५ वैशाख २०८१ बुधबार
समाज

बस र ट्रक ठाेक्किँदा बस चालकको मृत्यु

सर्लाही – पूर्वपश्चिम राजमार्गअन्तर्गत सर्लाहीको फूलजोर पुलमा बस र ट्रक ठोक्किँदा बस चालकको मृत्यु भएको छ। दुर्घटनामा ६ जना घाइते भएका छन्।

जिल्लाको चुरे क्षेत्रस्थित ईश्वरपुर नगरपालिका–१२, घारीबथानबाट बिरामी बोकेर नवलपुरतर्फ आउँदै गरेको बा ३ ख २०५४ नम्बरको बस र पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ना ५ ख ७७९५ नम्बरको ट्रक मंगलबार बिहान पौने ४ बजेतिर एकापसमा ठोक्किएका हुन्।

दुर्घटनामा परेर बसका चालक ईश्वरपुर नगरपालिका–१२, घारीबथानका २४ वर्षीय माधव लायो मगरको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय लालबन्दीले जनाएको छ। दुर्घटनामा बसमा सवार घारीबथानकै ५४ वर्षीय ध्रवप्रसाद घिमिरे, २० वर्षीय गोपाल घिमिरे, २० वर्षीय सुजन घिमिरे, ट्रकमा सवार मकवानपुर थाहा नगरपालिका–११ का ३६ वर्षीय प्रताप ठोकर र सोही ठाउँका ३५ वर्षीय रोहित लामा घाइते भएका छन्।

घाइतेहरूको लालबन्दीका विभिन्न अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। दुर्घटनामा सामान्य घाइते ट्रकका चालक मकवानपुर थाहा नगरपालिका–११ का ३९ वर्षीय रञ्जित ठोकरलाई प्रहरी चौकी फूलजोरको नियन्त्रणमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

घारीबथानका २० वर्षीय गोपाल घिमिरेलाई सर्पले डसेपछि बसमा हालेर उपचारका लागि ल्याउँदै गरेको बस दुर्घटनामा परेको स्थानीयले बताएका छन्। सर्पले डसेर बिरामी घिमिरेको बस र ट्रक ठोक्किँदा टाउकोमा चोट लागेको छ। घिमिरेको नवलपुर सर्पदंश उपचार केन्द्रमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार पुलमा दुईवटा सवारी ठोक्किएर दुर्घटना हुँदा बिहान पौने ४ बजेदेखि झण्डै एक घण्टा पूर्व–पश्चिम राजमार्ग अवरुद्ध बनेको थियो।

प्रकाशित: १७ असार २०७६ ०६:२४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App