coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

बिनातयारीको वृक्षरोपण अभियान, सुक्न थाले प्रधानमन्त्रीले रोपेका विरुवा

काठमाडौं - अर्थमन्त्री युवराज खतिवडाले जेठ १५ गते बजेटमार्फत आगामी वर्षलाई वृक्षरोपण वर्षका रुपमा मनाउने घोषणा गरे। असार ८ गतेको मन्त्रिपरिषद्को बैठकले १४ गते वृक्षरोपण दिवस मनाउने निर्णय ग-यो। जस अनुसार गत शनिबार देशभर तामझामका साथ वृक्षरोपण वर्षको औपचारिक थालनी गरियो। प्रधानमन्त्री, मुख्यमन्त्री, मन्त्रीलगायतका गन्यमान्यहरुले वृक्षरोपण गरे। फेसबुकमा फोटो हाले। काठमाडौंको चक्रपथ कोटेश्वर–कलंकी खण्डमा २६ सय विरुवा रोपिएको छ। सेना, प्रहरी, विद्यालय, समुदायले देशभर झन्डै २० लाख विरुवा रोपिएको अभियानको समन्वयकारी निकाय वन तथा वातावरण मन्त्रालयका प्रवक्ता डा. सिन्धुप्रसाद ढुंगानाले बताए। तर रोपिएको विरुवको भविष्यबारे भने शंका उठेको छ।

वागवानीविद् शिवबहादुर नेपाली रोपिएका विरुवाको अभिभावकत्व कसले लिने सुनिश्चित हुनुपर्ने बताउँछन्। ‘सरकारले विरुवा त रोप्यो तर विरुवाको जिम्मा कसले लिने ?’ उनी भन्छन्, ‘सारिएको विरुवाले जरा समाउन कम्तीमा पनि १५ देखि ३० दिन लाग्छ। त्यतिन्जेल पानी दिने, स्याहार्ने गरिएन भने त रोपेका विरुवा मर्छन्।’ उनका अनुसार यसै पनि पाँचदेखि १० प्रतिशत विरुवाले जमिन समाउन सक्दैनन् तीनका ठाउँमा नयाँ विरुवा रोप्नुपर्छ। वृक्षरोपणपछिको स्याहारको निक्र्यौल नभई गरिएको वृक्षरोपण सफल नहुने उनी बताउँछन्। ‘पर्खालभित्रको बारीमा लगाइएको फलपूmल त चोर्ने चलन छ भने सडक छेउमा फलफूल लगाएर होला र ?’ उनको प्रश्न छ। ‘सिन्धुलीको जुनारको विरुवा बिक्री हुन सकेको छैन। मुस्ताङका स्याउको बजारीकरण हुन सकेको छैन,’ उनी भन्छन्, ‘कृषि, सिँचाइ तथा बागबानीका समस्यालाई सम्बोधन नगरी सडक छेउमा विरुवा लगाएर फलफूलमा आत्मनिर्भर भइन्न। विद्यमान समस्यालाई समाधान गर्नु चाहीँ सरकारले आफ्नो दायित्व नसम्झेको हो कि के हो ? कुरा बुझिनसक्नु छ।’

वृक्षरोपण गर्ने निर्णय भएको छैठौं दिनमा कार्यक्रम गरियो। विरुवा रोपेपछिको दायित्व कसको हुने हो प्रष्ट छैन। सारिएको विरुवाले जरा समाउन १५ देखि ३० दिन लाग्छ। त्यतिन्जेल पानी कसले दिने ? कसले स्याहार्ने ? यसै पनि पाँचदेखि १० प्रतिशत विरुवा मर्छन्, तिनको ठाउँमा नयाँ विरुवा कसले लगाउने ? धुलोका कारण विरुवाको श्वासनलीको रुपमा रहने पात पखाल्न दैनिक दुई पटक हाल्नुपर्छ, बेलाबेला मलखाद पनि हाल्नुपर्छ। यी सब गर्ने कसले ?

वनस्पतिविद् डा. तीर्थबहादुर श्रेष्ठ पनि वृक्षरोपण फेसन जस्तै हुँदै गएको बताउँछन्। ‘एक दिन विरुवा रोप्ने अनि बिर्सने बानीलाई परिवर्तन नगरी विरुवा हुर्काउन सकिँदैन,’ श्रेष्ठ भन्छन्। सहरी इलाकामा प्रतिरोधी क्षमता दह्रो भएका विरुवा रोप्नुपर्ने उनी बताउँछन्। आफू वनस्पती विभागमा हुँदा २०३३ सालतिर माइतीघर–एयरपोर्ट सडकमा पैयुँका विरुवा लगाएको स्मरण गर्दै उनले भने, ‘सहरी इलाकामा बगैंचाको अवधारणामा विरुवा हुर्काउनु पर्छ।’ त्यसका लागि मरभूमी क्षेत्रका विरुवा राम्रो हुन्छन्,’ उनी भन्छन्, ‘फलफूल त उचित हुन्न।’

