coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
विचार

अल्कोहलमा अल्पविराम

कुनै पनि पदार्थले मानिसको स्वास्थमा कस्तो प्रभाव पार्छ भन्ने यथार्थ पहिल्याउन अनुसन्धान आवश्यक पर्छ। ठोस निष्कर्ष दिन रिसर्चको दायरा ठूलो हुनुपर्छ। अनि धेरै रकम आवश्यक पर्छ। सीमित दायरामा गरिएको अनुसन्धानले सर्वमान्य मान्यता स्थापित गर्न सक्दैन। धेरै मानिस र ठूलो भूभाग समेटिएर गरिएका अनुसन्धानको वजन गहकिलो हुन्छ। उल्लिखित मान्यता सोसियल साइन्सदेखि आयुर्विज्ञानसम्मका सबै अनुसन्धानका लागि उत्तिकै सत्य छन्। धर्मशास्त्रका अनुसार सोमरसको प्रयोग भगवानकै पालादेखि भएको देखियो। अहिलेको समाजमा अल्कोहल अपरिहार्य भएको भान भयो। अपरिहार्य पेय पदार्थ बन्यो रक्सी। केही कट्टर धार्मिक मुलुकलाई अपबाद मान्ने हो भने सोमरसको प्रयोग नहुने मुलुक छैनन्। आखिर अल्कोहलको प्रयोग किन विश्वव्यापी भयो त?

अठारौँ शताब्दीको अत्यतिर बेलायत अधिनस्त स्कटल्यान्डले व्यावसायिकरूपमा रक्सी उत्पादन गर्न थाल्यो। त्यहाँको उत्पादनले स्कच ह्विस्कीको विश्वव्यापी नाम पाएको छ अहिले। स्कच ह्विस्कीको व्यावसायिक उत्पादन भएका बखत करिबकरिब संसारभर नै बेलायतको राज थियो। अंग्रेजले संसारलाई शासन गरेका बखत स्कच ह्विस्कीका लागि अन्तर्राष्ट्रिय बजार पाउन कठिन हुने कुरा भएन। तर कुनै पनि उत्पादनप्रति सर्वसाधारणको आकर्षण बढ्नका लागि उक्त पदार्थले सेवनकर्ताको स्वास्थ्यमा अनुकूल प्रभाव पार्छ भन्ने कुराको पुष्टि गर्न आवश्यक हुन्छ।

अन्य देशमा अल्कोहलविहीन ‘ड्राइ जनवरी’ मनाउँछन् भने हामीले पनि शिवजीको सम्झनामा रक्सीविहीन साउन र बुद्धको स्मरणमा ‘सुक्खा वैशाख’मनाउने कि रु  

त्यसबेला जनताको स्वास्थ्यबारे सरकारले चासो राख्ने अवधारणा विकास भएको थिएन। आफ्नो ब्यापार बढाउन उत्पादकहरू स्वयम्ले रक्सीले मानिसको स्वास्थ्यमा पार्ने प्रभाव अध्ययन गर्न आर्थिक सहयोग गर्न थाले। विश्वविद्यालयका प्राध्यापकहरू अल्कोहल उत्पादकको रकममा रिसर्च गर्न थाले। यसरी उत्पादकले अनुसन्धानका लागि आर्थिक सहयोग गर्नुअघि आफ्ना उपजले जनस्वास्थ्यमा पारेको असरका सम्बन्धमा आएका निचोड सार्वजनिक गर्नुअघि आफ्नो स्वीकृति लिनुपर्ने प्रावधान राख्छ। र, त्यसो गर्नुको मुख्य कारण आफ्नो व्यापारिक स्वार्थको प्रतिरक्षा हो।

