५ वैशाख २०८१ बुधबार
अर्थ

वित्तीय साक्षरता अन्तर्राष्ट्रिय सम्मेलन हुँदै

काठमाडौं – धितोपत्र बोर्डले वित्तीय साक्षरता बढाउने उद्देश्यले यही असार १७ देखि दुईदिने अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गर्ने भएको छ। यस्तो सम्मेलनमा नेपालमा पहिलोपटक गरिन लागेको हो।

बोर्डले ओइसिडी (द अर्गनाइजेसन फर इकोनमिक कोअपरेसन एन्ड डेभलपमेन्ट) अन्तर्गतको आइएनएफ (इन्टरनेसनल नेटवर्क अन फाइनान्सिएल एजुकेसन) को सहकार्यमा सम्मेलन गर्ने भएको हो।

बोर्डले आइतबार पत्रकार सम्मेलन गर्दै सम्मेलनमा अमेरिका, दक्षिण अफ्रिका, अस्टे«लिया, कजाकस्तान, सिंगापुर, थाइलान्ड, भुटान, चीन, भारतलगायत मुलुकहरु सहभागी हुने जानकारी दिएको छ। सम्मेलनमा विभिन्न सरोकारवाला संस्थाहरु, विभिन्न अन्तर्राष्ट्रिय संस्थाहरु र पूर्वीएसियाली तथा सार्क राष्ट्रका वित्तीय क्षेत्रका नियमनकारी निकायका प्रतिनिधि पनि रहने छन्। नेपालका सहित एक सय २५ जनाको सम्मेलनमा सहभागिता रहने बताइएको छ।

‘वित्तीय क्षेत्र र वित्तीय साक्षरतामा विज्ञता हासिल गरेका एक सय २५ स्वदेशी तथा विदेशीको यो सम्मेलनमा सहभागिता रहने छ,’ बोर्डका उपकार्यकारी निर्देशक परिष्ठनाथ पौडेलले भने।

बोर्डका अनुसार सम्मेलनमा वित्तीय साक्षरता सम्बन्धमा विभिन्न सत्रहरू सञ्चालन हुने गरी बृहत् सम्मेलन र वित्तीय साक्षरता सम्बन्धमा विशेष छलफलसहितको राउन्ड टेबल आयोजना गरिनेछ। राउन्ड टेबल छलफलले वित्तीय साक्षरता र वित्तीय शिक्षासम्बन्धी नीति निर्माणका साथै वित्तीय शिक्षा लिने–दिने अभ्यासलाई नयाँ उचाइमा पु-याउने अपेक्षा गरिएको बोर्डका अध्यक्ष रेवतबहादुर कार्कीले बताए।

अर्कोतिर यस्ता कार्यक्रमले बोर्डसहित नेपालको अन्तर्राष्ट्रिय स्तरको सम्मेलन गर्ने क्षमता देखिनुका साथै वित्तीय साक्षरता तथा लगानीकर्ताको संरक्षणका विविध आयामलाई मूल प्रवाहीकरण गर्न महत्वपूर्ण योगदान गर्ने जनाइएको छ।

बोर्डका अनुसार गत जनवरी २०१९ बाट उसले ओइसिडिको पूर्ण सदस्यता प्राप्त गरेको हो। ओइसिडिले विश्वमा मानव जीवनको समृद्धिका लागि असल तथा प्रभाकारी नीति बनाउन सहयोग गर्छ। यसको मूल उद्देश्य समृद्धि समानता र अवसरहरूको निर्माणमा सहयोग गर्नु हो। यो संस्था ६० वर्षदेखि क्रियाशील छ।

ओइसिडीले वित्तीय साक्षरता र यससम्बन्धी गतिविधि विस्तार गर्न सन् २००८ मा आइएनएफई स्थापना गरेको छ। यो संस्थाले साना तथा मझौला व्यवसाय, वित्तीय साक्षरता, युवा तथा महिला वर्ग, दीर्घकालीन बचत तथा लगानी लगायतका विविध क्षेत्रहरुमा वित्तीय साक्षरता बढाउने कार्यक्रम सञ्चालन गर्दै आएको छ। यी संस्थामा हाल ६४ देशका ८६ संस्था पूर्ण सदस्य र ९५ देशका एक सय ७२ संस्था नियमित सदस्यका रूपमा आबद्ध छन्।

रजत जयन्तीमा हुलाक टिकट र सिक्का
बोर्डले आफ्नो स्थापनाको रजत जयन्तीको उपलक्ष्यमा रजत जयन्ती लोगो अंकित हुलाक टिकट प्रकाशन गरेको छ। यस्तै रजत जयन्ती स्मारिका सिक्का पनि निष्कासन गरिएको छ। बोर्डको अनुरोधमा राष्ट्र बैंक टक्सार विभागले २९ मिलिमिटर डायमिटरको ८.५ ग्राम तौल भएको कुप्रो निकेल धातुको एक सय दरको सिक्का निष्कासन गरेको हो।

प्रकाशित: १६ असार २०७६ ०४:०२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App