार्थीले एमबिबिएस, इन्जिनियरिङ, नर्सिङ, बिएससी एजीजस्ता विषयमा सरकारी छात्रवृत्तिको कोटामा नाम निकाल्न सफल भएका छन्।

गत वर्ष सबैभन्दा बढी तिलोत्तमाबाट १२ पास गरेका सात जना विद्यार्थीले एमबिबिएसको छात्रवृत्ति कोटामा टियूतर्फ नाम निकालेका थिए। त्यस्तै, टियूमै इन्जिनियरिङमा २६ जना, बिएससी एजी र फरेस्ट्रीमा १९ जनाले छात्रवृत्ति कोटामा अध्ययन गरिरहेका छनु। यो कलेज विगतमा लगातार तीन वर्ष उत्कृष्ट कलेजको रूपमा पुरस्कृत पनि भएको छ।

त्यस्तै, न्यु होराइजन उच्च माविबाट १२ पास गरेका आठजना विद्यार्थीले इन्जिनियरिङमा र चार जनाले एमबिबिएसको छात्रवृत्ति कोटामा अध्ययन गरिरहेको न्यु होराइजनका प्राचार्य लोकनाथ उपाध्यायले बताए। अघिल्लो वर्ष पनि यो कलेजबाट १२ पास गरेका १४ जना विद्यार्थी पुल्चोक इन्जिनियरिङमा छात्रवृत्ति कोटामा अध्ययन गरिरहेका छन्। त्यस्तै, एभरेस्ट, दीप, अक्सफोर्ड उच्च माविबाट पनि बर्सेनि धरै विद्यार्थी एमबिबिएस, इन्जिनियरिङ, एग्रिकल्चर तथा फरेस्ट्री, नर्सिङ, बिफर्मामा पूर्ण छात्रवृत्ति कोटामा नाम निकालेर अध्ययन गरिरहहेका छन्।

‘हाम्रा विद्यार्थीहरू विश्वका जुनसुकै कुनामा गए पनि प्रतिस्पर्धी धारबाट अगाडि बढ्न सक्नुपर्छ भन्ने हाम्रो मान्यता हो। सोही अनुरूप विद्यार्थीको जग बलियो बनाउने कुरामा हामी सजग छौं,’ न्यु होराइजन उच्च माविका प्राचार्य लोकनाथ उपाध्यायले भने। गत वर्ष एसइईमा फोर जिपिए ल्याएका न्यु होराइजनका तीनजना विद्यार्थीले अहिले न्यु होराइजनबाटै ११ को परीक्षा दिएका छन्। यो वर्ष एसइईमा फोर जिपिए ल्याउने सातजना विद्यार्थी छन्। तीमध्ये सबैले यही कलेजमा अध्ययनका लागि फाराम भरिसकेको प्राचार्य उपाध्यायले बताए। त्यस्तै, सामुदायिकतर्फ कालिका मानवज्ञान, कान्ति र शान्ति उच्च माविले पनि एसइई मात्र होइन, कक्षा ११ र १२ तर्फ पटकपटक उत्कृट नतिजा दिएर राष्ट्रिय पुरस्कार पाएका छन्।

उत्कृष्ट नतिजासँगै विद्यार्थीमैत्री र अनुशासित वातावरण, सुविधासम्पन्न भौतिक तथा शैक्षिक पूर्वाधार, समयसापेक्ष तथा आधुनिक शिक्षण पद्धति तथा अनुसन्धानात्मक सिकाइ पद्धतिकै कारण यहाँका उच्च माविहरूमा विद्यार्थीको आकर्षण बढेको हो। यहाँका सबै उच्च माविहरूको आफ्नै सुविधासम्पन्न भौतिक पूर्वाधार छ।
कलेजहरूले वातानुकुलित कक्षाकोठा बनाउने अभियानसमेत थालेका छन्। बढ्दो प्रतिस्पर्धामा खरो उत्रिन उत्कृष्ट र दक्ष जनशक्ति, उत्कृष्ट ल्याब, ई–लाइब्रेरी र अतिरिक्त क्रियाकलापमा पनि कलेजहरूले ध्यान दिएका छन्। उच्च माविहरूले विज्ञान, व्यवस्थापन, मानविकी, होटल व्यवस्थापन, कानुन र नर्सिङ संकाय पनि सञ्चालन गरेका छन्। बुटवलको कालिका उच्च माविले प्लस टुमा कानुन र कम्युटर इन्जिनियर विषयमा अध्यापन गराउँदै आएको छ।

भौतिक र शैक्षिक पूर्वाधारसँगै उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई छात्रवृत्तिको व्यवस्था पनि उच्च माविहरूले गरेका छन्। टिनएजमा बालबालिकालाई अभिभावकको विशेष साथ र रेखदेख आवश्यक पर्ने भएकाले अभिभावककै छत्रछायामा रहने गरी प्लस टु अध्ययन गर्नु उपयुक्त हुने बताउँछन् प्रदेश नं ५ को शिक्षा निर्देशनालयका निर्देशक मनोज गैरे। टिनएजका छोराछोरीलाई सके आफूसँगै राख्दा राम्रो हुने भन्दै उनले सम्भव नभए कम्तीमा नजिकको पायक पर्ने क्षेत्रमा पढाउँदा रेखदेखमा सहज र व्यावहारिक हुने निर्देशक गैरेले बताए।

प्रकाशित: १९ असार २०७६ ०५:४४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App