coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
शिक्षा

विद्यार्थीको रोजाइमा चितवन

नारायणी नमुना माध्यमिक विद्यालयमा विज्ञान विषय अध्ययनरत विद्यार्थी। तस्बिर : सविता/नागरिक

कविता तिवारी, रोशनबाबु पाण्डे, पुजा सुवेदी, सुदीप ढकाल, दीप श्रेष्ठ अहिले कक्षा १२ मा अध्ययनरत विद्यार्थी हुन्। उनीहरू अहिले विज्ञान विषय अध्ययन गरिरहेका छन्। नारायणी नमुना माध्यमिक विद्यालयमा अध्ययनरत उनीहरूलाई आफू अध्ययनरत विद्यालयको पढाइ उच्चस्तरको भएको बताउँछन्। विद्यालयको पढाइ र अभ्यासबाट सन्तुष्ट रहेको कविताले बताइन्। उनले नारायणी विद्यालयमा कक्षा ९ देखि अध्ययन गरेकी हुन्। पहिलेदेखि पढेको स्कुल भएकाले शिक्षकहरूसँग छलफल गर्दै पढ्नलाई सहज भएको उनको अनुभव छ।

जिल्लामा रहेका १ सय २१ वटा संस्थागत विद्यालयमध्ये १९ वटा विद्यालयले कक्षा ११ र १२ पनि पढाउन थालिसकेको शिक्षा विकास तथा समन्वय एकाइ चितवनका शाखा अधिकृत हेमचन्द्र पौडेलले जानकारी दिए।

कक्षा ११ पढ्न लमजुङबाट एसइई दिएर रोशनबाबु चितवन आएका हुन्। सरकारी विद्यालयमा नै पढेका उनले कक्षा ११ र १२ अध्ययनका लागि पनि सरकारी विद्यालय नै रोजे। प्रवेश परीक्षा दिएर विद्यालयमा भर्ना भए। चितवनको माडी नगरपालिका–५ का सुदीपले कक्षा १० सम्म माडीमा नै पढेका थिए। विद्यालयको वातावरण र शिक्षकको मिलनसार व्यवहारले पढ्नलाई सधैं प्रेरित गरेको उनी बताउँछन्। स्नातक तह अध्ययन गर्दा छात्रवृत्तिका लागि सरकारी विद्यालयमा पढेका विद्यार्थीलाई प्राथमिकता दिने भएकाले उनले पनि सरकारी विद्यालय नै रोजे।

‘निजी स्कुलबाट पनि निःशुल्क पढ्न पाउने अफर आएको थियो,’ पढाइमा अब्बल उनले भने, ‘सरकारी नै ठीक हुन्छ भनेर, यहाँ आएँ, पढाइ राम्रो छ।’ नारायणी नमुना माध्यमिक विद्यालयले कक्षा ११ र १२ मा होटेल म्यानेजमेन्टसहितको म्यानेजमेन्ट र साइन्स विषय अध्यापन गर्ने विद्यालयका सहायक प्रधानाध्यापक रामशरण दुवाडी बताउँछन्। विद्यालयमा २०६१ सालदेखि व्यवस्थापन र २०६९ सालदेखि विज्ञान विषय पढाउन थालेको हो। अहिले दुई विषयमा २ सय विद्यार्थी अध्ययन गर्छन्। २ सयको कोटाका लागि करिब ५ सय विद्यार्थीले प्रवेश परीक्षामा सहभागी हुने गरेको उनले बताए।

यसै वर्षबाट विद्यालयले प्र्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी) बाट अनुमति लिएर तीन वर्षे डिप्लोमा इन आईटी (डिआइटी) विषयको पढाइ सञ्चालन गर्ने तयारी गरेको छ। डिआइटीमा ४८ विद्यार्थीलाई पढाइनेछ। विद्यालयमा कक्षा ११ मा अध्ययन गर्न आउने विद्यार्थी विद्यालयमा नै अध्ययन गरेका विद्यार्थीसँगै जिल्लाका अरू विद्यालय पढेका र बाहिरी जिल्लाबाट समेत आउने गरेको दुवाडीले बताए। सरकारी विद्यालय भए पनि विद्यार्थीको आकर्षण राम्रो भएको उनी बताउँछन्। कक्षा १० सम्म अध्ययन गर्न आकर्षण धेरै रहेको विद्यालयमा अहिले ११ का लागि पनि उस्तै रहेको उनले बताए।

