८ वैशाख २०८१ शनिबार
विचार

वायुसेवाको प्राणवायु

नेपाल वायुसेवा निगमको ६१औं वार्षिकोत्सव उत्सवमय बन्न सकेन। पर्यटन मन्त्रालयको समेत जिम्मेवारी लिएका प्रधानमन्त्री केपी शर्मा ओलीले निगम व्यवस्थापनप्रति गरेको कटाक्ष अर्थपूर्ण छ। यो कटाक्ष अर्थपूर्णमात्र रहेन, प्रधानमन्त्रीको यो असन्तुष्टि स्वाभाविकसमेत हो। निगमले वार्षिकोत्सवको उपलक्ष्यमा विमान थप गरेको, थप उडान गन्तव्य तय गरेको, फेरि विमान खरिद योजना पनि बनाएको भए निःसन्देह प्रधानमन्त्रीको स्याबासी सम्भव हुन्थ्यो। राष्ट्रिय ध्वजावाहकप्रति सर्वसाधारणले गौरव गर्ने मौका पाएका छैनन्। निगमले गत वर्षमात्र वाइडबडी खरिद गरेको छ। तर विमान लामो दूरीमा जान पाएका छैनन्। जापानमा रोकिएको उडान सुरु हुने अपेक्षा भए पनि त्यसका निम्ति काम हुन सकेन। उडान सुरु हुने पूर्वसूचना बलात् रोकिएको छ र फेरि अर्को मितिको पर्खाइ छ। निगमलाई यतिबेला विमानको अभाव छैन। भएकै विमानलाई उडाउने क्षमता व्यवस्थापनले गुमाएको स्थिति छ। आन्तरिक र बाह्य उडानका लागि विमानको आवश्यकता महसुस गरी चीनबाट ल्याएका दुई ठूला विमान एमए ६० र आन्तरिक उडानका लागि ल्याएका चार साना वाई १२ विमानसमेत उडान नगरी विमानस्थलको पार्किङ लटमै बसेका छन्। प्रधानमन्त्री ओलीले ओहोरदोहोर गर्दा विमानस्थलमा निगमका विमान देखेर खुसीभन्दा दुःख व्यक्त गर्नुपर्ने अवस्थामा पुगेको उनका अभिव्यक्तिबाट देखिन्छ। निजी कम्पनी दुईवटा विमान ल्याएर पनि नाफामा गएका छन्। तर नेपाल वायुसेवाले भने प्रगति गर्न सकेन। बरु यो राजनीतिक दबाबले थिल्थिलो भएको छ। अनि राजनीतिक प्रभावबाट आउने व्यवस्थापनका कारण अल्मलिएको छ।

निगमभित्रको व्यवस्थापन नहेरी अहिलेकै अवस्थामा २० वा ३० अर्ब दिँदैमा विमान उड्न सक्छ भन्ने विश्वास प्रधानमन्त्री ओलीलाई नभएको देखिन्छ। के निगम व्यवस्थापन आफ्नो जिम्मेवारीप्रति सचेत छ ? सचेत हुँदो हो त यस्तो प्रश्न गर्नुपर्ने अवस्था आउने थिएन। ओलीले वार्षिकोत्सवलाई सम्बोधन गरेर व्यवस्थापनलाई सुन्नुपर्ने आवश्यकतासमेत महसुस गरेको देखिएन।

