४ वैशाख २०८१ मंगलबार
समाज

चार दिनदेखि दुईवटा शव अस्पतालमै

घटनाको विरोध गर्दै मंगलबार साँझ राजपाका नेता कार्यकर्ताले ईश्वरपुर बजारमा निकालेको मसाल जुलुस। (तस्बिरः टंक/ नागरिक)

सर्लाही– पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सर्लाहीको बाँके जंगल खण्डमा आइतबार दिउँसो प्रहरीको गोली लागेर मृत्यु भएका युवक र बाँके खोलाको खाडलमा डुबेर आईतबार नै फेला परेका बालकको शव तीन दिनदेखि सदरमुकाम मलंगवास्थित जिल्ला अस्पतालमै थन्किएको छ।

सत्ताधारी नेपाल कम्युनिष्ट पार्टी एवं राजपा नेपालका नेता कार्यकर्ताबीच घटनाको विषयमा आरोप प्रत्यारोप नै भएको छ । जसकारण शनिवार दिउँसो सर्लाही र महोत्तरीको सीमा भएर बग्ने बाँके खोलामा क्रसर उद्योगका लागि चाहिने गिट्टीबालुवा निकाल्दा बनेको गहिरो खाल्डोमा डुबेर आइतबार मृत फेला परेका ईश्वरपुर नगरपालिका–१३, गौरीशंकरका लाले रायका ११ वर्षीय छोरा अमित राय तथा विरोध प्रदर्शनमा प्रहरीको गोली लागेर मृत्यु भएका स्थानीय २८ वर्षीय देवन भन्ने सरोजनारायण सिंहको शव अस्पतालमै थन्किएको हो। नेताहरुबीच आरोप प्रत्यारोप चलेपछि अस्पतालमा पोष्टमार्टम सम्पन्न भइसकेको शवमाथि राजनीतिको खतरा हुन सक्ने आभास बढेको छ।

नेकपा सर्लाही अध्यक्ष रेवती पन्तले खाडलमा डुबेका बालकको शव फेला परेपछि घटनालाई राजपा नेता एवं संघीय सांसद् प्रमोद साहले थप अतिरञ्जित बनाएको आरोप लगाउँदै सोमबार विज्ञप्ति नै जारी गरेका थिए। पन्तद्वारा जारी विज्ञप्तिमा बालकको मृत्यु भएको दुःखद् घटनामा वार्ता एवं संवादको माध्यमले समस्या समाधान गर्नुको साटो सांसद् साहले स्थानीयमा उत्तेजना फैलाएर थप अर्को दुर्घटना निम्त्याएको आरोप लगाइएको छ।

 घटना लगतै ईश्वरपुर नगरपालिकाका मेयर मनोज देवकोटा मृतकका परिवारलाई न्याय र राहत उपलब्ध गराउन तथा संवादका लागि गौरिशंकरस्थित प्रहरी चौकीमा पुगे पनि सांसद् साहले पीडित परिवारलाई वार्ता र संवादमा जानबाट रोकेर घटनालाई थप उत्तेजीत वनाएको विज्ञप्तिमा उल्लेख छ। एउटा दुःखद घटनालाई अतिरञ्जित बनाउँदा अर्को युवकको मृत्यु जस्तो अकल्पनीय दुर्घटना निम्तिएको नेकपा अध्यक्ष पन्तको आरोप छ। 

यता राजपा नेता एवं संघीय सांसद् साहले पनि नेकपा अध्यक्ष पन्तको विज्ञप्ति सार्वजनिक हुने वितिकै सामाजिक संजाल लगायत आरोपको प्रतिवाद गर्दै विज्ञप्ति जारी गरेका छन्। नागरिकन्यूजसँग कुरा गर्दै सांसद् साहले नेकपा अध्यक्ष पन्तले आफूमाथि घटनालाई अतिरञ्जित गराएको भन्ने आरोप निराधार रहेको दाबी गरेका छन्। ईश्वरपुर नगरपालिकाका मेयर मनोज देवकोटाले आफ्नो नगर क्षेत्रभित्र भएको घटना पश्चात तत्काल उद्दारका लागि पहल गर्ने, पीडित परिवारलाई भेटन जाने जस्तो सामान्य कर्तव्य समेत पूरा नगर्दा बालकको शव भेटिएपछि स्थानीय बासिन्दा आक्रोशित भएर न्याय माग्दै पूर्व–पश्चिम राजमार्ग गएको साहको भनाइ छ। न्याय माग्न जाने जनतालाई टाउकैमा ताकेर गोली हानिएको घटनाको विरोध गर्दा आफूमाथि नियोजित रुपमा नेकपाले घटना अतिरञ्जित गराएको आरोप लगाउँदा आफूलाई दुःख लागेको साहले गुनासो गरे।

