८ वैशाख २०८१ शनिबार
अर्थ

लगानी थपियो, बजार बढेन

काठमाडौं – दुई तिहाइको सरकार बनेपछि मुलुकमा पूर्वाधार विकास निर्माणले गति लिनेमा सबै विश्वस्त थिए। सडक, सिँचाइ, जलविद्युतलगायत पूर्वाधार परियोजना सुरु हुने आसमा सिमेन्ट तथा डण्डी उत्पादन उद्योगमा धमाधम नयाँ लगानी थपियो। सिमेन्ट र डण्डी उद्योगमा अर्बौ रुपैयाँ लगानी गरेर गुणस्तरीय सामग्री उत्पादन गरे पनि निर्माण सामग्रीको बजार बढ्न नसकेपछि उद्योगी चिन्तित बनेका छन्।

मुलुकमा संक्रमणकाल अन्त्य भएर स्थिर सरकार आए पनि निर्माण क्षेत्रमा संक्रमणकालीन अवस्था रहेको व्यवसायी बताउँछन्। सिई कन्स्ट्रक्सनका कर्पोरेट बिजनेस हेड सुजन घिमिरेका अनुसार निर्माण क्षेत्रमा संक्रमणकालीन अवस्था कायम छ। ‘सबैतिर निर्माणका कुरा सुने पनि निर्माण क्षेत्रमा नयाँ परियोजना आउन सकेका छैनन्,’ उनले भने। रियल स्टेटमा तोकेको मापदण्डअनुसार जग्गा पाउन कठिन भएको घिमिरेको भनाइ छ।

बजारमा माग नबढेपछि उद्योग पूर्ण क्षमतामा सञ्चालनमा आउन सकेका छैनन्। नेपाल सिमेन्ट उत्पादक संघका अनुसार अहिले सिमेन्ट उद्योगमा लगानी बढेको छ। उद्योगले आफ्नो क्षमताको ८० प्रतिशतमात्र उत्पादन गरेका छन्। सिमेन्ट बनाउने ग्रान्डिङ उद्योगको क्षमता एक करोड ३० लाख टन पुगेको छ। खपत बढ्न नसकेपछि उद्योगी चिन्तित छन्। संघका अनुसार मुलुकमा करिब ९० लाख मेट्रिक टन सिमेन्ट खपत हुन्छ। हरेक वर्ष १० प्रतिशत खपत बढ्ने अपेक्षा गरिए पनि बढेन। ठूला पूर्वाधार परियोजनाको अभाव र सरकारले विकास खर्च गर्न नसक्दा सिमेन्टको खपत बढ्न नसकेको हो। 

उद्योग विभागका अनुसार अहिलेसम्म एक सय १३ वटा सिमेन्ट उद्योग सञ्चालनको अनुमति जारी भएको छ। तीमध्ये ५६ वटाले उत्पादन गरिरहेका छन्। केही नयाँ उद्योग तत्काल उत्पादन गर्ने तयारीमा छन्। ५४ वटा उद्योग निजी क्षेत्रले सञ्चालन गरेका छन्। सिमेन्ट उद्योगमा करिब दुई खर्ब रुपैयाँ लगानी पुगेको छ। यहाँ ओपिसी, पिपिसी र पिएससी सिमेन्ट उत्पादन हुन्छ। केही वर्षअघिसम्म आयात हुने क्लिंकर पछिल्लो समय सिमेन्ट उद्योग आफैंले उत्पादन गरिरहेका छन्।

