coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

भरतपुरमा मतपत्र च्यात्नेलाई एक लाख जरिवाना

चितवन– स्थानीय तहको निर्वाचनको समयमा भरतपुर महानगरपालिकाको मत गणनामा मतपत्र च्यात्ने दुबै जनालाई एक लाख रुपैयाँ जरिवाना गरिएको छ। चितवन जिल्ला अदालतले जेठ ३० गते मुद्धाका दुई आरोपीलाई दोषी ठहर गरेको थियो।

सजाय निर्धारणका लागि सोमबारको पेशीमा तत्कालिन नेकपा माओवादी केन्द्रका कार्यकर्ता द्रोणबाबु सिवाकोटी र मधु न्यौपानेलाई जनही एक लाख रुपैयाँ जरिवाना गर्ने फैसला भएको चितवन जिल्ला अदालतका श्रेष्तेदार रुद्रमणी गिरीले नागरिक न्यूजलाई जानकारी दिए।

जिल्ला न्यायधीश मुरारीबाबु श्रेष्ठको एकल इजलाशले मुद्धामा कसुर ठहर हुने आदेश दिएको थियो। सजाय निर्धारणको फैसला पनि श्रेष्ठले गरेका हुन्। ‘निर्वाचन सम्बन्धी कसुरमा गएको जेठको ३० गते कसुर ठहर भएको थियो’ गिरीले भने, ‘सजाय निर्धारण हुँदा दुबैलाई जनही एक लाख रुपैयाँ जरिवाना भएको छ।’ मुद्धामा कसुर ठहर हुने आदेश भएपछि सजाय निर्धारण गर्नका लागि यसअघि असार ५ गतेलाई तोकिएको पेशी स्थगित थियो। महानगरपालिकामा भएको स्थानीय तहको चुनावमा मतगणना हुँदै गर्दा मतपत्र च्यातिएको थियो।

महानगरपालिकाको वडा नम्बर १९ को मत गणना हुँदै गर्दा २०७४ सालको जेठ १५ गते मध्यरातमा मतपत्रहरु च्यातिएको थियो। घटनास्थलबाटै प्रहरीले सिवाकोटी र न्यौपानेलाई पक्राउ गरेको थियो। घटनाका दोषीलाई कारबाहीको माग गर्दै शिवाकोटी र न्यौपानेविरुद्ध २०७४ सालको जेठ १७ गते अदालतमा मुद्दा दायर गरिएको हो।

मुद्धा दर्ता भएपछिको थुनछेक आदेशमा दुबै जना आरोपीलाई एक–एक लाख रुपैयाँ धरौटी लिएर छाड्ने आदेश भएको थियो। मुद्धामा कसुरदारलाई निर्वाचन कसुर तथा सजाय ऐन २०७३ को दफा १६ को उपदफा एकको कसुर अनुसार उपदफा २ मा व्यवस्था भएको सजाय माग गरिएको थियो। एक लाख रुपैयाँ जरिवाना र दुई वर्ष कैद वा दुबै सजाय हुन सक्ने व्यवस्था रहेकामा दोषीलाई जरिवाना सजाय तोकिएको हो।

प्रकाशित: १६ असार २०७६ १२:१६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App