एसइई परीक्षाफल सार्वजनिक भएपछि कस्तो विषय, कहाँ पढ्ने भन्ने दोधार विद्यार्थीमा हुन्छ। पढ्ने विषय छनोट गरेर पनि कतिले सजिलै शैक्षिक संस्था छनोट गर्न सक्दैनन्। उत्कृष्ट शिक्षाको खोजीमा काठमाडौं जानुपर्ने विद्यार्थीको बाध्यता भने चितवनमा छैन। विद्यार्थीले रोजेका विषयहरू यहाँ नै उपलब्ध छन्। अहिले कक्षा ९ देखि १२ सम्मको अध्ययनलाई माध्यमिक तह मानिन्छ। चितवनका करिब आधाजसो माध्यमिक विद्यालयले कक्षा ११ र १२ को पढाइ पनि समावेश गरेका छन्। शिक्षा विकास तथा समन्वय एकाइ चितवनका अनुसार जिल्लामा रहेको ९८ सरकारी विद्यालयमध्ये ४६ वटाले कक्षा ११ र १२ को पढाइ सञ्चालन गर्छन्।
जिल्लामा रहेका १ सय २१ वटा संस्थागत विद्यालयमध्ये १९ वटा विद्यालयले कक्षा ११ र १२ पनि पढाउन थालिसकेको शिक्षा विकास तथा समन्वय एकाइ चितवनका शाखा अधिकृत हेमचन्द्र पौडेलले जानकारी दिए। विद्यालयहरूले विज्ञान, व्यवस्थापन, मानविकी र विज्ञान विषयमा अध्यापन गरिरहेको उनले बताए। ६ वटा सरकारी विद्यालयले कक्षा ९ देखि १२ सम्म प्राविधिक विषय पनि अध्यापन गर्दै आइरहेको उनले जानकारी दिए। ती विद्यालयले सिभिल इन्जिनियरिङ, कृषि र पशु विज्ञान विषय पढाउँछन्।

मुग्लिनको त्रिवेणी र शुक्रनगरको प्रभात विद्यालयले सिभिल इन्जिनियरिङ, टाँडीको नेपाल र गुञ्जनगरको भीमनगर माविले कृषि र पिप्लेको बुद्धशान्ति मावि र माडीको माडी माविले पशु विज्ञान विषय पढाउँछन्। यसबाहेक क्याम्पसहरूले पनि चितवनमा कक्षा ११ र १२ को अध्यापन गर्दै आएका छन्। सप्तगण्डकी, मैंयादेवी, बालकुमारी, सहिद स्मृति, सहिद स्मारक, माडी क्याम्पसमा कक्षा ११ देखि माथिल्लो तहको पढाइ सञ्चालन हुन्छन्।
प्राविधिक शिक्षामा पनि अगाडि

चितवन जिल्लावासी विद्यार्थीका लागि मात्र नभई बाहिरबाट आएका विद्यार्थीको पनि पढ्ने थलोका रूपमा विकास भइसकेको पौडेल बताउँछन्। ‘चितवनमा एसईईपछि अध्ययन गर्न धेरै शैक्षिक संस्था छन्,’ उनले भने, ‘अध्ययनकै लागि बाहिर जानुपर्ने अवस्था छैन, यहाँ अध्ययन गर्ने धेरै विद्यार्थी बाहिरी जिल्लाबाट आइरहेका छन्।’ शैक्षिक संस्थामा पढाइने विज्ञान, व्यवस्थापन विषय मात्र नभई पछिल्लो समय विद्यार्थीको आकर्षण प्राविधिक शिक्षामा समेत रहेको छ।
प्राविधिक शिक्षा अध्ययन गर्नसमेत बाहिरी जिल्लाबाट ठूलो संख्यामा विद्यार्थी चितवन आउने गरेका छन्। एसइई दिएका विद्यार्थीलाई लक्षित गरी सिटिइभिटीमार्फत १८ महिने र तीन वर्षे प्राविधिक विषयको पढाइ सञ्चालन हुन्छ। सिटिइभिटीको प्रदेश ३ कार्यालयलका प्रमुख प्रशासकीय अधिकृत दिनेश लुइँटेलका अनुसार सरकारी, सामुदायिक र निजी शैक्षिक संस्थामा गरी जिल्लाभरि ४० वटा शैक्षिक संस्थाले सिटिइभिटीबाट अनुमति लिएर प्राविधिक विषय पढाइरहेका छन्। ४० वटा शैक्षिक संस्थामा स्वास्थ्य, कृषि र निर्माण विषयअन्तर्गत १ सय २ वटा कार्यक्रम सञ्चालनमा रहेको उनले जानकारी दिए।

‘काठमाडौंपछि सर्वाधिक कार्यक्रम भएको स्थानमा चितवन पर्छ,’ उनी भन्छन्, ‘यहाँ विद्यार्थीको आकर्षण पनि बढी नै हुन्छ।’ प्राविधिक विषयअन्तर्गत एउटै शैक्षिक संस्थामा १९ वटासम्म कार्यक्रमहरू सञ्चालन हुँदै आएको उनले बताए। पढाइ चितवनमा भए पनि पढ्नेमा अधिकांश बाहिरी जिल्लाबाट आउने विद्यार्थी छन्। एउटा कार्यक्रममा ४० वटा सिट संख्यामा विद्यार्थी राखेर पढाइ सञ्चालन गर्ने गरिएको छ।

चितवनमा वार्षिक करिब ४१ सय विद्यार्थीले सिटिइभिटीअन्तर्गत प्राविधिक शिक्षा अध्ययन गर्छन्। जसमा चितवनका विद्यार्थीको हिस्सा करिब १० प्रतिशत रहेको उनले बताए। सबैभन्दा बढी प्रदेश २ विद्यार्थी प्राविधिक विषय अध्ययन गर्न आउने गरेको उनले बताए। सो प्रदेशबाट आउने विद्यार्थीको हिस्सा करिब ७० प्रतिशत रहेको लुइँटेलले जानकारी दिए। बाँकी २० प्रतिशत भने अरू ठाउँबाट आउने गरेको उनी बताउँछन्।

प्रकाशित: १९ असार २०७६ ०५:३९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App