coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

नाकामा जोइन्ट कमान्ड सेन्टर स्थापना गरिने

रसुवाको स्याफ्रुबेंसीमा बुधबार बसेको सीमा सुरक्षा बैठकमा सहभागी नेपाली तथा चिनियाँ अधिकारी । तस्बिर/हिमनाथ

रसुवा - रसुवागढी नाकामा अवैध गतिविधि रोक्न जोइन्ट कमान्ड सेन्टरको स्थापना गरिने भएको छ। बुधबार रसुवाको स्याफ्रुमा बसेको दुई देशबीचको सीमा सुरक्षा बैठकमा सेन्टर स्थापना गर्ने सहमति भएको हो। नाकामा हुनसक्ने मानव बेचबिखन, सुन तस्करी र लागुऔषध ओसारपसार न्यूनीकरणका लागि एक महिनाभित्र सेन्टर स्थापना गर्ने सहमति भएको रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीले बताए।

सेन्टरले नाकामा देखिएका समस्याको समाधान गर्ने, नाकामा हुनसक्ने अवैध गतिविधि नियन्त्रणका लागि सूचना संकलन गर्ने, दुई देशबीच समन्वय गर्ने तथा आआफ्नो निकायमा रिपोर्टिङ गर्ने कार्य गर्नेछन्। बाहिरी जिल्लाका चालक तथा सहचालकलाई चिनियाँ पक्षले उपलब्ध गराउँदै आएको अस्थायी अनुमतिपत्रको व्यवस्थापन गर्ने चिनियाँ पक्षले जानकारी दिएको छ। यस्तो अनुमतिपत्र हालसम्म २२ जनाले पाइसकेका छन्।

समय सकिएपछि प्रत्येक पटक राहदानीमा छाप लगाउनुुपर्ने भएकाले यसका लागि १५ दिने पास उपलब्ध गराउन छलफल भएको अधिकारी भण्डारीले बताए। लामो समयदेखि चर्चामा रहेको एक दिने चीन प्रवेशाज्ञा उपलब्ध गराउने विषयमा पनि छलफल भएको छ।

यसका लागि चिनियाँ पक्षले माथिल्लो निकायमा छलफल प्रक्रिया अघि बढाउनेछ। त्यसैगरी नाका सञ्चालनमा आएसँगै महिला बेचबिखन समस्यालाई ध्यानमा राखी दुवै देशले निगरानी बढाउने भएका छन्। यहाँबाट केरुङ जाने किशोरी बढ्दै गएको र त्यहाँ पु-याएर वेश्यावृत्तिमा लगाउने गरेको गुनासो आउने गरेको छ। साथै बैठकमा सुन तस्करी नियन्त्रणका लागि दुवै देशले चेकजाँच बढाउने निर्णय भएको उनले बताए।

प्रकाशित: १९ असार २०७६ ०२:२९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App