आफूले सहायता गरेको अनुसन्धानले आफ्नो उत्पादनलाई नै घाटा पार्ने भए त्यस्तो नतिजा कसले चाहन्छ र ? यसरी रक्सीले पार्ने नकारात्मक प्रभावका सम्बन्धमा आएका निचोडहरू कहिले पनि जनसमक्ष आएनन्। रक्सीले कलेजोमा पार्ने जटिलता बाहिरिएन बरु सोमरस सेवन गर्दा लठ्ठिएर सुत्ने कुरालाई रक्सीले चिन्ताहरण गर्ने कुरा उजागर गरियो, प्रचार भए। अल्कोहलले पार्ने संगिन जटिलताका सम्बन्धमा जनताले थाहा पाएनन् बरु सोमरसका क्षणिक फाइदा जनसमक्ष आए। यसरी अल्कोहलले जनस्वास्थ्यमा पार्ने नकारात्मक प्रभावका सम्बन्ध भएका अनुसन्धानका बारेमा जनताले थाहा नै नपाएपछि सोमरसप्रति सर्वसाधारणको वितृष्णा भएन। अनि अल्कोहलको प्रभाव विश्वव्यापी बन्यो।

सन् २०१६ मा मात्र रक्सी सेवनका कारण संसारमा २८ लाख मानिसको मृत्यु भएको पाइयो। उक्त संख्या नियाल्दा मृत्युका कारकमध्ये रक्सीको स्थान सातौँ देखियो।

जनस्वास्थ्यको रक्षा सरकारको दायित्व हो। त्यसैले मादक पदार्थले जनतामा कस्तो प्रभाव पार्छ भन्ने कुराको हिसाबकिताब सरकारले राख्ने हो। विश्वव्यापी व्यापारले अल्कोहल उत्पादकहरू आर्थिकरूपले शक्तिशाली बने। अनुसन्धानका सम्बन्धमा सरकारले विनियोजन गर्ने रकमभन्दा अल्कोहल उत्पादकले अत्यधिक रकम खर्चन थाले। पैसाले बोल्ने भएपछि अल्कोहलको समर्थनमा अनुसन्धानात्मक परिणाम बोल्न थाल्यो। रक्सी त खानैपर्ने पेय रहेछ कि क्या हो भन्ने गरी प्रचार हुन थाल्यो।

रक्सीले मातेर गाडी हाँकेका कारण भएका दुर्घटना, अल्कोहलको अम्मलीका कारण सामाजिक सद्भाव खल्बलिनुका अतिरिक्त परिवारै तहसनहस भएको, अनि सोमरस सेवनका कारण गणनामा आएका मृत्युको संख्याका अतिरिक्त अल्कोहललाई असल पेय पदार्थका रूपमा चित्रण गरियो। तथ्यभन्दा पृथक निचोड देख्दा सोमरसका बहुआयामिक प्रभावका सम्बन्धमा एउटा विश्वव्यापी अध्ययन होस् भन्ने चाहना राख्ने अनुसन्धानकर्ता धेरै थिए। तर संसारभरको आकडा समेटेर सत्यतथ्य बाहिर ल्याउन रकम जुटिरहेको थिएन। त्यस्तो अवस्थामा बिल एन्ड मिलिन्डा गेट्स फाउन्डेसनले अल्कोहलको सामाजिक र बायोलोजिकल यथार्थका लागि आर्थिक सहयोग ग¥यो। नेपाललगायत संसारका दर्जनौँ अनुसन्धानकर्ताहरूको क्रियाशील सक्रियतामा गत वर्ष रक्सीको यथार्थ बाहिरियो ‘ल्यान्सेट’ भन्ने मेडिकल जर्नलमा। सन् १८२३ देखि प्रकाशन सुरु गरेको ल्यान्सेट सामान्य चिकित्सा क्षेत्रको सबैभन्दा पुरानो र सर्वाधिक इज्जतदार पत्रिका मानिन्छ। प्रतिष्ठित जर्नलहरूले प्रकाशनपूर्व अनुसन्धानको आधिकारिकता जाँच्ने भएकाले त्यहाँ छापिएका रचना वजनदार हुन्छन्।

