coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
अर्थ

सबस्टेसनका लागि टेन्डरको भाका सरेको स-यै

धकधईमा निर्माण गरिएको सबस्टेसन। यही प्रसारण लाइनबाट सेजमा बिजुली पु-याउने तयारी छ। तस्बिर: नागरिक

बुटवल - भैरहवास्थित देशकै पहिलो विशेष आर्थिक क्षेत्र (सेज)मा उद्योग स्थापनाको काम सुरु भएको वर्ष दिन बितिसक्दा पनि विद्युत् व्यवस्थापनको काम अझै सुरु भएको छैन। सेजमा सञ्चालित उद्योगका लागि विद्युत््को पर्याप्त व्यवस्थापनका लागि बनाउने भनिएको सबस्टेसन निर्माणको काम सुरु नै हुन सकेको छैन। सबस्टेसन निर्माणका लागि गत चैतमै टेन्डर गर्ने भनिए पनि सेज प्राधिकरणको त्यसको भाका सारेको सा-यै छ। प्राधिकरणले प्राविधिक समस्या देखाएर टेन्डरको भाका सारिरहेको छ।

विशेष आर्थिक क्षेत्रमा विद्युत्का विज्ञ नहुँदा प्राविधिक पक्ष मिलाउन समस्या भएको सेजका इन्जिनीयर अरुण भट्टले बताए।  ‘हामीसँग विद्युत्को प्राविधिक क्षेत्रमा काम गर्ने विज्ञ नहुँदा टेन्डर प्रक्रियामा ढिलाइ भइरहेको छ,’ इन्जिनियर भट्टले भने। गत चैतमै टेन्डर आह्वान गर्ने दाबी गरेका इन्जिनियर भट्टले यसपालि पनि असारभित्रै टेन्डर प्रक्रियामा जाने दाबी दोहो-याए। टेन्डर आह्वान भएको डेढ वर्षमै सबस्टेसन निर्माण पूरा हुने गरी टेन्डर आह्वानको तयारी भइरहेको उनले बताए ।

सेजमा हाल एउटा उद्योग स्थापना भइ उत्पादन थालिसकेको छ। त्यहाँ करिब आधा दर्जन उद्योग स्थापनाको तयारीमा रहेको बताइएको छ। सेजमा विद्युत् पु-याउन धकधई क्षेत्रमा सबस्टेसन निर्माण गरी ३३ केभिए प्रसारण लाइन जोडिएको छ। धकधहीबाट एउटा सर्किट सेजमा पु-याउन लाइन तान्ने काम अन्तिम चरणमा पुगेको छ। विद्युत् वितरण प्रणाली सुदृढीकरण तथा विस्तार आयोजनाअन्तर्गत २० करोड लागतमा योगीकुटी–धकधई प्रसारण लाइन निर्माण भएको हो।

प्रसारण लाइन बने पनि सेजमा सञ्चालन हुने उद्योगका लागि त्यहींभित्र सबस्टेसन निर्माण गर्नुपर्छ। सबस्टेसनमार्फत सेजका उद्योगलाई विद्युत्् बाँडफाँड गरिन्छ। सबस्टेसन बनेपछि मात्रै उद्योगीले माग अनुसारको बिजुली पाउँछन्। यसअघि १५ करोडमा टेन्डर आह्वान गर्नेगरी तयारी गरिएकामा अहिले २२ करोड हाराहारीमा पुगेका कारण टेन्डर आह्वानको प्रक्रिया पछाडि धकेलिएको सेजका अधिकारी बताउँछन्।

विद्युत् प्राधिकरणले भैरहवाको विशेष आर्थिक क्षेत्र (सेज)सम्म विद्युत् प्रसारण लाइन पु-याए पनि सेजले बनाउनु पर्ने ३३/११ केभीको सबस्टेसन निर्माण प्रक्रिया सुरु नहुँदा बिजुली अपुगको समस्या रहिरहने विद्युत्का कर्मचारी बताउँछन्।

सेजभित्र विद्युत् सबस्टेसन बनेपछि ११ केभी प्रसारण लाइनमार्फत उद्योगलाई विद्युत् दिइने छ।  विद्युत् प्राधिकरणले ६ मेगावाटसम्म आफ्नै प्रसारण लाइनमार्फत उपलब्ध गराउने भनेको छ। अहिले शक्ति मिनरल्सले नै एक मेगावाट बिजुली खपत गरिरहेको सेजले जनाएको छ। सबस्टेसन नबने पनि थप पाँच मेगावाट बिजुली उपभोग गर्न सकिने भएकाले तत्कालका लागि विद्युत्् अभाव नहुने इन्जिनियर भट्टले बताए। भट्टका अनुसार सबस्टेसन बने पनि सेजमा ३० मेगावाटभन्दा धेरै बिजुली उपलब्ध हुनेछ।

प्रकाशित: १९ असार २०७६ ०५:२१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App