७ वैशाख २०८१ शुक्रबार
राजनीति

सांसदको प्रश्नः ९ अंक ल्याउनेको कसरी ६९ पुग्यो? रजिष्ट्रारको जवाफः व्यक्तिगत त्रुटि

काठमाडौं– त्रिभुवन विश्वविद्यालयका रजिष्ट्रार डिल्लीराम उप्रेतीले नतिजा प्रकाशनमा संस्थागत नभई व्यक्तिगत त्रुटि भएको बताएका छन्।

संघीय संसदअन्तर्गत प्रतिनिधिसभा शिक्षा तथा स्वास्थ्य समितिको मंगलबार बसेको बैठकमा रजिष्ट्रार उप्रेतीले हालै संचारमाध्यममा आएका परीक्षा नतिजा सम्बन्धी त्रुटीहरु संस्थागत नभई व्यक्तिगत भएको दाबी गरे। परीक्षा सञ्चालनदेखि नतिजा प्रकाशनसम्म प्रक्रियाहरुको फेरिहस्त प्रस्तुत गर्दे उनले मार्कस्लिपबाट मार्क लेजरमा नम्बर चढाउने समयमा व्यक्तिको त्रुटीका कारण ९ हुनुपर्नेमा ६९ भएको स्पष्ट पारे। यद्यपी ६९ अंक पाएका सुरेन्द्र कोइरालाले गोल्डमेडल भने प्राप्त नगरेको उनले स्पष्ट पारे।

बैठकमा सांसदहरुले परीक्षा प्रणाली देखि नतिजा प्रकाशन सम्मको व्यवस्थापन चुस्त बनाउन त्रिभुवन विश्वविद्यालयका पदाधिकारीको ध्यानाकर्षण गराएका थिए। समिति सदस्य गजेन्द्र बहादुर महतले त्रिविको लापरवाही र त्रुटिको जिम्मेवारी पनि सरकारले लिनुपर्ने र सरकार संचालनसँग जोडिने भएकाले त्यसतर्फ गम्भीर बन्न रजिष्ट्रारको ध्यानाकर्षण गराए।

अर्का सदस्य अञ्जना विशंखेले भनसुन गरेर नम्बर थप गर्न सकिन्छ कि भन्ने अभिप्रायले रिटोटलिङ हुने गरेको र त्यसका लागि आफूहरुलाई समेत आग्रह गर्ने गरिएको बताइन्। ‘माथि माथिकालाई भन्नु पर्दैन कम्युटरमा बस्नेहरुसँग चाही तपाईहरुको कस्तो छ’ भन्ने प्रश्न सोध्ने गरिएको भन्दै उनले संलग्नलाई कारवाही गरि भविष्यमा त्यस्तो घटना नदोहोरिने प्रतिबद्धता जनाउनुपर्ने माग गरिन्।

समिति सभापति जयपुरी घर्तीले नियतले नभई कर्मचारीले त्रुटी गरेको भनेर उम्कने अवस्था नभएको भन्दै परीक्षा र नतिजा प्रणालीमा देखिएका गम्भीर त्रुटि रोक्ने तर्फ गम्भीर बन्न आग्रह गरिन्।

९ अंक ल्याएका सुरेन्द्र कोइरालालाई अगाडि ६ थपेर ६९ पुर्याएको समाचार बाहिर आएपछि समितिले त्यसबारे छलफल गर्न रजिष्ट्रार र उपकुलपति तीर्थराज खनियालाई समितिमा बोलाएको थियो।

प्रकाशित: १७ असार २०७६ ११:०० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App