नेपाललगायत संसारका १९५ देशमा रक्सीले पारेको सामाजिक, स्वास्थ्यलगायत सबै पक्ष समेटेर प्रकाशित गरिएको उक्त अनुसन्धानले सन् १९९० देखि २०१६ का आकडा समेटेको देखियो। यसरी पृथ्वीको संम्पूर्ण जनसंख्यालाई समेटेर तयार गरेको उक्त प्रतिवेदनले अल्कोहलको सेवन र हेर्ने दृष्टिकोणमा व्यापक परिवर्तन गर्ने देखियो। विगतमा रक्सी उत्पादकको पक्षमा वजनदार भएर प्रस्तुत हुने गरेका प्रतिवेदन भन्दा फरक देखियो वर्तमानको तथ्याड्क।

सन् २०१६ मा मात्र रक्सी सेवनका कारण संसारमा २८ लाख मानिस मरेका देखियो। उक्त संख्या नियाल्दा मृत्युको कारकका रूपमा रक्सीको स्थान सातौँ देखियो। त्यस्तै उमेर समायोजन गरेर हेर्दासमेत रक्सी सेवनका कारण महिलामा ३ प्रतिशत अनि पुरुषको ८ प्रतिशतले मृत्यु दर बढेको देखियो। ग्लोबल परिवेशमा सोमरस सेवन गर्ने पुरुष महिलाभन्दा अधिक भएकाले पुरुषको मृत्यु दर अधिक हुनु अस्वाभाविक भएन। अल्कोहल पिउनाले क्षयरोगीको संख्या बढेको, सडक दुर्घटना आकासिएको तथा नसाको सुरमा आत्महत्या गर्नेको संख्या पनि उकासिएको देखियो। ५० वर्षभन्दा माथिका समूह नियाल्दा सोमरस पिउनेलाई क्यान्सरले अत्यधिक सताएको देखियो। कलेजोको क्यान्सरका हकमा रक्सी सेवनको मात्रा र रोगबीच प्रत्यक्ष संबन्ध स्थापित भएको देखिन्छ।

संसारका धेरै अनुसन्धानकर्ताको सहकार्यमा ल्यान्सेटमा प्रकाशित अनुसन्धानले केबल अल्कोहल सेवनको भयाबह अवस्थामात्र दर्शाउन बरु नशा सेवनको नयाँ विश्वव्यापी आचारसंहिता लागु गर्नुपर्ने देख्यो। रक्सीको उत्पादन र उपभोग दिनानुदिन बढेको अवस्थामा त्यसलाई रोक्न विश्वव्यापी र स्थानीय तहमा समेत संहिता लागु गर्नुपर्ने सल्लाह दियो उक्त अनुसन्धानले। त्यसै परिपे्रक्ष्यमा नेपालका कुनै कुनै गाउँठाउँले आफूलाई जाँड रक्सी मुक्त घोषणा गर्नुलाई समेत सकारात्मक मान्नुपर्ने देखियो। रक्सी उत्पादकको आर्थिक सहयोगमा प्रायोजितरूपमा विगतमा भएका अनुसन्धानको भरमा यति मात्रामा रक्सी पिउनु स्वार्थबर्धक रहेको दाबीलाई उक्त अनुसन्धानले हावादारीमात्र भनेन बरु कुनै पनि मात्रामा अल्कोहल सेवन गर्नु स्वार्थबर्धक नहुने भन्यो। र, सकेसम्म अल्कोहलबाट टाढै बस्न सल्लाह दियो। पिउने मानिसलाई समेत मात्रा घटाउन र केही दिनको विश्रामका लागि आग्रह ग¥यो।