अर्घाखाँची सिमेन्टका असिस्टेन्ट जनरल मेनेजर रमेश थापाले निर्माण क्षेत्र अपेक्षित रुपमा बढ्न नसकेको बताए। निर्माण बढ्ने आशमा अर्घाखाँचीले पछिल्लो समय पिपिसी सिमेन्ट उत्पादन सुरु गरेको छ। चार वर्षदेखि ओपिसी सिमेन्ट उत्पादन गरेको अर्घाखाँचीले अहिले पिपिसी उत्पादन गरेको छ। पिपिसी सिमेनट प्लास्टरमा प्रयोग गर्न राम्रो हुने थापाले बताए। थापाका अनुसार आफ्नै क्लिंकरबाट सिमेन्ट उत्पादन गरिरहेको छ। अर्घाखाँचीले मापदण्ड अनुसार गुणस्तरीय सिमेन्ट उत्पादन गर्दै आएको बताए। निर्माण सामग्रीको बजार उत्साहजनक नभएको थापा बताउँछन्। ‘हरेक वर्ष वृद्धि हुनुपर्ने निर्माण सामग्रीको बजार बढ्न सकेको छैन,’ थापा भन्छन्, ‘निर्माण अघि बढ्नेमा आशावादी छौं।’

त्यसैगरी, पूर्वाधार निर्माणले गति लिने आसमा नयाँ स्टिल (डन्डी) उद्योग सञ्चालनमा आएका छन्। चालु आर्थिक वर्षमा करिब २० अर्ब रुपैयाँ लगानी थपिएको छ। उद्योगी, व्यवसायीका अनुसार नयाँ उद्योग तथा उत्पादन क्षमता बढाउन उद्योगमा २० अर्ब रुपैयाँ लगानी थपिएको हो। नेपाल स्टिल रोलिङ मिल्स एसोसिएसनका अनुसार स्टिल उद्योगमा अब एक सय अर्ब रुपैयाँ लगानी पुगेको छ। चालु आर्थिक वर्षमा आरती स्टिल, श्री स्टिल, प्रिमियर स्टिल, विजया स्टिल, नारायणी स्पातलगायत नयाँ स्टिल उद्योग सञ्चालनमा आएका छन्।

गोदावरी स्टिल र अम्बेको नयाँ प्लान्ट पनि आउने क्रममा छ। अन्य उद्योग निर्माणाधीन छन् र केहीले स्टिल उद्योग खोल्न उद्योग विभागबाट अनुमति लिएका छन्। बजारमा डन्डीको खपत वार्षिक १०–१२ लाख टन भए पनि अहिले सञ्चालनमा रहेका उद्योगको उत्पादन क्षमता वार्षिक २९–३० लाख टन रहेको एसोसिएसनले जनाएको छ।

सरकारले पुँजीगत बजेट खर्च गर्न नसक्दा रकमको फ्लो बजारमा जान नसेको छैन। त्यसको असर बजारमा पनि परेको छ। पञ्चकन्या स्टिल सिनियर मेनेजर रामराजा बस्नेतका अनुसार अहिले दैनिक चार सय मेट्रिक टन स्टिल उत्पादन गर्दै आएको छ। ‘विकास बजेट खर्च नहुँदा सबैतिर असर परेको छ,’ बस्नेतले भने, ‘निर्माणका कामलाई तीव्रता दिनुप-यो।’ पुँजीगत बजेट खर्च नहुँदा निर्माण सामग्रीको बिक्री बढेको छैन। यसपालिको बजार सोचेजस्तो नभएको उनले बताए। ‘घर बन्नेदेखि नयाँ परियोजना सुरु भएका छैनन्,’ उनले भने, ‘स्थिर सरकारले निर्माण क्षेत्रमा छलाङ मार्न सकेन।’

सिमेन्ट तथा डण्डी उद्योगले गुणस्तरमा भने ध्यान दिएका छन्। विशाल सिमेन्टका ब्रान्ड मेनेजर दिवाकर सिलवालले गुणस्तरीय सिमेन्ट उत्पादन गर्दै आएको बताए। विशालले ओपिसी र पिपिसी सिमेन्ट उत्पादन गर्दै आएको छ। विशालले दैनिक १६ हजार बोरा सिमेन्ट उत्पादन गर्छ। विशाल एनएस चिन्ह लिएको आइएसओ सर्टिफाइड कम्पनी हो।

प्रकाशित: १८ असार २०७६ ०२:५७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App