८ वैशाख २०८१ शनिबार
समाज

मेचीनगरको गौरवकै परियोजनाको बजेट फ्रिज

भद्रपुर- मेचीनगर नगरपालिकाको चालू आर्थिक वर्ष २०७५/७६ मा खर्च गर्न नसक्दा नगरका गौरवका ठूला परियोजनाको बजेट फ्रिज भएको छ।    
    
 नगरपालिकाका सूचना अधिकारी पदमबहादुर कार्कीका अनुसार साइन्स सिटी, क्रिक्रेट रङ्गशाला र पशु बधस्थलमा बहुमतले व्यापारिक भवन निर्माणमा विनियोजित शत्प्रतिशत रकम फ्रिज भएको हो। मेचीनगर–६ काँकडभिट्टास्थित पशु बधस्थलमा निर्माण गर्ने भनिएको बहुमतले व्यापारिक भवनका लागि आव २०७५/७६ को बजेटमा छुट्याइएको रु ५० लाख रकम फ्रिज भएको छ।    
    
 नगरपालिकाको स्वामित्वमा रहेको जग्गामा वर्षौंदेखि बसोबास गरिरहेका २२ परिवारलाई व्यवस्थापन गर्न ढिलाइ भएका कारण व्यापारिक भवनको काम चालू आर्थिक वर्षभित्र शुरु गर्न नसकिएको वडाध्यक्ष ललित तामाङले बताए।    
    
 यसैगरी मेचीनगर–१० धुलाबारीमा साइन्स सिटी निर्माणका लागि छुट्याइएको रु ६५ लाख बजेट खर्च नभई फ्रिज भएको छ। विज्ञानसम्बन्धी उद्यान बनाउने यो योजना नगरपालिकाको गौरवको योजना मानिएको थियो। वडाध्यक्ष सुदय पनेरुले साइन्स सिटीका लागि निर्धारित स्थानमा अब फुटबल एकेडेमी निर्माणको पहल थालिएको जानकारी दिए। साइन्स सिटीको परियोजना अर्को वडामा लैजाने तयारी भइरहेको समेत उनले बताए।
    
 मेचीनगरलाई खेलकूदको हब बनाउने उद्घोषका साथ आव २०७५/७६ मा मेचीनगर–७ मा क्रिक्रेट रङ्गशाला निर्माण गर्न रु २५ लाख विनियोजन गरिएको थियो। यो बजेटको रकम काम शुरु नभई फ्रिज भएको छ। सो वडाका अध्यक्ष चन्दन मेचेले क्रिक्रेट रङ्गशाला निर्माणका लागि वडाका तर्फबाट भरमग्दुर प्रयत्न गर्दा पनि जग्गादातासँग नगरपालिकाले सम्झौता गर्न नसक्दा काम शुरु नै नभएको बताए।    
    
 चालू आर्थिक वर्ष २०७५/७६ मा मेचीनगर नगरपालिकाले रु एक अर्ब १५ करोडको बजेट निर्माण गरेको थियो। आगामी आव २०७६/७७ का लागि मेचीनगर नगरपालिकाले रु एक अर्ब ३४ करोडको वार्षिक बजेट सार्वजनिक गरिसकेको छ।    
    
 नगरका तीन प्रमुख शहरका तीन ठूला गौरवका परियोजनाकै बजेट फ्रिज हुँदा नगरको खर्च गर्न सक्ने क्षमतामाथि प्रश्न उठेको छ। सामाजिक विश्लेषक गोविन्द न्यौपानेले ठूला परियोजनाकै बजेट शत्प्रतिशत फ्रिज हुनुले जनप्रतिनिधिको कार्य क्षमतामाथि प्रश्न उठेको बताए। परियोजनाको छनोट सही ढङ्गले गर्न नसकेको र जनप्रतिनिधि विकास निर्माणप्रति प्रतिबद्ध नभएको परिणाम नै विकासका बजेट खर्च हुन नसकेको उनले बताए। रासस

प्रकाशित: १८ असार २०७६ ०९:५९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App