८ वैशाख २०८१ शनिबार
समाज

सुन्तला फलाउन प्रोत्साहन अनुदान

नलगाड–३ का सुन्तला किसानलाई आवश्यक कृषि औजार वितरण गरिँदै। तस्बिरः नागरिक

जाजरकोट – सरकारले ‘सुन्तला जोन’ बनाएको जाजरकोटमा सुन्तला किसानहरूलाई उत्प्रेरित गर्न अनुदान दिइएको छ। प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले  जिल्लाका ५० बढी सुन्तलाका बोट लगाएका किसानलाई प्रोत्साहनस्वरुप अनुदान रकम वितरण गरेको हो।

परियोजनाले सुन्तला उत्पादनका लागि कुशे गाउँपालिका, भेरी नगरपालिका–२ र नलगाड नगरपालिका–३ का पाँच सय १२ किसानलाई उपलब्धिमा आधारित प्रोत्साहन अनुदान वितरण गरेको हो।

परियोजनाअन्तर्गत कुशे गाउँपालिकाका तीन सय २०, भेरीका ९६ र नलगाडका एक सय २६ सुन्तला उत्पादक किसानलाई अनुदानअन्तर्गत सात लाख रुपैयाँ वितरण गरिएको सुन्तला जात जाजरकोट जोन प्रमुख टंकप्रसाद रिजालले बताए। ५० भन्दा धेरै सुन्तलाका बिरुवा लगाएका किसानलाई पाँच सयदेखि ९ हजारसम्म प्रोत्साहन रकम वितरण गरेको उनको भनाइ छ।

प्रोत्साहन अनुदान कार्यक्रमबाट जोन सञ्चालक समितिलाई समेत तीन लाख रुपैयाँ अनुदान दिइएको उनले बताए। उनका अनुसार सुन्तला खेती गरिरहेका किसानलाई २० लाख रुपैयाँ बराबरका कृषि औजारहरू पनि वितरण गरिएको छ। पावर, सिकेचर, स्प्रेयर,  ट्रयाक्टर, खाल्डा खन्ने मेसिन, फुट स्प्रेयर, आरी, कैंचीलगायत कृषि औजार वितरण गरिएको हो।

स्रोतसाधन र प्रविधि अभावले सम्भावनाअनुसार सुन्तला फलाउन नसकेको कुशे गाउँपालिका–५ का किसान शक्तिबहादुर वलीले बताए। ‘अब सहज हुने भयो,’ उनले भने।

कस्टम हाइरिङ सेन्टर र पोस्ट हारभेस्ट सेन्टर कार्यक्रमको रकमबाट सुन्तला उत्पादक किसानहरूलाई कृषि औजार वितरण गरिएको  परियोजनाका प्राविधिक विश्वामित्र शर्माले बताए। शर्माले  किसानहरूलाई उक्त कृषि औजारहरू ५० प्रतिशत अनुदानमा वितरण गरिएको बताए।

प्रकाशित: १७ असार २०७६ १०:४६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App