‘नजिकै भएका मेयर बालक डुबेको स्थलमा दुई दिनसम्म पनि नपुग्ने अनि काठमाडौंमा भएको म ६ घण्टाभित्र घटनास्थल पुगेँ’, साहले भने, ‘यस्तो व्यवहार देखाएपछि स्थानीयमा मेयरसाबप्रति आक्रोश बढ्नु स्वभाविक हो।’ मेयर देवकोटा तत्कालिन नेकपा एमालेबाट निर्वाचित हुन्।

सोमबार सम्पन्न सर्वपक्षीय बैठकले गरेको निर्णय अनुसारको माग पूरा नभएसम्म आफन्तले मृतक दुवैजनाको शव नबुझ्ने समेत सांसद् साहको दावी छ। ‘कम्तिमा मृतकका परिवारलाई राहत उपलब्ध नगराएसम्म र घाइतेको उपचार व्यवस्था नभएसम्म आफन्तले शव बुझ्दैनन्’, सांसद् साहले भने, ‘हामी थप सशक्त आन्दोलनको घोषणा गरेर अगाडी बढ्ने छौं।’

ईश्वरपुर नगरपालिका कार्यालयले लापरवाही ढंगले गिट्टी बालुवा निकाल्न दिँदा बनेको खाल्डोमा डुबेर बालकको मृत्यु भएको भन्दै स्थानीयवासीले आइतबार दिउँसो पूर्व–पश्चिम राजमार्ग अन्तर्गत बाँके चोकमा बालकको शव राखेरै प्रदर्शन गरेका थिए। त्यसक्रममा राजमार्गको अवरोध हटाउने क्रममा प्रहरी र प्रदर्शनकारीसँग झडप भएको थियो। झडपका क्रममा प्रहरीले चलाएको गोली लागेर गौरीशंकरका २८ वर्षीय देवन भन्ने सरोजनारायण सिंहको मृत्यु भएको थियो। तिघ्रामा गोली लागेर सोही ठाउँका २१ वर्षीय राजकुमार महरा घाइते भएका छन्। त्यस्तै स्थानीयले ढुंगामुढा प्रहार गर्दा ११ जना नेपाल प्रहरी र ६ जना सशस्त्र प्रहरी समेत घाइते भएका छन्।

त्यस्तै ईश्वरपुर नगरपालिकाले पनि घटनाप्रति दुःख व्यक्त गर्दै बाँके खोलामा अवैध उत्खनन् रोक्न नगरपालिकाले बारम्बार पहल गरेको र बालक डुबेको खाल्डो महोत्तरीतर्फ पर्ने दाबी गरेको छ। २०७६ साल वैशाख २० गते अनुगमनका क्रममा बाँके खोला उत्खनन्मा अनधिकृत मेशिनरी साधन प्रयोग भइरहेको फेला परेको र तत्काल त्यस्ता सवारी साधनलाई नियन्त्रणमा लिएर खाडलहरु पुर्ने कबुलियतनामा समेत गराइएको र अनधिकृत कार्यको जरिवाना समेत असुल उपर गरिएको नगरपालिकाद्वारा जारी विज्ञप्तिमा छ। खाडल पुरेपछि मात्र सवारी साधन छाड्न प्रहरी कार्यालयलाई पत्राचार गरि नगरपालिकाबाट कारबाही समेत गरिएको दाबी गरिएको छ। बाँके खोलाको महोत्तरी क्षेत्रतर्फ पुनः खाल्डो खनिएको र सो खाल्डोमा परि बालकको मृत्यु भएको नगरपालिकाको विज्ञप्तिमा दाबी गरिएको छ।

सोमबार साँझ सदरमुकाम मलंगवामा सम्पन्न सर्वपक्षीय बैठकले दुवै मृतकलाई शहीद घोषणा गर्नुपर्ने, पीडित पक्षलाई उचित राहत दिनुपर्ने, घाइतेको उपचार गर्नुपर्ने, गोलीकाण्डको न्यायिक छानविन हुनुपर्ने, गोलीप्रहार गरी हत्यामा संलग्न प्रहरीमाथि कडाभन्दा कडा कारबाही गर्नुपर्ने, खोलामा अवैध उत्खनन् गर्ने तथा गराउने माथि कडा भन्दा कडा कारबाही गर्नुपर्ने, बाँके खोलालाई पूर्ण व्यवस्थापन गराउने, मृतकका परिवारबाट कम्तिमा एकजनालाई रोजगारीको व्यवस्था गर्नुपर्ने र मृतकको सन्तानलाई निःशुल्क शिक्षा र पालन पोषणको व्यवस्था मिलाउनु पर्ने लगायत माग सहित निर्णय गरिएको जिल्ला समन्वय समितिका संयोजक मेथुर चौधरीले जानकारी दिए।

