coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

यार्साले लखेट्यो कालापहाड

जुम्लाका युवा बन्दाेबस्तीका सामानसहित यार्सा टिप्न पाटन जाने तयारी गर्दै। फाइल तस्बिरः नागरिक

जुम्ला – सिँजाका भैरवबहादुर सार्की यार्सा संकलनका लागि मुगु पाटनमा जान थालेको पाँच वर्ष जति भयो। उनी बर्सेनि एक सय देखि एक सय ५० सम्म यार्सा टिप्थे। उनको यार्साको कमाइले परिवारको वर्षभरिको खर्च धान्न सजिलै हुन्थ्यो। तर, यो पटक निकै कम यार्सा संकलन गरे।

‘यो वर्ष यार्सा पनि भेटिएन, उल्टो घरबाट लैजाँदा भएको खर्चसमेत उठेन,’ उनले भने, ‘ऋणको भारी बोक्नुपर्ने अवस्था आयो।’ उनीसँगै गएका गाउँले युवाले समेत यार्सा सोचेअनुसारको पाउन सकेनन्। ‘ज्यान बच्यो त्यसैमा खुसी छौँ,’ उनले भने, ‘ऋण त ज्यालादारी गरेर भए पनि तिरौँला।’

पातारासी गाउँपालिका–१ का मुनबहादुर बुढा वर्षभरिको घर खर्च चलाउन, छोराछोरीको पढाइ खर्च जुटाउन हरेक वर्ष जोखिम मोल्दै डोल्पा तथा मुगुको पाटनमा यार्सा संकलनका लागि जाने गरेको अनुभव सुनाउँछन्। ‘अहिलेसम्म बर्सेनि ६० हजार रुपैयाँभन्दा कम हुन्थेन,’ उनले भने, ‘पाटनको कमाइप्रति निकै सन्तोष भइन्थ्यो। तर यो पटक रित्तो हात फर्कनु प-यो।’

अधिकांश युवा यार्सा संकलन गर्न जाँदा लिइएको ऋण तिर्नकै लागि कालापहाड हिँडिसकेका छन्।

उनका अनुसार खेतीपातीका लागि केही मात्र यार्सा संकलक घर फर्किएका छन्। अधिकांश युवा यार्सा संकलन गर्न जाँदा लिइएको ऋण तिर्नकै लागि कालापहाड हिँडिसकेका छन्। ‘यार्साले कालापहाड लखेट्यो, ऋणको बोझ बढायो,’ उनले भने। जुम्लाको सिँजा, पातारासी, तातोपानी, चन्दननाथ नगरपालिका, गुठीचौर गाउँपालिकाका युवा यार्सा संकलनका लागि पाटनतर्फ जाने गर्छन्।

जुम्लासँगै कालीकोट, जाजरकोट, डोल्पाका युवा पनि पाटनमै छन्।   यार्सा टिपेरै वर्षभरिको घर खर्च चलाउने मनसाय बोकेर पाटन छिरेका स्थानीय दलबहादुर बुढा पाटन हुँदै कालापहाडतिर लागे। आशालाग्दो आम्दानी नहुने देखेपछि उनी घर फर्कन चाहेनन्। 

घर फर्किएका युवा पनि ऋण तिर्नकै लागि भए पनि कलापहाड जाने तयारीमा छन् । यहाँका स्थानीयको प्रमुख आम्दानीको स्रोत यार्सा हो। यार्सा नै नभेटिएपछि बाध्य भएर कालापहाड जानुपर्ने बुढाले बताए। पातारासी पेरेका झन्डै तीन सय घरधुरीमध्ये एक सय ५० बढी युवा पाटनबाटै यार्सा संकलन गर्दा लागेको ऋण तिर्न कालापहाड गएको स्थानीय बताउँछन्।

पातारासीका रामबहादुर बुढा यार्सा संकलनमा लागि १५ हजार रुपैयाँ जम्मा पारेर गएकोमा झण्डै ३० हजार ऋण लागेको बताउँछन्। गत वर्ष ६० हजार रुपैयाँ कमाएका उनी यो पटक निकै सास्ती बेहोर्नु परेको बताउँछन्। यसपटक पाटनमा नियमित वर्षा भएको र हिमपात सँगसँगै भइरहेकाले यार्सा टुसाउन नपाएको अनुभव यार्सा संकलकको छ। यो पटक जुम्लाका मात्र नभई सबै क्षेत्रबाट यार्सा टिप्न गएका संकलक रित्तो हात फर्किए।

भेटिएको यार्सा पनि हिमपात र अत्यधिक चिसोका कारण कालो भएर बिग्रिसकेको छ। थोरथोरै पाइएको यार्सा पनि घरमै थन्किएको छ। यार्सा मूल्यनै अन्योलमा छ। व्यापारी पनि यार्सा संकलनका लागि गाउँ छिरेका छैनन्। गत वर्ष प्रतियार्सा आठ सयदेखि एक हजार रुपैयाँसम्म मूल्य थियो। यो पटक एक सय रुपैयाँमा पनि व्यापारीले लिन मानेका छैनन्। पाटनमा खर्च सकिँदा दुई–तीन सय रुपैयाँमै पनि बेच्न बाध्य भएको यार्सा संकलक बताउँछन् ।

प्रकाशित: १८ असार २०७६ १०:३४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App