प्रधानमन्त्री ओलीले भनेका छन्– ‘चढ्ने, चढाउने, उडाउने, व्यवस्थापन गर्ने कोही पनि घाटामा गएको छैन।’ निगम एक्लैमात्र घाटामा गएकोप्रति उनले लक्ष्य गरेका छन्। निगमसँग व्यवसाय गर्ने सबै नाफामा छन्। यतिका धेरै स्रोतसाधन भएर पनि घाटामा जानुको पछाडि व्यावसायिक क्षमताकै अभाव हो भन्नेमा कुनै शंका छैन। यो संस्थामा नियुक्त भएर आएका व्यक्तिले आफ्नो तर्फबाट पर्याप्त योगदान दिन सकेको देखिएन। साह्रै ठूलो आँटले वाइडबडी विमान ल्याए पनि त्यसको नियमित उडानको तयारी कमजोर रह्यो। प्रधानमन्त्री ओलीले त्यसलाई समेत लक्ष्य गरी पहिले पनि अभिव्यक्ति दिइसकेका छन्। त्यसका लागि समयमै किन योजना बनाइएन भन्ने उनको जिज्ञासा रहेको हो। निगम व्यवस्थापनले विमान खरिद गरेपछि चुक्ता गर्नुपर्ने रकमका निम्ति सरकारसँग आग्रह गरिरहेको छ। प्रधानमन्त्रीले ‘यथास्थितिमा एक रुपैयाँ दिइँदैन’ भनेर व्यवस्थापन सुधारका निम्ति कडा निर्देशन दिनुपर्ने अवस्था आउनु आफैंमा मननयोग्य पक्ष हो। निगमभित्रको व्यवस्थापन नहेरी अहिलेकै अवस्थामा २० वा ३० अर्ब दिँदैमा विमान उड्न सक्छ भन्ने विश्वास प्रधानमन्त्री ओलीलाई नभएको देखिन्छ। के निगम व्यवस्थापन आफ्नो जिम्मेवारीप्रति सचेत छ ? सचेत हुँदो हो त यस्तो प्रश्न गर्नुपर्ने अवस्था आउने थिएन। ओलीले वार्षिकोत्सवलाई सम्बोधन गरेर व्यवस्थापनलाई सुन्नुपर्ने आवश्यकतासमेत महसुस गरेको देखिएन। यसबाट निगम व्यवस्थापनले प्रधानमन्त्रीको विश्वास पूर्णतः गुमाएको रूपमा यसलाई लिन सकिन्छ। तर निगम व्यवस्थापन यति कमजोर हुनुमा सरकार प्रमुख र राजनीतिक नेतृत्वको पनि उत्तिकै दोष छ। त्यसमा सुधार गर्न प्रधानमन्त्री स्वयंले के गरे ? यसमा पनि विचार पुग्नुपर्छ।

सरकारी संस्थानका रूपमा रहेको निगमको धेरै अर्थमा महत्व छ। उड्डयन क्षेत्रलाई सन्तुलित राख्न यो सार्वजनिक संस्थानको भूमिका महत्वपूर्ण छ। निगमले विमान हटाउनासाथ त्यस क्षेत्रमा उडान गरिरहेका विदेशी विमान कम्पनीले टिकटको मूल्य बढाउँछन्। भारतमा नेपाल वायुसेवाले उडान स्थगित गर्नासाथ यात्रा महँगो हुने गर्छ। त्यसमा पनि मुलुकको सरकारी वायुसेवा भएका कारण राज्यले उडान गन्तव्यका हिसाबले पाएका सुविधाबाट यो स्वतः लाभान्वित हुनसक्छ। संसारभरिका मुलुकले नेपाल वायुसेवालाई स्वागत गर्न सक्ने अवस्था छ। उडान गन्तव्य बढाउँदै व्यवसायलाई सफल बनाउन सकिने सम्भावनालाई भने यसले खासै ध्यान दिन सकेको देखिएन। आन्तरिक उडानकै क्षेत्रमा निजी क्षेत्र दुर्गममा गएनन् भनी ल्याएका चिनियाँ साना विमान किन उपयोग गरिएन ? किन तिनलाई थन्क्याएर राखियो ? कतै अरू कम्पनीलाई यी विमान भाडामा लगाउने उद्देश्य त छैन ? निगमले अन्तर्राष्ट्रिय गन्तव्य विस्तारमा आफूलाई सशक्त रूपमा नलगाउनुमा पनि यहाँ उडान गर्ने बाह्य कम्पनीले आफ्नो नाफा घट्ने डरले फ्याँकेको जालमा व्यवस्थापन आफैं प-यो कि भन्ने शंका पनि छ। निगमको नेतृत्व गरिरहेका कार्यकारी अध्यक्ष मदन खरेलप्रति यी प्रश्न सुरुकै दिनदेखि सोझिएका छन्। उनी आएपछि निगमको सञ्चालन र व्यवस्थापनमा देखिएका कमजोरीले झन् यसलाई ओरालो लगाउन भूमिका खेलेको महसुस गरिएको छ। निगमको साख बचाउन र फेरि यसलाई प्रगतिपथ उन्मुख गराउन व्यवस्थापनको काँधमा गम्भीर जिम्मेवारी छ। आफूसँग विमान भएर उडाउन नसक्ने व्यवस्थापनले अवगालको भारी बोक्नैपर्छ। प्रधानमन्त्रीले प्रस्टै भनेका छन्– ‘विमानले के बिगा-यो, के नोक्सान गरेको छ ? यो सब विमानले गरेको होइन, हाम्रो कारणले घाटा भइरहेको हो।’

प्रकाशित: १८ असार २०७६ ०३:५९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App