७ वैशाख २०८१ शुक्रबार
अर्थ

भैरहवामा ठूलो हवाई इन्धन डिपो बनाउँदै निगम

भैरहवामा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको नक्सा।

काठमाडौं – नेपाल आयल निगमले भैरहवामा अहिलेसम्मकै सबैभन्दा ठूलो एक करोड लिटर (१० हजार किलोलिटर) क्षमताको हवाई इन्धन डिपो निर्माण गर्ने भएको छ। भैरहवामा निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई हेरेर  अहिलेसम्मकै ठूलो हवाई इन्धन डिपो निर्माण गर्न लागेको हो।

त्रिभुवन अन्तर्राष्ट्रिय विमास्थल (टिआइए) सहित निगमका मुलुकभरका सात डिपोमा अहिले करिब ८५ लाख लिटर हवाई इन्धन भण्डारण गर्ने क्षमता छ। टिआइएमा मात्र ७७ लाख १० हजार लिटर क्षमता छ।

टिआइएमा जग्गा अभावले भण्डारण क्षमता विस्तार गर्न कठिन भएपछि निगमले भैरहवामा उच्च क्षमताको डिपो बनाउने तयारी गरेको हो। निगमका कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेलका अनुसार भैरहवा विमानस्थल निर्माण सम्पन्न भएपछि विमानको चाप बढ्ने अनुमानले अत्याधुनिक डिपो निर्माण गर्न लागिएको हो।

‘भैरहवामा १० हजार किलोलिटर एटिएफ स्टक राख्ने क्षमताको बनाउँछौं,’ पौडेलले भने, ‘अन्तर्राष्ट्रिय उडानलाई समेत लक्ष्य गरेर डिपो निर्माण गर्न लागेका हौं।’ डिपो निर्माणमा करिब दुई अर्ब रुपैयाँ लाग्ने कार्यकारी निर्देशक पौडेलले बताए। ‘डिजाइन इस्टिमेटको काम भइरहेको छ,’ पौडेलले भने।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टिआइए) सहित निगमका मुलुकभरका सात डिपोमा अहिले करिब ८५ लाख लिटर हवाई इन्धन भण्डारण गर्ने क्षमता छ। टिआइएमा ७७ लाख १० हजार लिटर क्षमता छ भने अब भैरहवामा एक करोड लिटरको भण्डारण डिपो बन्नेछ।

जग्गा उपलब्ध गराउन नेपाल नागरिक उड्डयन प्राधिकरणले सहमति जनाइसकेको छ। डिपो बनाउन आयोजनाले सात बिघा जग्गा उपलब्ध गराउने सहमति भएको भैरहवा विमानस्थलका आयोजना प्रमुख प्रवेश अधिकारीले बताए। ‘डिपो निर्माण गर्न जग्गा दिने सहमति भइसकेको छ,’ अधिकारीले भने।

निगमले ड्रइङ उपलब्ध गराएपछि विमानस्थललाई असर नपर्ने अवस्था भए केही परिमार्जन गर्न लगाएर औपचारिक रुपमा हस्तान्तरण गर्ने अधिकारीले बताए। उनका अनुसार आगामी डिसेम्बरसम्म विमानस्थल निर्माण सम्पन्न गरेर सञ्चालन गर्ने योजना छ। भैरहवा विमानस्थलमा अहिले ५६ किलोलिटरको डिपो रहेको निगमको भलवारी डिपोका प्रमुख सुरज शाहले बताए। ‘११ किलोलिटरका दुईवटा बाउजर छन्,’ शाहले भने, ‘अन्तर्राष्ट्रिय विमास्थल बनिरहेकाले क्षमता बढाउने तयारी गरेका छौं।’

यसैगरी, निगमले झापाको भद्रपुरमा पनि १५ लाख लिटर (१५ सय किलोलिटर) को डिपो निर्माण गर्ने योजना बनाएको छ। सात सय ५० किलोलिटर दुईवटा ट्यांक निर्माण गर्ने तयारी छ। विराटनगरमा सात लाख ६० हजार लिटरको डिपो निर्माण गर्ने योजना छ।

निगमसँग कुल आठ हजार चार सय ९५ किलोलिटर हवाई इन्धन भण्डारण गर्ने क्षमता छ। काठमाडौंमा सात हजार सात सय १० किलोलिटर, विराटनगरमा दुई सय ८० किलोलिटर,  नेपालगन्जमा दुई सय ८० किलोलिटर, भैरहवामा ५६ किलोलिटर, पोखरामा ६४ किलोलिटर, सुर्खेतमा ६० किलोलिटर र धनगढीमा ४५ किलोलिटर हवाई इन्धन भण्डारण क्षमता छ। अन्य केही विमानस्थलमा बाउजर मात्र छ। ‘धेरै विमानस्थलमा डिपो नै छैन,’ निगमको एलपिजी तथा हवाई इन्धन विभागका निर्देशक दीपक बरालले भने, ‘विभिन्न ठाउँमा निर्माण गर्ने तयारीमा छौं।’

मुलुकभर सञ्चालनमा रहेका २९ मध्ये नौवटा विमानस्थलमा मात्र निगमले हवाई इन्धन बिक्री गर्दै आएको छ। २० वटा विमानस्थलमा हवाई इन्धन डिपो छैन। ती विमानस्थलमा उडान भर्ने वायुसेवा कम्पनीहरुले जाँदा–आउँदालाई पुग्ने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बोकेरै जानुपर्ने बाध्यता छ। भद्रपुर र मन्थलीमा अस्थायी रुपमा हवाई इन्धन भर्ने व्यवस्था मिलाइएको छ।

सिमरा विमास्थल बारा, भरतपुर, जनकपुर, चन्द्रगढी झापा, दाङ, डोल्पा, जुम्ला, भोजपुर, बाजुरा, खानीडाँडा खोटाङ, मनाङ, फाप्लु सोलुखुम्बु, रामेछाप, रुकुम चौरजहारी, रुकुम सल्लेरी, रुम्जाटार ओखलढुंगा, रारा मुगु, सिमिकोट हुम्ला, ताप्लेजुङ, तेन्जिङ हिलारी सोलुखुम्बु, तुम्लिङटार विमानस्थल संखुवासभामा हवाई इन्धन डिपो छैन।

डिपो विस्तार गर्नुपर्ने आवश्यकता रहेका विमानस्थलमा क्रमशः बनाउँदै जाने कार्यकारी निर्देशक पौडेलले बताए। ‘हवाई उडानको चाप भएका र डिपो नभएका विमानस्थलमा इन्धन डिपो बनाउनु पर्नेछ,’ उनले भने, ‘निगमले आवश्यकता र प्राथमिकताका आधारमा निर्माण गर्दै जान्छ।’ विमानस्थलमा हवाई इन्धनको डिपो बनाउन नागरिक उड्डयन प्राधिकरणको पनि तत्परता चाहिने निगमले जनाएको छ। डिपो बनाउन जग्गा प्राधिकरणले उपलब्ध गराउनुपर्छ। सबै विमानस्थलमा डिपो जरुरी छैन।

प्रकाशित: १८ असार २०७६ ०२:२६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App