८ वैशाख २०८१ शनिबार
अर्थ

पाइप र फिटिङ्समा स्वदेशी नै सक्षम

मिनराज भण्डारी

काठमाडौं – मुलुकको हरेक क्षेत्रमा विदेशबाट आयातित सामान प्रयोग भइरहेका बेला निर्माण क्षेत्रमा प्रयोग हुने पाइप तथा फिटिङ्सको उत्पादनमा मुलुक आत्मनिर्भर भएको छ। बजारको माग पूरा गर्न स्वदेशी उद्योग सक्षम भएका छन्।

भवन बनाउँदा प्रयोग हुने पाइप र फिटिङ्सका सामग्री यहाँका उद्योगले नेपाल गुणस्तर मापदण्डअनुसार उत्पादन गरेका छन्। घर निर्माणका क्रममा आवश्यक पर्ने पानी ट्यांकी, पिपिआर, युपिभिसी, पिभिसी सिपिभिसी, एचडिपिई पाइप एन्ड फिटिङ, सिभिपिसी पाइप एन्ड फिटिङ, एचडिपिई पाइपलगायत सामग्री प्रयोग गर्छन्।

नेपाटप, रिजालको पाइप, आइटिपिएफ, हिलटेक, पञ्चकन्यालगायत करिब दुई दर्जन कम्पनीले पाइप तथा फिटिङ्सका सामग्री उत्पादन गर्दै आएका छन्। यहाँ सञ्चालन भएका उद्योगले नेपाल गुणस्तर प्रमाण (एनएस) र आइएसओ लिएको जनाएका छन्। गुणस्तर प्रमाणपत्र लिएकाले टिकाउ हुने कम्पनीहरुको दाबी छ।

स्वदेशी उद्योगले उत्पादन बढाएपछि पाइपलगायत प्लास्टिकजन्य वस्तुमा आत्मनिर्भर रहेको छ। आन्तरिक मागलाई धानेर निर्यात गर्ने सम्भावना रहेको उद्योगी बताउँछन्। उद्योगीले कच्चा पदार्थ भने तेस्रो मुलुकबाट ल्याउने गरेका छन्। उपभोक्ताको सन्तुष्टिका लागि पाइपमा वारेन्टीसमेत दिएका छन्।

सरकारले निर्धारण गरेको गुणस्तरलाई करिब दुई दर्जनभन्दा बढी उद्योगले पूरा गरेर एनएस चिह्न पाइसकेका छन्। खुला सीमाका कारण भारतीय बजारबाट केही चोरी निकासी भएर आए पनि यहाँका उद्योगले बजारको माग धानेका छन्। न्यूनतम १२ करोडदेखि २० करोड रुपैयाँसम्म लागनी गरेर उद्योग सञ्चालन गरेका छन्।

उद्योगले नयाँ–नयाँ प्रविधि भित्र्याएका छन्। ठूला साइजका फिटिङ्सका सामग्री विदेशबाट आए पनि अन्य सामग्री यहीँ उत्पादन हुने गरेको छ। बजारमा माग बढेपछि उद्योगीले उत्पादन पनि बढाएका छन्। उद्योगले समयसापेक्ष रुपमा उत्पादनलाई परिमार्जन गरिरहेका छन्।

गुणस्तरीय तथा टिकाउ सामग्री उत्पादनका लागि जर्मन प्रविधि भित्र्याएर पाइप उत्पादन गर्दै आएको आइटिपिएफका अध्यक्ष विनित अग्रवाल बताउँछन्। ‘नेपाली उपभोक्तालाई गुणस्तरीय पाइपलगायत फिटिङ उपलब्ध गराएका छौं,’ उनले भने, ‘दिगो निर्माणका लागि आइटिपिएफका सबै सामग्री प्रयोग गर्न सकिन्छ।’

रिजालकोे सेनोेलेक्स कम्पनीले नयाँ प्रविधियुक्त सिपिभिसी, पिभिसी र एचडिपी गरी तीन प्रकारका पाइप तथा खानेपानीको ट्यांकी उत्पादन गर्दै आएको छ। १६ एमएमदेखि ५० एमएमसम्मको सिपिभिसी र १६ एमएमदेखि दुई सय एमएमसम्मका पिभिसी तथा एचडिपीई पाइप बजारमा बिक्री गरिरहेको छ। कम्पनीका म्यानेजिङ डाइरेक्टर नविन रिजालका अनुसार युरोपियन तथा अमेरिकन प्रविधि प्रयोग गरेको छ।

‘बलियो र सस्तो निर्माण सामग्री उत्पादनमा जोड दिएका छौं,’ उनले भने, ‘अहिले हाम्रा उत्पादनको बजारमा अधिक माग छ।’ अन्य कम्पनीको भन्दा सस्तो र गुणस्तरयुक्त सामग्री उत्पादन गरेको उनको दाबी छ। दुई सय डिग्री सेन्टिग्रेट तापक्रमसम्म असर नपर्ने सामग्री उत्पादन गरेको रिजालको भनाइ छ। ‘चिसो तथा तातो पानीलाई मध्यनजर गरी उत्पादन गरिएको छ,’ उनले भने, ‘गुणस्तरमा कुनै समस्या छैन।’

नेपाटप अर्गनाइजेसनले पनि घर तथा भवन निर्माणका लागि आवश्यक सामग्री उत्पादन तथा बिक्री वितरण गर्दै आएको छ। कम्पनीका सिनियर म्यानेजिङ डाइरेक्टर विनोद महतका अनुसार एक सयदेखि हजार लिटरसम्मका खानेपानी ट्यांकी, २० देखि एक सय २० एमएम सम्मका पिपिआर पाइप उत्पादन गर्दै आएको छ। कम्पनीले ५० देखि दुई सय एमएम सम्मका पिपिसी पाइप, १६ देखि ५० एमएमसम्मका पिभिभी पाइप तथा १६ देखि पाँच सय एमएम सम्मका एचडिपिई पाइप बजारमा ल्याएको छ।

युपिभिसीमा आधारित झ्यालढोका नेपालमै उत्पादन गरेर बिक्री गरिरहेको कम्पनीले जनाएको छ। ‘युपिभिसीका झ्यालढोकाको माग बढ्दो छ,’ महतले भने, ‘देशभरका वितरकमार्फत सेवा दिइरहेका छौं।’ कम्पनीले गुणस्तरीय वस्तु उत्पादन गर्दै आएको जनाएको छ। ‘आम उपभोक्ताको घर निर्माण गर्ने सपनालाई साकार पारेका छौं,’ उनले भने, ‘हाम्रो उत्पादन टिकाउ छन्।’

बजारमा उपलब्ध पाइप तथा ट्यांकीको माग पनि बढ्दै गएको कम्पनीको दाबी छ। पाइप फिटिङको क्षेत्रमा दोस्रो ठूलो कम्पनी भएको महतले दाबी गरे। कम्पनीले पिपिआर दुई सय ५० भन्दा बढी प्रकारका पाइप मात्रै उत्पादन गर्दै आएको छ। ‘हाम्रा उत्पादन एकपटक प्रयोगमा ल्याएपछि उपभोक्ता आफैं खोज्दै आउँछन्,’ उनले भने, ‘टिकाउ सामग्री भएकाले ग्राहकको मन जित्न सफल भएका छौं।’

प्रकाशित: १८ असार २०७६ ०३:१४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App