धनुषा– भारतको विभिन्न ठाउँबाट अवैध गुटखा नेपाल भित्रिँदै आएको पाइएको छ। भारतीय सीमासँग जोडिएका प्रदेश २ का अधिकांश सीमाबाट अवैध रुपमा खरिद गरिएको गुटखा नेपाल भित्रिँदै गरेको पाइएको छ। भारतीय व्यवसायीले प्रतिबन्धित गुटखा भन्सार छल गरी भिœयाउने गरेको हो।
सिमाना तथा आफ्नो रूटमा पर्ने प्रहरी चौकी तथा सशस्त्र प्रहरीका क्याम्पहरूमा मोटो रकम बुझाएपश्चात् अवैध तरिकाले सामानहरू नेपाल भित्र्याउने गरेको बुझिएको छ। नेपाल प्रहरी तथा सशस्त्र प्रहरीकै मिलोमतोमा धनुषाको जटही, महोत्तरीको मटिहानीलगायत भारतीय सीमासँग जोडिएका सीमा क्षेत्रबाट प्रतिबन्धित गुटखा भित्रिँदै आएको छ। विभिन्न सीमाबाट नेपाल बजारमा अवैध गुटखा भित्रिएको स्थानीयले बताएका छन्।
स्थानीयका अनुसार प्रहरी नै मोटो रकमको प्रलोभनमा परी अवैध रुपमा प्रतिबन्धित गुटखा नेपाल भित्र्याउन दिने गरेको छ। जनकपुरसहित बारा, पर्सा, विराटनगर हुँदै राजधानी काठमाडाैंमा समेत अवैध भारतीय गुटखाको दबदबा रहेको भेटिएको छ। राजनिवास, रजनिगन्धाजस्ता प्रतिबन्धित गुटखाको अवैध व्यापारमा उच्च तहका कर्मचारीदेखि तस्करहरू सक्रिय रहेको भेटिएको छ। भारतीय गुटखा नेपाल भिœयाउँदा ३० प्रतिशत अतिरिक्त भन्सार, १३ प्रतिशत अन्तशुल्क र प्रतिकिलो ५ सय ५४ रुपैयाँ अतिरिक्त शुल्क तिर्नुपर्ने कानुनी व्यवस्था रहे पनि व्यवसायीले भन्सार छल गरी नेपाल भित्र्याउने गरेको पाइएको हो।
भारतीय गुटखाको अवैध कारोबार लामो समयदेखि हुँदै आए पनि सरोकारवाला निकाय मौन देखिएको छ। भन्सार छल गरी नेपाल भित्र्याएको गुटखाले दैनिक लाखौंको राजस्व गुमाउनुपरेको छ। सीमावर्ती सुरक्षामा खटिएको प्रहरीले भने अवैध गुटखा नभित्रिएको दाबी गरेका छन्।
यता गुटखा कारोबारमा संलग्न एक व्यापारीले नाम नखोल्ने शर्तमा भने ‘ग्राहकहरूको पहिलो रोजाइ नै भारतीय गुटखा हो,’ उनले भने, ‘हामी पनि नेपाली गुटखा नै बेच्न चाहन्छौं तर ठूला होलसेल तथा सप्लायर्सहरूले नै बढी नाफा कमाउने उद्देश्यले भारतीय गुटखाको बजारीकरण गरिरहेको छ। उच्च तहमा समेत भारतीय गुटखावालाको सेटिङ छ।’
भारतीय अवैध गुटखा नियन्त्रण गर्न उनले ठूला व्यापारीलाई नै निगरानीमा राख्न सरोकारवाला निकायलाई सुझाए। यता भारतीय अवैध गुटखाको कारोबार बढेसँगै नेपाली गुटखा कारोबारमा संलग्न व्यापारीहरू मारमा परेको गुनासो गरेका छन्। नेपाल सरकारले तोकेको राजस्व तथा अतिरिक्त शुल्क तिरे पनि अवैध गुटखासँग प्रतिस्पर्धा गर्न नसकेर व्यापारबाटै विस्थापन हुने जोखिम बढेको व्यवसायीले बताएका छन्। करोडौंको लगानी र यस क्षेत्रमा काम गरिरहेका हजारौं मजदुरले समेत रोजगारी गुमाउन सक्ने जोखिम उत्पन्न भएको एक व्यापारीले जनाए।
केही स्थानीय तहको सक्रियतामा विद्यालय तथा अस्पताल क्षेत्रमा सुर्तीजन्य पदार्थको कारोबारमा कडाइ गर्ने व्यवस्था लागू गरेको भए पनि राजस्व स्टिगर नलागेका गुटखाको व्यापार हुँदा समेत सरोकारवाला निकाय मौन देखिएको छ। समयमा बजार अनुगमन नहुँदा अवैध भारतीय गुटखाको नेपालमा बिगबिगी देखिएको छ।
प्रकाशित: १८ असार २०७६ ०७:०३ बुधबार