४ वैशाख २०८१ मंगलबार
समाज

यातायात कार्यालयमा बिचौलियाको बिगबिगी, तीन पक्राउ

वीरगन्जस्थित यातायात ब्यवस्था कार्यालयमा सरकारी अभिलेखमा बिवरण लेख्दै गैरकर्मचारी । तस्विरः रितेश त्रिपाठी

बीरगन्ज– वीरगन्जस्थित यातायात ब्यवस्था कार्यालय बिचौलियाको आखडा बनेको छ। सेवाग्राही आफै जाँदा कार्यालयका कर्मचारीले काम अलमलाउने गरेर बिचौलियामार्फत आएमात्र सेवा पाउने बातावरण बनाएका छन्। आम सेवाग्राहीको यस्तो आरोप रहिरहेको बेला प्रहरीले सो कार्यालयबाट चार जनालाई बिचौलियाको आरोपमा भन्दै पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय पर्साले जनाएअनुसार त्यहाँबाट बुधबार त्यहाँबाट बिनयकुमार गुप्ता, शिवशम्भु यादव र श्यामसुन्दर साह पक्राउ परेका छन्। उनीहरुलाई नियन्त्रणमा लिई अनुसन्धान भइरहेको प्रहरीको भनाई छ। स्थानीयकाअनुसार यहाँ रहेको ठूलो संजालको अगाडि प्रहरीले ३ जनालाई नियन्त्रणमा लिनुले खासै अर्थ राख्दैन।

सेवाग्राहीकाअनुसार बिचौलियाले लिने अतिरिक्त पैसाबाट प्रत्येक टेबुलको लागि निश्चित रकम छुट्याइएको हुन्छ। वीरगन्ज रानीघाट बस्ने शिबालकप्रसाद गुप्ताले आफ्नो ‘युनिकर्न होण्डा’ मोटरसाइकल अरुलाई बिक्री गरेपछि नामसारी गर्न यातायात ब्यवस्था कार्यालय पुगे। राजश्व भुक्तानी र बिमाको कागजातलगायत सबै प्रक्रिया भइसकेर दुबै पक्षको नागरिकता सनाखतपछि अधिकृतको अन्तिम सही बाँकी थियो । ‘बिचौलियाको पछि लाग्दै दिउँसो १ बजे गायब भएका दुई अधिकृत डेढ बजेसम्म फाँटमा फर्केनन, फाइलको चाङ लाग्यो’, शिबालकले गत चैत १८ को आफ्नो अनुभव सुनाए, ‘कार्यालयका प्रमुखसंग आफै सहि गराउँछु भन्दा बिचौलियाले सल्लाह दिए, नलग्नुस।’ शिबालकले सुनेनन, फाइल आफै लिएर गए। तत्कालीन कार्यालय प्रमुख उपेन्द्र महतोले सही गर्न मानेनन्।

‘खलिहान’मा पराल थुपारेजस्तै वीरगन्जस्थित यातायात ब्यवस्था कार्यालयमा फलिएका सवारी दर्ता फाइल ।

कार्यालयका अभिलेखमा त्यहाँको कर्मचारीको होइन बिचौलियाकै हातले लेखिएको सरकारी अभिलेख दैनिक तयार हुन्छ। कार्यालयको अभिलेखका किताबमा बिबरण लेख्ने काम यदाकदा कर्मचारीबाट भएको भेटिन्छ। गैरकर्मचारीबाट लिखित अभिलेखहरु बिचौलियाको चँगुलमा कार्यालय रहेको कुराको बलियो प्रमाण भएको गुप्ताको भनाई छ। सेवाग्राहीकाअनुसार अतिरिक्त आर्थिक उपार्जजनको लोभमा कार्यालयलाई बिचौलियाको अखडा बनाइएको छ। यस कार्यालयले पर्सा, बारा र रौतहटसम्मको यातायात ब्यवस्था गर्ने गरेको छ। साबिकको कार्यक्षेत्र चितवनदेखि रौतहटसम्म पाँच जिल्लाका पुराना सवारीका सेवाग्राहीहरु पनि यहाँ आउने गरेका छन्। 

‘एजेन्ट’भनिने बिचौलियाको हातबाट गएको फाइल कर्मचारीले सजिलै अगाडि बढाउँछन्। सेवाग्राहीले लैजाँदा सुनुवाई हुँदैन। कुनै पनि टेबुलमा वा कुनै कर्मचारीको हातमा पैसाको अतिरिक्त लेनदेन भने हुँदैन। ‘यति रुपैयाँ खर्च लाग्छ’भन्दै बिचौलियाले एकमुष्ठ रकम तय गर्छन्। कार्यालय परिसरमा र बाहिर दर्जनौं बिचौलिया छन्। 

उनीहरु कार्यालयबाट मान्यता प्राप्त वा अन्य कुनै निकायबाट इजाजत प्राप्त अभिकर्ता भने होइनन। त्यहाँका निमित्त कार्यालय प्रमुख बिपिनलाल कर्णले आफूहरुले ‘एजेन्ट’ नराखेको दावी गरे। यसअघि पनि प्रहरीले धेरै पटक छापामारी गरेर बिचौलियाहरुलाई समात्ने काम गरेको छ। स्थानीयकाअनुसार छापामारीपछि केही हप्ता बिचौलिको चहलपहल त्यहाँ कम हुन्छ। पछि फेरि साबिक अवस्थामै अहिलेको जस्तो बिचौलियाको बिगबिगी सुरु हुन्छ। 

प्रकाशित: १८ असार २०७६ १५:१६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App