८ वैशाख २०८१ शनिबार
राजनीति

केसीको घरमा कांग्रेस असन्तुष्ट पक्षको ‘डिनर’: तदर्थवादमा लैजान खोजेको निष्कर्ष

काठमाडौं– नेपाली कांग्रेसका असन्तुष्ट पक्षले संघीय संरचना अनुसार पार्टीका सबै निकायहरु निर्वाचनबाट पूर्णता दिनुपर्ने निष्कर्ष निकालेका छन्। नुवाकोट सभापति जगदिशनरसिंह केसीको निवास गोगंबुमा मंगलबार साँझको खानासहित नेता रामचन्द्र पौडेल, कृष्णप्रसाद सिटौला, शशांक कोइरालालगायतका नेताहरुको बैठकले विधानको संकक्रमणकालीन व्यवस्थालाई टेक्दै सभापति शेरबहादुर देउवाले कांग्रेसलाई तदर्थवादमा लैजान खोजेको निष्कर्ष निकालेका हुन्।

पार्टीको नयाँ विधानको व्यवस्था अनुसार प्रदेश देखि वडासम्मको संरचना निर्वाचनबाटै छान्नु पर्ने जनाउँदै बैठकमा सहभागी एक नेताले भने, ‘भागबन्डाबाट होइन निर्वाचनबाट संरचनाहरु गठन हुनुपर्छ।’

पार्टीका विभागहरुलाई वर्गिकरण गरेर सबै पक्षको सम्मान हुनेगरी गठन गर्नुपर्ने निष्कर्ष निकाल्दै एक सहभागीले भने, ‘राम्रो जति हाम्रोलाई चाम्रो (नराम्रो) जति अर्को पक्षलाई दिनुभएन। सबैलाई सम्मान हुनेगरि विभाग गठन हुनुपर्छ।’
पार्टीका सबै भ्रातृ संगठनहरुलाई बढिमा छ महिनाको समय दिएर महाधिवेशनमा लैजानुपर्ने उनीहरुले निष्कर्ष निकालेका छन्। ‘अवधि गुजारेका नेपाल विद्यार्थी संघसहितका भ्रातृ संगठनको पार्टीले ३÷४ महिना अधिवेशन गराउनुपर्छ। बाँकीलाई छ महिना समय दिएर अधिवेशनमा लैजानुपर्छ।’

पार्टीलाई चलायमान र सशक्त बनाउन एकतावद्धका साथ अघि बढ्नु पर्ने जनाउँदै एक नेताले भने, ‘संगठनलाई बचाउन एकता आवश्यक छ तर सभापतिले नै एउटा गुटको नेतृत्व गरेपछि त्यसइतरका नेता गुटरहित भएर बस्न सक्ने अवस्था रहेन।’

सभापतिले पार्टीलाई एकतावद्ध बनाएर लैजान तयार भए आफुहरु पनि सहयोगी बन्न तयार रहेको जनाउँदै सहभागी नेताहरुले असार २२ देखि सुरु हुने केन्द्रीय समिति बैठकमा पार्टी संगठनलाई सुदृढ बनाउन प्रभावकारीरुपमा प्रस्तुत हुने निष्कर्ष निकालेका छन्।

प्रकाशित: १७ असार २०७६ १५:४४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App