जिल्ला समन्वय समितिका संयोजक चौधरीको अध्यक्षतामा समन्वय समितिको कार्यालयमा बसेको बैठकमा नेपाली कांग्रेसका सभापति एवं संघीय सांसद् नागेन्द्र कुमार राय, राजपा नेता एवं संघीय सांसद् प्रमोद साह, प्रदेश सांसद् उपेन्द्र कुशवाहा, प्रदेस सांसद् संजय यादव, कांग्रेस नेता जंगीलाल राय, संघीय समाजवादीका अध्यक्ष विरेन्द्र यादव, राजपा जिल्ला अध्यक्ष नागेश्वर महतो, नागरिक समाजका महासचिव शिवचन्द्र चौधरी लगायत, उद्योग वाणिज्य संघ मलंगवाका वरिष्ठ उपाध्यक्ष विरेन्द्र साह लगायतको उपस्थिती रहेको थियो। वैठकमा शव उठाउने विषयमा सहमति जुट्न नसकेपछि नेकपाका नेताहरु भने बाहिरिएको बताइएको छ।

सर्वपक्षीय बैठकको निर्णय सहितको ज्ञापन पत्र बुझेर हुबहु गृह मन्त्रालयमा पठाइएको र माग सम्बोधनको प्रकृया अघी बढिसकेको प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर राउतले जानकारी दिए। ‘गृह मन्त्रालयबाट घटनाको छानविनका लागि समिति बनिसकेको छ, त्यस्तै क्षतिपूर्ती र घाइतेको उपचारसहितको प्रस्ताव आज हुने मन्त्रिपरिषद्को बैठकमा पेश हुँदैछ’, प्रजिअ राउतले नागरिकसँग भने, ‘माग सम्बोधनका लागि गृह मन्त्रालयबाट प्रतिवद्धता समेत आइसकेको छ, मुलुकको कानूनन नै निर्माण गर्नुहुने जिम्मेवार सांसद्ज्यूलाई विधि र प्रकृयाका बारेमा सबै थाहा छँदैछ, मैले गृह मन्त्रीज्यू र सचिवज्यूसँग कुरा समेत गर्नुहोस् भनेकै छु, विश्वासले संसार अडिएको छ, गर्मी मौसम भएकाले आफन्तलाई शव बुझ्न लगाएर समस्या समाधानको बाटोमा अगाडी बढ्न आग्रह गर्दछु।’

कांग्रेस सर्लाही सभापति एवं संघीय सांसद् नागेन्द्रकुमार रायले दुःखद् घटनालाई जुनसुकै पार्टी र नेताले अतिरञ्जित अनि आरोप–प्रत्यारोपमा नउत्रिएर समाधानको लागि पहल गर्नुपर्ने बताए। ‘एकजना अवोध बालकको दुःखद् मृत्यु भयो, अनि त्यसकै विरोध गर्दा अर्का युवकको ज्यान गयो’, कांग्रेस सभापति रायले भने, ‘चार दिनदेखि दुईवटा शव अस्पतालमै थन्किएको छ, अब पार्टी नेताबीच आरोप–प्रत्यारोप भन्दापनि समस्या समाधानको बाटोमा अगाडी बढेर मृतकका परिवारलाई राहत दिलाउन पहल गर्नु आवश्यक छ।’

यसैबीच मंगलबार बिहान राजपा नेपालका नेता कार्यकर्ता सहित स्थानीयले गौरिशंकरमा टायर बालेर विरोध प्रदर्शन गरेका छन् भने साँझ ईश्वरपुर बजारमा मसाल जुलुस प्रदर्शन गरेका छन्। सर्वपक्षीय निर्णय अनुसारको माग पूरा गर्नुपर्ने भन्दै विरोध एवं मसाल जुलुस प्रदर्शन भएको सांसद् साहले जानकारी दिए।
त्यस्तै आज ईश्वरपुर नगरपालिका कार्यालयमा पीडित पक्ष र नगरपालिकाका मेयर देवकोटाबीच वार्ता भइरहेको छ। खोलामा डुबेका बालकका परिवारलाई राहत प्रदान गर्ने विषयमा पीडित परिवारको तर्फबाट नेपाली कांग्रेसका नेता एवं पूर्व मन्त्री शम्भुलाल श्रेष्ठले नेतृत्व गरिरहेका छन् भने नगरपालिकाको तर्फबाट मेयर देवकोटाले नेतृत्व गरिरहेका छन्।

प्रकाशित: १८ असार २०७६ ०८:४८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App