७ वैशाख २०८१ शुक्रबार
अर्थ

नेपाल वायुसेवा निगमलाई आर्थिक संकट

प्रधानमन्त्री केपी शर्मा ओली नेपाल वायुसेवा निगमको ६१ औं वार्षिकोत्सव समारोह उद्घाटन गर्दै। तस्बिरः रासस

मिनराज भण्डारी
काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले आर्थिक संकटबाट गुज्रिरहेको सरकारी संस्थान नेपाल वायुसेवा निगमलाई अहिलेकै अवस्थामा एक पैसा पनि सहयोग गर्न नसकिने बताएका छन्। सोमबार निगमको ६१औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले निगमको व्यवस्थापन तत्काल सुधार्न आवश्यक रहेको भन्दै यथास्थितिमा एक रुपैयाँ पनि सहयोग गर्न नसकिने प्रस्ट पारे।

पर्यटन  मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका ओलीले विमानको उपयुक्त व्यवस्थापन गर्न र आफैं चलाउन नसक्ने भए रणनीतिक साझेदारीमा जान सुझाए।

‘निगमभित्र रहेको म्यानेजमेन्ट तथा एरेन्जमेन्ट के–के गर्नुपर्छ त्यो गरौं, तर अहिलेकै स्थितिमा २० अर्ब वा ३० अर्ब दिँदैमा सुरुसुरु विमान उड्न सक्छन् भन्ने होइन,’ प्रधानमन्त्री ओलीले भने।

सुव्यवस्थाबिना पैसामात्र दिएर केही नहुनेमा आफू विश्वस्त रहेको प्रधानमन्त्रीको भनाइ छ। प्रधानमन्त्री ओलीले निजी वायुसेवा कम्पनीहरुले धमाधम नाफा कमाइरहेको बेला सरकारी स्वामित्वको निगम कसरी निरन्तर घाटामा जान्छ भनेर प्रश्न पनि गरे। ‘निगम सरकारी भनेर हामी ज्ञानी नबनेको हो कि ! निजी कम्पनीलाई दिएपछि निगम ज्ञानी बन्ने हो ? किन एकातिर गएपछि आम्दानी हुने, अर्काेतर्फ जाँदा नहुने ?’ ओलीले सोधे।

निगम सञ्चालनको जिम्मा नेपाली सेनालाई दिने प्रसंगमा बोल्दै प्रधानमन्त्री ओलीले सेनालाई वायुसेवाको जिम्मा दिन सकिने तर, कारण प्रस्ट हुनुपर्ने धारणा राखे।

‘के कारणले सेनालाई जिम्मा लगाउने ? पाइलट नभएर कि ? जंगी पोसाकमा मात्र विमान उड्छ भनेर कि ? प्रस्ट हुनु आवश्यक छ। के सेना कवाडीखाना हो र ? चल्दैन काम लाग्दैन भनेर सेनालाई दिनलाई ?’ उनको प्रश्न थियो।

वायुसेवा निगम एक्लै घाटामा रहेको भन्दै ओलीले चढ्ने, चढाउने, उडाउने, व्यवस्थापन गर्ने कोही पनि घाटामा नरहेकोे बताए।  ‘निगम मात्र किन एक्लै ३७ अर्ब घाटामा छ ?’ ओलीले आश्चर्यमिश्रित प्रश्न गरे।

निगमले अर्बौं घाटा बेहोरिरहेको विषयमा बोल्दै उनले भने, ‘जहाजले के ग-यो, के बिगा-यो, के नोक्सान गरेको छ ? यो सब जहाजले गरेको होइन हाम्रो कारणले घाटा भइरहेको हो।’  नयाँ जहाज किनेर एअरपोर्टमा पार्क गरेर राखेकोमा असन्तुष्टि जनाउँदै ओलीले एअरपोर्टमा निगमको लोगो भएका थुप्रै जहाज देख्दा खुसी लाग्ने बताए। निगमसँग प्रशस्त जहाज रहेछ भन्ने आफ्नो भनाइमा ‘नउडेर विमानस्थलमा देखिएका हुन् उडेका भए सबै आकासमा हुन्थे निगम नाफामा जान्थ्यो’ भन्ने जवाफ पाउँदा आफूलाई नमज्जा लागेको उनले सुनाए।

उनले जहाज मर्मत गर्नुपर्ने भए गरिहाल्न पनि निर्देशन दिए। ‘कुनै पार्टपुर्जा किन्नुपर्ने भए किनिहाल्नुस्’ भन्दै जहाजको मेन्टेनेन्समा कुनै कमी नराखी चुस्त दुरुस्त राख्न निर्देशन दिए।

निगमका जहाललाई विदेशमा नयाँ गन्तव्य खोज्न अह्राएका ओलीले आफूले पनि युरोपका महत्वपूर्ण देशहरुसँग कुरा गरिरहेको जानकारी दिए।

‘युरोपका महत्वपूर्ण देशहरु हाम्रा लागि खुला हुनुपर्छ। सुरक्षालाई अत्यन्त महत्व दिन आवश्यक छ,’ प्रधानमन्त्री ओलीले भने। उनले उडाउनुपर्ने गन्तव्य छोडेर गलत ठाउँमा उडाउन खोजिएको भन्दै एअरलाइन्स व्यवस्थापनलाई सचेतसमेत गराए। निगमसँग अहिले अन्तर्राष्ट्रिय उडान भर्ने न्यारो र वाइड बडी जहाज २–२ वटा भए पनि पर्याप्त संख्यामा उडान सकिरहेको छैन। भएकै गन्तव्यमा उडान थप गर्न सक्ने अवस्थालाई पनि निगम व्यवस्थापनले बेवास्ता गरिरहेको छ।

आन्तरिक उडान भर्ने जहाजलाई पनि विमानस्थलमा घाम तपाएर राखिएको छ। उता, निगमले न्यारो र वाइड बडी जहाज किन्न लिएको ऋणको साँवा–ब्याजको किस्ता तिर्न नसकेर सरकार गुहारिरहेको छ।  

प्रकाशित: १७ असार २०७६ ०२:२३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App