६ वैशाख २०८१ बिहीबार
अर्थ

नेपाल आउने पर्यटकले भन्दा विदेश जाने नेपालीले गरेको खर्च बढी

काठमाडौं - मुलुकलाई समृद्ध बनाउने एउटा पाटो विदेशी पर्यटक आगमनलाई मानिए पनि सरकारी तथ्यांकले नेपाल आउने पर्यटकले भन्दा विदेश जाने नेपालीले गरेको खर्च बढी देखाएको छ। सरकारी अधिकारीहरु नेपालीले विदेशमा लैजाने रकमको तथ्यांक यकिन भए पनि विदेशीले नेपालमा आएर गरेको खर्च शतप्रतिशत सही फेला नपर्ने बताउँछन्। मोटामोटी रुपमा हेर्दा चालु आवको वैशाखसम्ममा विदेशीले भन्दा नेपालीले १० अर्ब ३८ करोड रुपैयाँ बढी खर्च गरेको देखिएको छ।

चालु आर्थिक वर्षको वैशाखसम्मको राष्ट्र बैंकले तयार पारेको तथ्यांक अनुसार नेपाल आएका विदेशी पर्यटकले गरेको खर्चभन्दा उही अवधिमा विदेश जाने नेपालीले गरेको खर्च बढी देखिएको हो। राष्ट्र बैंकका अनुसार चालु आवको वैशाखसम्म नेपाल आउने विदेशीले ६३ अर्ब २७ करोड रुपैयाँ खर्च गरेका छन्। सोही अवधिमा बिदेसिएका नेपालीले ७३ अर्ब ६५ करोड रुपैयाँ लगेका छन्। ती नेपाली स्वदेश फर्कंदा बैंक, वित्तीय संस्थाबाट लगको रकम फिर्ता ल्याए, नल्याएको तथ्यांक भने सरकारसँग छैन। राष्ट्र बैंकका अनुसार गत वर्ष वैशाखसम्म विदेशी पर्यटकले ५७ अर्ब खर्च गरेका थिए। नेपाली नागरिकहरु ५० अर्ब रुपैयाँ लिएर बाहिरिएका थिए।

राष्ट्र बैंकका प्रवक्ता लक्ष्मीप्रपन्न निरौलाले पछिल्लो समय नेपालीहरु पनि पर्यटकका रुपमा विदेश जाने क्रम बढेको जानकारी दिए। ‘सरकारसँग वार्षिक रुपमा कति नेपाली विदेश जान्छन् भन्ने वास्तविक डाटा छैन,’ निरौलाले बुधबार नागरिकसँग भने, ‘चालु आवको वैशाखसम्म ७३ अर्ब ६५ अर्ब रुपैयाँ भ्रमणमा जानेले लगेका छन्।’ निरौलाले पछिल्लो समय नेपालीमा विदेश जाने संस्कृति मौलाउँदै गएको बताए। ‘हामीसँग भ्रमणमा जानेले लिएर गएको रकमको विवरण मात्र हुन्छ,’ प्रवक्ता निरौलाले भने, ‘स्वास्थ उपचार तथा अध्ययनका लागि विदेश जानेको खर्च यसमा जोडिएको छैन।’
विभिन्न कार्यक्रममा विदेश जाने सरकारी र गैरसरकारी निकायका पदाधिकारीको खर्च पनि यसमा जोडिएको छ।

नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख दिपकराज जोशी नेपालीमा विदेश घुम्ने प्रवृत्तिक बढ्दै गएको बताउँछन्। ‘नेपालीको मात्र होइन अहिले संसारमै भ्रमण र खर्चका आधारहरु बढ्दै गएका छन्,’ जोशी भन्छन्, ‘देशबाहिर गएको खर्च नगदमा देखिन्छ तर विदेशीले नेपालमा गरेको सबै खर्च तथ्यांकमा देखिँदैन। यसैले नेपाली पर्यटकले गरेको खर्च बढी देखिन गएको हो,’ जोशीको भनाइ छ।

नेपाल आफ्नै पर्यटन स्याटेलाइटको अध्ययनमा रहेकाले त्यो प्रयोगमा आएपछि वास्तविक तथ्यांक संकलनमा सहयोग पुग्ने उनले जानकारी गराए। नेपालमा पर्यटनमैत्री वातावरण बन्दै गएको र भौतिक पूर्वाधारको निर्माण जारी रहेकाले पनि पर्यटकले गर्ने खर्चका आधार बढ्दै जाने जोशीले बताए।

नेपालको संविधानले नै नागरिकलाई स्वतन्त्रता दिएकोले विदेश भ्रमण मोह बढ्दै गएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव मोहनकृष्ण सापकोटाको भनाइ छ। ‘विदेश भ्रमणको दर घटाउन देशभित्रै विदेशी जस्तै गन्तव्यको विकास गर्ने हो भने निश्चय पनि यो तथ्यांकमा कमी आउँछ,’ उनले भने।

नेपालमा पहिचान भएका गन्तव्यहरु पुरानै रहेकाले नयाँ गन्तव्य र विदेशी शैलीका स्थलको निमार्णमा जोड गरे यो संख्यामा कमी आउने उनको भनाइ छ। पर्यटकको बसाइ लम्ब्याउन माउन्टेनिरियङ र ट्रेकिङ जस्ता विषयमा प्रगति आवश्यक रहेको उनको सुझाव छ। पर्यटकलाई सकेसम्म लामो समय टिकाउने आधारहरु बनाउन सरकारको ध्यान केन्द्रित रहेको उनले बताए।

सरकारले नेपाल भ्रमण वर्ष २०२० मा २० लाख पर्यटक ल्याउने लक्ष्य लिएको छ। पछिल्लो समयमा नेपालमा झोले पर्यटकमात्र बढेको विवरणहरु सार्वजनिक भइरहेको बेला सरकारले पर्यटनमैत्री खर्च गर्ने वातावरण बनाउन नसकेकोे नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकले देखाएको छ।

सन् २०१८ को पहिलो चार महिनामा ३० देशबाट तीन लाख ८६ हजार ३० पर्यटक नेपाल आएकोमा यो वर्ष सोही अवधिमा चार लाख ४५ हजार एक सय नौ आएको अध्यागमन विभागको तथ्यांकमा उल्लेख छ।

प्रकाशित: १९ असार २०७६ ०४:५३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App