काठमाडौंमा कपुर, ज्याकाराण्डा, पैयुँका उचित हुने उनको राय छ। विगतमा टुँडिखेल वरपर तथा चक्रपथको ग्रीन बेल्टमा लगाइएको लहरे पिपल पनि उचित हुने उनी बताउँछन्। ‘तर लहरे पिपलको जरा धेरै नफैलीकन रुख अग्लो हुेन हुँदा रुखलाई काँटछाँट गर्दै उचाइ व्यवस्थापन गर्नुपर्छ,’ श्रेष्ठ भन्छन्, ‘विगतमा लहरे पिपल ढलेर मान्छे मरेपछि भएको रुख पनि काटियो। नयाँ रोपिएन।’ गौशालादेखि चावहिलसम्म तथा आरएनएसी भवन अगाडि विगतमा लगाइको मसालको रुख पनि काठमाडौं सुहाउँदो भएको श्रेष्ठ बताउँछन्। काठमाडौं तथा तराइका सहरी क्षेत्रमा रुख हुर्काउन सहज नहुने श्रेष्ठ बताउँछन्। ‘धुलोका कारण विरुवाको श्वासनलीको रुपमा रहने पात टालिन्छ। त्यसका लागि दैनिक दुई पटक पात पखालिने गरी मजाले पानी हाल्नु पर्छ,’ श्रेष्ठ भन्छन्, ‘त्यति मात्र होइन बेलाबेला मलखाद हाल्ने तथा झार उखेल्ने पनि गर्नुपर्छ।’

बिनातयारीको कार्यक्रम

तामझामका साथ वृक्षरोपण महोत्सव गरिए पनि विरुवा हुर्काउने सम्बन्धमा निश्चित कार्यक्रम तय भएको छैन। नेपालमा बिनातयारीको काम छैन पुष्टी वृक्षरोपण कार्यक्रमबाट भएको नेपाल फ्लोरिकल्चर एसोसिएसन, फ्यानका अध्यक्ष कुमार कसजु श्रेष्ठ बताउँछन्। ‘वृक्षरोपणको सिद्धान्तलाई कार्यान्वयनमा ल्याइनु सकारात्मक हो तर विरुवा हुर्काउन शिशुलाईजस्तै हेरचाह गर्नुपर्छ,’ उनी भन्छन्, ‘त्यसबारेमा स्पष्ट कार्यदेश आएको छैन। अहिले बल्ल त्यसबारे छलफल हुँदैछ।’

सार्वजनिक ठाउँमा फलफूलका विरुवा हुर्काउन सम्भव नहुने उनको तर्क छ। ‘विरुवा लतारेर, भाँचेर पूजाका लागि फूल चोर्ने चलन भएको हाम्रो समाजमा सडक छेउमा फलफूल फलाउनु चुनौतीपूर्ण छ,’ उनी भन्छन्, ‘विदेशमा सार्वजनिक ठाउँमा फल रोप्ने अभ्यास नभएको होइन तर हामी त्यो तहमा पुगिसक्यौ रेष्ठ बताउँछन्। ‘आयात नै गर्नुपर्ने हो भने पनि के कस्तो विरुवा आयात गर्नुपर्ने हो वा यहीँ उत्पादन गर्नुपर्ने हो भने पनि कहाँको लागि कति विरुवा उत्पादन गर्नुपर्ने यकिन तथ्यांक छैन,’ श्रेष्ठ भन्छन्।

नास्पाती फल्नेमा शंका
जसरी असारमा धान रोप्न चैत वैशाखमा बिउ राखेर खेत सम्याएर पानी पटाएर धान रोपिन्छ त्यसै गरी विरुवा रोप्न पनि जमिन मिलाउने, ठिक उमेर भएका विरुवालाई ठिक समयमा सार्नुपर्छ तर यो अभियानमा सो नभएको सम्बद्ध बताउँछन्। ‘वृक्षरोपण गर्ने भनेर निर्णय भएको छैठौं दिनमा कार्यक्रम गरियो। अनि विरुवा रोपेपछिको दायित्व कसको हुने हो अझै स्पष्ट छैन,’ फ्यान अध्यक्ष श्रेष्ठ बताउँछन्। उनका अनुसार माइतीघरदेखि शान्तीनगरको ट्राफिक आइल्यान्डको बगैंचा र विरुवा हुर्काउन नेपाल टेलिकमले वार्षिक ७२ लाख खर्च गरको छ। पाँच ६ जना कामदार सधैं खटिएका छन्। यसरी हेर्दा हेरचाह नहुने हो भने चक्रपथमा रोपिएका आधाउधी विरुवा त त्यसै नासिएर जाने भएको उनी बताउँछन्।

विरुवा हुर्केला भन्नेमा स्थानीय पनि विश्वस्त छैनन। ‘बिहीबार डोजर आएर खाल्डो खन्यो। शनिबार विरुवा गाडियो। यस्तो प्रचण्ड गर्मी छ। पानी सानी केही छैन,’ बालकुमारीका स्थानीय कृष्णगोपाल महर्जन भन्छन्, ‘फेरि विरुवा त्यस्तै गाडेको छ। तारबार केही छैन। कसरी हुर्केला ?’ ग्रीनबेल्टमा सवारी पार्किङ गर्दै आएका व्यवसाय, सडक व्यापरीले पनि विरुवा हुर्कन देलान् भन्ने नलागेको उनले बताए। ‘हामीलाई सधैं काम गर्ने खेतमा अन्नबाली हुर्काउन त गाह्रो छ। यहाँ बीचबाटोमा रोपेको भरमा यी कलिला विरुवा कसरी सर्लान् ?’ उनले प्रश्न गरे। कृषक महर्जनको शंकालाई मान्ने हो भने प्रधानमन्त्री केपी ओलीले रोपेको नास्पाती फल्नेमा शंकै छ।

प्रकाशित: १९ असार २०७६ ०२:५२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App