सन् २०१६ मा बेलायतमा गरिएको अर्को अनुसन्धानमा झण्डै १ हजार नियमित अल्कोहल सेवन गर्ने मानिसले १ महिनामात्र अल्कोहललाई विश्राम दिँदा ६० प्रतिशतले राम्रो निद्रा लागेको र ५० प्रतिशतले वजन घटेको बताए। बेलायती अनुसन्धानले महिना दिनमात्र रक्सी छोड्दा समेत मानिसमा स्वास्थ्यलाभ भएको देखेपछि नेदरल्यान्डको एउटा रिसर्च ग्रुपले रक्सी छोड्दा कलेजोको बायोलोजीमा के÷कति परिवर्तन हुन्छ भनी अध्ययन गर्दा अनौठो नतिजा पायो। अल्कोहलसँगको अल्पकालीन विश्रामले समेत कलेजोमा पाइने ‘ग्यामा ग्लुटामिलट्रान्सफरेज’ को मात्रामा व्यापक परिवर्तन आएको देखिनुले सदाका लागि रक्सी छोड्न नसके पनि सोमरससँगको अल्पकालीन विश्रामसमेत फाइदा कारक देखियो।

अल्कोहलसँगको अल्पकालीन विच्छेदले समेत स्वास्थ्यमा सकारात्मक असर पार्ने भएपछि अल्कोहलविहीन ‘सोबर बार’ को अवधारणा आयो। ग्राहकलाई अल्कोहलरहित सुविधा दिनेगरी स्थापना गरिएका बारहरू अमेरिकाका न्युयोर्क, वासिंङ्टन डिसीलगायतका अधिकांश सहरमा खुलेकामात्र होइन, बरु दिनानुदिन लोकप्रिय भएका देखिए। रक्सीले शरीरलाई फाइदा नहुने भएपछि मानिस सोमरसकै पछि लाग्छन् भन्ने होइन। त्यसैले प्रथम चरणमा अल्कोहल स्वास्थ्यका लागि फाइदाजनक होइन भन्ने सन्देशको सूचना आवश्यक छ।

नेपाली परिवेशमा विवाह, व्रतवन्धलगायतका भोजहरू ननअल्कोहलिक हुन सक्दैन भन्ने कुअवधारणा बन्यो। त्यसो हुनुको मुख्य कारण अल्कोहल शरीरका लागि फाइदाजनक छ भन्ने सोच पनि देखियो। त्यसैले सर्वप्रथम अल्कोहलसम्बन्धी खराब अवधारणामा परिवर्तन ल्याउन जरुरी देखियो। त्यसका लागि दक्षता भएका चिकित्सकले अल्कोहलको खराब पक्षको उजागर गर्न जरुरी देखियो। विषयगत दक्षता भएका डाक्टरले रक्सीको यथार्थ बताएपछि त्यसको चेतना जगाउने काम गर्ने भनेको सामाजिक अभियन्ताले हो। जनप्रतिनिधि तथा राजनीतिक दलले उत्प्रेरकको भूमिका खेल्नुपर्ने हुन्छ। रक्सीपीडित महिलाको संख्या अत्यधिक देखिएको अवस्थामा आमा समूहले समेत महŒवपूर्ण भूमिका खेल्न सक्ने देखियो।

गहकिला अनुसन्धानात्मक निष्कर्षले रक्सी कुनै पनि मात्रा र खुराकमा पिए पनि शरीरका लागि हानिकारक हुने भएकाले तत्सम्बन्धी जागरण अभियान सञ्चालन गर्नुपर्ने भयो। भोजभतेरलाई सोमरसविहीन बनाउने अनि रक्सी पिउनुभन्दा नपिउनु नै उचित हो भ न्ने सामाजिक अभियान सञ्चालन गर्न सके स्वस्थ जीवनका अतिरिक्त सामाजिक सद्भाव र आर्थिक सवलीकरणमा मद्दत गर्ने थियो कि ? अन्य देशमा अल्कोहलविहीन ‘ड्राइ जनवरी’ मनाउँछन् भने हामीले पनि शिवजीको सम्झनामा रक्सीविहीन साउन र बुद्धको स्मरणमा ‘सुक्खा वैशाख’मनाउने कि ?  

प्रकाशित: १७ असार २०७६ ०२:४३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App